१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:३८:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जो संघबाट प्रदेशमा झरे

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३८:oo

- एमाले र माओवादीका तीन–तीन, एकीकृत समाजवादीका दुई र कांग्रेसका एक निवर्तमान संघीय सांसद प्रदेशमा भिड्दै 

कतिपय पूर्वसंघीय सांसद भावी मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशमा झरेका छन् भने कतिपयले संघको टिकट नपाएपछि प्रदेशमा चित्त बुझाएका छन् । 

निवर्तमान प्रतिनिधिसभाका सदस्यमध्ये कोही दोहोर्‍याएर निर्वाचन लड्दै छन् भने केही संसदीय राजनीतिबाट स्वेच्छिक वा बाध्यात्मक विश्रामतिर लागेका छन् । कतिपय भने संघबाट प्रदेशमा झरेर निर्वाचन लड्दै छन् । उनीहरूमध्ये केही मुख्यमन्त्रीका आकांक्षी पनि छन् । 

निर्वाचन आयोगको तथ्यांकअनुसार नौजना प्रतिनिधिसभाका निवर्तमान सदस्य यसपालि प्रदेश सभामा उम्मेदवार बनेका छन् । जसमा एमाले र माओवादीबाट तीन–तीन, एकीकृत समाजवादीका दुई र कांग्रेसका एकजना छन् । उनीहरू सबै प्रत्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । 

आयोगका अनुसार प्रतिनिधिसभाका एक सय १५ सदस्य कुनैमा उम्मेदवार नबनी चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । जसमा एमालेका ३९, कांग्रेसका २८, माओवादीका २६, एकीकृत समाजवादीका ११, जसपाका पाँच, लोसपाका तीन र स्वतन्त्र तीनजना छन् । ०७४ को निर्वाचनमा पराजित कतिपय संविधान सदस्य पनि अहिलेको सत्तागठबन्धनका कारण प्रदेशमा खुम्चिन बाध्य भएका छन् । समानुपातिकतर्फ नदोहोर्‍याउने अधिकांश दलहरूको नीतिअनुसार उनीहरू प्रदेश सभामा प्रत्यक्षतर्फ मात्रै आएका हुन् । 

०४८ देखि संघतिर उम्मेदवार बन्दै आइरहेका एमाले नेता खगराज अधिकारी यसपटक प्रदेश सभामा झरेका छन् । उनले कास्की १ (क) बाट उम्मेदवारी दिएका छन् । अधिकारी यसअघि कास्की १ बाट प्रतिनिधिसभा सदस्य थिए । यसपटक प्रतिनिधिसभा सदस्यको टिकट एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङलाई दिएको छ । 

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट मनबहादुरको नेतृत्वमा अधिकारी प्रदेश सभामा चुनाव लड्न तयार भएका छन् । गण्डकीको भावी मुख्यमन्त्रीका रूपमा उनी संघबाट प्रदेशमा झरेको बताइन्छ । प्रदेश सभामा रहेका पूर्वमुख्यमन्त्री गुरुङ भने संघमा उक्लिएका छन् । उनी लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्दै छन् ।

तनहुँ २ बाट ०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित एमालेका केदार सिग्देल पनि यसपटक प्रदेशमा गएका छन् । उनी एमालेले तनहुँ २ (ख)बाट उम्मेदवार बनेका छन् । प्रतिनिधिसभामा एमालेले किरण गुरुङलाई टिकट दिएको छ ।

माओवादीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य रहेकी चाँदतारा कुमारी प्रदेश सभामा उम्मेदवार बनेकी छिन् । पार्टीले उनलाई पर्सा ४ (ख) बाट उम्मेदवार बनाएको छ । ०७४ मा कालिकोटबाट प्रतिनिधिसभामा निर्वाचित माओवादीका दुर्गबहादुर रावत पनि प्रदेशमा झरेका छन् । उनी कालिकोट १ (क) बाट उम्मेदवार बनेका छन् । रावतको ठाउँमा माओवादीले कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रतिनिधिसभाको टिकट दिएको छ । माओवादीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य अमृता थापा पनि यसपटक स्याङ्जा १ (क) बाट प्रदेश सभा उम्मेदवार बनेकी छिन् । 

एकीकृत समाजवादीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य कलिला खातुन पनि प्रदेश सभामा आएकी छिन् । पार्टीले उनलाई तनहुँ १ (ख) बाट उम्मेदवार बनाएको छ । एमाले मुगुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोपालबहादुर बम एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका छन् । उनी मुगु (क) मा उम्मेदवार छन् । बमको ठाउँमा एमालेले प्रतिनिधिसभामा राजु कार्कीलाई उम्मेदवार बनाएको छ । बमसँग प्रदेश सभा (क) मा एमालेले जितबहादुर मल्ललाई उतारेको छ । 

कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य रहेका बहादुरसिंह लामा पनि प्रदेश सभामा झरेका छन् । उनी नुवाकोट २ (ख) बाट बागमती प्रदेश सभा सदस्य उम्मेदवार बनेका हुन् । 

जसपाकी निवर्तमान सांसद नरमाया ढकाल पनि प्रदेश सभामा झरेकी छिन् । तत्कालीन राजपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी ढकाल हालै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । नागरिक उन्मुक्ति पार्टीले ढकाललाई लुम्बिनी प्रदेश सभाको समानुपातिकतर्फ टिकट दिएको छ । पार्टीको लुम्बिनी प्रदेश सभा समानुपातिक सूचीमा ढकालको नाम पहिलो नम्बरमा छ । 

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र रूपमा निर्वाचित छक्कबहादुर लामा पनि यसपालि प्रदेश सभामा गएका छन् । उनलाई एमालेले हुम्ला १ (ख) बाट उम्मेदवार बनाएको छ । 

