मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३० आइतबार ०९:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१९ सयको तहमा  प्रतिरोध सामना गर्दै नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३० आइतबार ०९:०७:००

साताभरि नेप्से परिसूचकले एक हजार आठ सय अंकको तह पार गर्ने प्रयास असफल भएको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्सेको उच्चतम बिन्दु एक हजार नौ सय सात दशमलव ९४ र एक हजार आठ सय ४८ सम्मको न्यून बिन्दु रहन पुग्यो । 

नेप्से सूचक एक हजार नौ सयको टेवा परीक्षण मात्र गरेको बजारले त्यसलाई कायम राख्न नसक्दा अन्ततः बजार एक हजार आठ सयमै रोकिन पुगेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक एक हजार आठ सय ७० दशमलव ६३ बिन्दुमा बन्द भएको छ । अघिल्लो हप्ता नेप्से सूचक एक हजार आठ सय ५३ दशमलव ७६ बिन्दुमा बन्द भएको थियो । पाँच दिनको कारोबारमा ५९ दशमलव ५८ अंकको मात्र अन्तर देखाएको छ । अघिल्लो साता नेप्सेमा ४२ दशमलव शून्य ६ अंकको अन्तर देखिएको थियो ।

सातामा नेप्से सूचक १६ दशमलव ८७ अंकले बढेको छ । अघिल्लो हप्ता नेप्से सूचक १४ दशमलव ७९ अंकले बढेको थियो । नेप्सेको अंकमा सुधार देखिए पनि लगानीकर्ता उत्साहित हुन सकिरहेका छैनन् । 

लगानीकर्तामा छैन उत्साह
सेयर बजारमा आइरहेको उत्तारचढावले लगानीकर्ता उत्साहित हुन सकिरहेका छैनन् । पछिल्लो समय लगानीकर्ता आफँै सक्रिय हुन नसकिरहेको लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने, ‘बजार पर्ख र हेर’को अवस्थामा स्थिर छ, घटेको बजारमा बेचिहाल्न लगानीकर्ता तयार छैनन्, सेयर खरिदमा पनि लगानीकर्ताको रुचि कम छ, ब्याजदर, चाडपर्वलगायतको प्रभाव पनि छ ।’

लगानीकर्ता निराश हुनुमा अर्को कारण बैंक तथा वित्तीय संस्थाले दिएको लाभांश पनि हो । यसपटक बैंक तथा वित्तीय संस्थाले अघिल्लो वर्षको तुलनामा कम लाभांश प्रस्ताव गरेका छन् । अघिल्लो वर्ष देखिएको तरलता संकट र आर्थिक मन्दीका कारण सेयरधनीलाई उल्लेख्य रूपमा लाभांश दिन नसकेका हुन् । लाभांश प्रस्ताव गरेका कतिपय कम्पनीको कारोबार पनि उत्साहजनक हुन सकेको छैन । ब्रोकर दिनेश शर्मा बिडारी भन्छन्, ‘बजार अहिले सुधारतर्फ नै देखिएको छ, लाभांश समय अझै छ, त्यसले आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

बजार बढ्ने केही आधार भने सुरु भएको छ । प्रतिनिधिसभाको चुनाव र प्रदेश सभाको चुनाव नजिकिँदै छ । चुनावको समयमा तरलता संकटमा केही सहजता आउने अपेक्षा लगानीकर्ताले राखेका छन् ।