१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार ११:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकामा डिप्रेसन नियन्त्रण गर्ने कसरी ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:o२:oo

बालबालिकालाई मानसिक समस्या हुँदैन भन्ने धारणा गलत हो । उनीहरूमा पनि विभिन्न किसिमका मानसिक रोग देखिन सक्छन् । यसमध्ये डिप्रेसन एक हो । यसलाई चाइल्ड डिप्रेसन पनि भनिन्छ ।

गोपाल ढकाल मनोविद्, मार्क नेपाल मनोसेवा केन्द्र 

विभिन्न अध्ययनले देखाएअनुसार ५० प्रतिशत मानसिक समस्या १४ वर्ष नपुग्दै सुरु भइसकेको हुन्छ । प्रत्येक पाँच बालबालिका र किशोर–किशोरीमध्ये एकजना मानसिक रोगबाट ग्रसित रहेको पाइन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा पनि १६ वर्षको उमेर समूहका ७.७ प्रतिशत किशोर–किशोरीमा मानसिक समस्या रहेको पाइएको छ ।

डिप्रेसनजस्ता मानसिक रोग तथा अन्य कारणले गर्दा बालबालिकामा आत्महत्याको दर पनि पछिल्लो समयमा बढ्दै गएको पाइन्छ । यो दुःखद कुरा हो । आर्थिक वर्ष ०७८/७९ मा दुई सय ५३ जना बालक तथा चार सय ५६ जना बालिकाले आत्महत्याका कारण आफ्नो ज्यान गुमाउनुपरेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ ।


कारण
- बालबालिकामा डिप्रेसन हुनुमा धेरै कारण हुन सक्छन् । जसमा पारिवारिक कलह, बेवास्ता, बालहिंसा, दुव्र्यवहार, अनावश्यक नियन्त्रण, अभिभावकको मृत्यु वा पारपाचुके, घर–परिवार तथा विद्यालयले दिने दण्ड–सजाय, पढाइको तनाव, बुलिङजस्ता कारण पर्छन् । यसैगरी, बालबालिकासँग अभिभावकले बढी अपेक्षा गर्दा वा अरूसँग उनीहरूको तुलना गर्नाले पनि डिप्रेसन हुन सक्छ ।

- परिवारमा कसैमा डिप्रेसन छ भने वंशानुगत कारणले पनि बालबालिकामा डिप्रेसन देखिन सक्छ । 

- बालबालिकाले सही शिक्षा र संस्कार पाएनन् भने पनि मानसिक समस्या आउन सक्छ । पछिल्लो समय बालबालिकाले मोबाइल, भिडियो गेम तथा सोसल मिडियामा बढी समय बिताउने गर्छन्, यसले पनि डिप्रेसन निम्त्याउन सक्छ । 

लक्षण 
- डिप्रेसन भएपछि बालबालिकाको आनिबानी र व्यवहारमा अस्वाभाविक परिवर्तन देखिने गर्छ । एकोहोरो हुने, जिद्दी गर्ने, खान मन नगर्ने वा कहिले धेरै खाने गर्न सक्छन् ।

- त्यसैगरी, एक्कासि रिसाउने, झर्कने, पढाइमा रुचि नहुने, खेल्न, घुमफिर गर्न मन नलाग्नेलगायत लक्षण देखिन सक्छन् । डिप्रेसन हुँदा बालबालिकाले ध्यान केन्द्रित गर्न नसक्ने, निद्रामा झस्किने, निष्क्रिय हुनेजस्ता लक्षण देखाउन सक्छन् ।

- बालबालिका खुलेर कुरा नगर्ने, अनावश्यक रूपमा धेरै खुसी वा दुःखी हुने गर्न सक्छन् । विनाकारण रुने, बेचैन हुने, चिडचिडापन देखिने हुन सक्छ । धेरै बर्बराउने, अरूसँग घुलमिल नहुने, पेट, टाउको दुख्नेजस्ता लक्षण बालबालिकामा देखिन सक्छ । 

समाधानका उपाय 

अभिभावकको सकारात्मक व्यवहारले बालबालिकामा हुने डिप्रेसन कम गर्न सहयोग पुर्‍याउँछ । त्यही कारण घरपरिवारले विशेष ख्याल पुर्‍याउनुपर्छ । बालबालिकासँग नजिक हुने, उनीहरूका समस्याबारे कुरा गर्ने गर्नुपर्छ । बालबालिकालाई पर्याप्त समय दिनुपर्छ । उनीहरूको भावना बुझ्ने, भावनालाई सम्मान गर्ने तथा उनीहरूलाई आफ्नो भावना व्यक्त गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।

- बालबालिकामा पढाइको अनावश्यक बोझ कम गर्ने र खेल्ने तथा मनोरञ्जन गर्ने वातावरण मिलाउनुपर्छ । उनीहरूमा डिप्रेसनको समस्या देखिँदा आवश्यकताअनुसार विज्ञको मद्दतसमेत लिनुपर्ने हुन सक्छ ।

ad
ad