१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०६:१३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यात्रु नपाएपछि जजिराले रोक्यो भैरहवाबाट दैनिक उडान, अब सातामा तीन मात्रै

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०६:१३:००

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट दैनिक उडान सुरु गरेको महिना दिन नपुग्दै कुवेतको जजिरा एयरवेजले उडान कटौती गरेको छ । दैनिक उडान गर्न पर्याप्त यात्रु नपाएको भन्दै जजिराले भैरहवाबाट पुरानै तालिकाअनुसार सातामा तीन दिन उडान गर्ने भएको हो ।

जजिराले भैरहवामा विमानस्थल सञ्चालनमा आएकै दिनदेखि नियमित उडान गर्दै आएको छ । २ जेठ ०७९ देखि सातामा तीन दिन कुवेत–भैरहवा उडान गर्दै आइरहेको जजिराले ३१ भदौदेखि दैनिक उडान थालेको थियो । तर, पर्याप्त यात्रु नपाएपछि गत हप्तादेखि नै उडान कम गरेको एयरवेज स्रोतको भनाइ छ । भैरहवामा सातामा तीन उडान गर्दा राम्रै यात्रु पाएर हौसिएको जजिराले दैनिक उडान थालेको थियो । दैनिक उडानमा विदेशबाट भैरहवा आउने यात्रु राम्रै पाइए पनि फर्किंदा कम हुँदै गएको जिबिआइएका एक कर्मचारीले बताए । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पाँच महिना भइसक्दा पनि अहिलेसम्म जजिरा एयरवेजले मात्रै अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ ।

भैरहवामा श्रम डेस्क नहुँदा विदेश जाने कामदारले श्रम स्वीकृति लिन काठमाडौं धाउनैपर्छ । सोही कारण जजिराले सुरुवातदेखि नै श्रम स्वीकृतिको व्यवस्था भैरहवाबाटै उपलब्ध नभए उडान गर्न नसक्ने बताउँदै आइरहेको थियो । तर, विमानस्थल सञ्चालनमा आएको पाँच महिना बितिसक्दासमेत श्रम मन्त्रालयले भैरहवामा कार्यालय राखेर श्रम स्वीकृति दिन सकेको छैन । जजिराको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसन ट्राभल्सले भैरहवाबाट उडाउने यात्रु पनि काठमाडौंबाट पठाउँदै आइरहेको थियो । अब पहिलेकै उडान तालिकाअनुसार सोमबार, बुधबार र शुक्रबार भैरहवामा उडान गर्ने एयरलाइन्सले जनाएको छ ।  

‘हामीले विमानस्थलमा सबै सुविधा दिइरहेका छौँ, अरू निकायले आफ्नो सेवा प्रवाहमा ढिलाइ गरेका हुन्,’ जिबिआइएका प्रवक्ता सुवास झाले भने, ‘हामीले श्रमलगायत सम्बन्धित निकायसँग सेवाका लागि पहल गरिरहेका छौँ ।’ अहिले जजिराको उडान तालिका सातामा सातै दिन रहेको उनले बताए । तर, भैरहवामा सातामा तीनवटा मात्र उडान गर्ने भए टिकट काटिसकेका यात्रुहरूको उडानका लागि वैकल्पिक व्यवस्था र खाने–बस्ने सुविधा सम्बन्धित एयरलाइन्सले गर्नुपर्ने उनको भनाइ छ । 

श्रम कार्यालयले श्रम डेस्क भैरहवामा नखोल्दा समस्या निम्तिएको विमानस्थल कार्यालयको भनाइ छ । अहिले पनि पहिलोपटक श्रम स्वीकृति लिनका लागि कामदार काठमाडौं धाउनैपर्छ । अर्को, काठमाडौंमा रहेका म्यानपावर कम्पनीहरूले भैरहवामा ब्रान्च खोलेर काम गर्नुपर्ने एयरलाइन्स कम्पनीको भनाइ छ । म्यानपावर कम्पनी भैरहवा जानेबित्तिकै त्यहीँबाट कामदारको भिसा प्रोसेसिङलगायत काम हुनेछन् । ट्राभल एजेन्सीहरूले पनि भैरहवाबाटै उडान गर्ने गरी यात्रुको टिकट काट्नुपर्ने पनि सर्त छ । बिस्तारै ट्राभल एजेन्सीले भैरहवामा ब्रान्च खोल्ने तयारी थालेको सोसाइटी ट्राभल्सले जनाएको छ ।