मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १९ बिहीबार
  • Thursday, 02 February, 2023
पोखराबाट देखिएको माछापुच्छ्रे तथा अन्नपूर्ण हिम श्रृंखला । तस्बिर : रासस
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०९:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पश्चिमी वायुको प्रभाव सक्रिय : तापक्रम घट्दै, चिसो बढ्दै    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०९:२०:००

अबका दिनमा क्रमशः चिसो बढ्दै जाने

मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले तापक्रम घट्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको हो । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ ।

मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उनले बताए । उनले भने, ‘मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय हुन्छन् । आज र भोलि धेरै नै सक्रिय छन् जसले गर्दा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली गराएर पहाडी भूभागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ ।’

पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ । यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशको पश्चिमी भूभागबाट बाहिरिएको थियो । बाँकी प्रदेश १ को मनसुन पनि आइतबार बाहिरिएको छ । अहिले नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिसकेको महाशाखाले जनाएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भूभाग भएर नेपालमा मनसुन प्रवेश गरेको थियो ।

नेपालमा मनसुन बाहिरिएपछि पछिल्ला दिनमा देशैभरको मौसम सफा रहेको छ । मौसम खुलेपछि राजधानी काठमाडौंबाट उत्तरी भेगमा देखिन हिमशृंखला र हरिया डाँडाको मनमोहक दृश्यले शरद ऋतृमा रौनक थपिएको छ । तीन दिनयता खुलेको मौसममा क्यामेरामा कैद गरिएका मनोरम दृश्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएको छ ।    

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशैभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।     
     
दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा गण्डकी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  आज काठमाडौंको न्यूनतम १२ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियससम्म रहनेछ ।