पूर्वसांसद तथा संविधानसभा सदस्यहरू
पूर्वसांसद, संविधानसभा सदस्य र संघीय संसद्का लागि निर्वाचन लडेका नेता पनि यसपालि प्रदेशतिर झरेका छन् । ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रे १ बाट पराजित कांग्रेसका तीर्थबहादुर लामा पनि प्रदेश सभामा झरेका छन् । यो क्षेत्र सत्तागठबन्धनमा माओवादीको भागमा परेपछि लामा काभ्रे १ (ख) बाट उम्मेदवार बनेका हुन् । कांग्रेसकै संविधानसभा सदस्य कञ्चनचन्द्र बादेले काभ्रे २ (ख) बाट प्रदेशमा उम्मेदवारी दिएका छन् । 

०७४ को निर्वाचनमा राष्ट्रिय सभामा निर्वाचित कांग्रेस नेता सुरेन्द्रराज पाण्डे गोरखा २ (ख) बाट उम्मेदवार बनेका छन् । गोलाप्रथाबाट तय भएको माथिल्लो सदनको दुईवर्षे कार्यकाल पूरा गरेका पाण्डे प्रदेश सभामा उठेको गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्ड प्रतिनिधिसभा उम्मेदवार छन् । 

संविधानसभा सदस्य जमिन्द्रमान घले एमालेबाट लमजुङ १ (क)बाट प्रदेशमा उम्मेदवार बनेका छन् । ०७४ को निर्वाचनमा पराजित कांग्रेसका अब्दुल रजाक गद्दी रुपन्देही १ (ख)बाट भिड्दै छन् । संविधानसभा सदस्य जंगीलाल राय यसपालि प्रदेश सभामा झरेका छन् । ०७४ मा सर्लाही २ बाट पराजित उनी अहिले सर्लाही २ (क) बाट प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा छन् । 

०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर १ बाट पराजित कांग्रेसका संविधानसभा सदस्य दिवानसिंह विष्ट पनि यसपालि प्रदेश सभा सदस्य उम्मेदवार बनेका छन् । भावी मुख्यमन्त्रीमा दाबी गर्दै उनले गठबन्धनको बाँडफाँडअनुसार प्रतिनिधिसभा सदस्य माओवादीलाई छाडेका छन् । कञ्चनपुर १ (ख)बाट प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् । 

संविधानसभा सदस्य बहादुरसिंह थापा कांग्रेसबाट कञ्चनपुर २ (ख) मा उम्मेदवार बनेका छन् । अर्का संविधानसभा सदस्य टेकेन्द्रप्रसाद भट्ट माओवादीबाट कञ्चनपुर ३ (क) उम्मेदवार बन्दै प्रदेश सभामा झरेका छन् । 

संघमा उक्लिएका मुख्यमन्त्री

मुख्यमन्त्री भएका ६ नेता यसपटक प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई भोजपुर र भीम आचार्य सुनसरी २, बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ १, गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङ, लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेल दाङ २ र कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोटबाट प्रतिस्पर्धा गर्दै छन् । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी र सुदूरपश्चिमका त्रिलोचन भट्टले यसपटक टिकट पाएनन् । बागमतीकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चुनाव नलड्ने निर्णय लिइन् । 

मुख्यमन्त्री आकांक्षी

प्रदेश १ : कांग्रेसबाट केदार कार्की, राजीव कोइराला, भीम पराजुली, गुरुराज घिमिरे आकांक्षी छन् । माओवादीबाट इन्द्र आङ्बो एकल दाबेदार देखिएका छन् । एकीकृत समाजवादीबाट बहालवाला मुख्यमन्त्री राजेन्द्र राई नै निर्विकल्प देखिएका छन् । एमालेबाट हिक्मतकुमार कार्की र रविन कोइराला आकांक्षी छन् । 

प्रदेश २ : कांग्रेसबाट कृष्ण यादव, रामसरोज यादव र वीरेन्द्रप्रसाद सिंह आकांक्षी छन् । जसपाबाट वर्तमान मुख्यमन्त्री लालबाबु राउत र विजय यादव तथा लोसपाबाट जितेन्द्र सोनल बलियो दाबेदार हुन् । माओवादीबाट भरत साह मुख्यमन्त्रीको आकांक्षी हुँदा प्रभु साहले पार्टी छाडेकाले एमालेबाट आकांक्षी देखिएका छैनन् । 

बागमती : कांग्रेसबाट इन्द्र बानियाँ मुख्यमन्त्रीका निर्विकल्प दाबेदार हुन् । माओवादीबाट शालिकराम जमरकट्टेल र एमालेबाट देवी ज्ञवाली बलियो आकांक्षी हुन् ।

गण्डकी : कांग्रेसबाट शुक्रराज शर्मा, सुरेन्द्र पाण्डे र ध्रुव वाग्ले आकांक्षी छन् । माओवादीबाट हरिबहादुर चुमान र एमालेबाट खगराज अधिकारी निर्विकल्प दाबेदार हुन् । 

लुम्बिनी : कांग्रेसबाट अब्दुल रज्जाक, अमरसिंह पुन र राजु खनाल आकांक्षी छन् । माओवादीबाट जोखबहादुर महरा र सुदर्शन बराल आकांक्षी छन् । एमालेबाट लीला गिरी, भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी र भूमिश्वर ढकालको मुख्यमन्त्रीमा दाबी छ । 

कर्णाली : कांग्रेसबाट जीवनबहादुर शाही र ललितजंग शाही दाबेदार छन् । माओवादीबाट राजकुमार शर्मा, बिन्दमान विष्टले मुख्यमन्त्रीमा आकांक्षा राख्दा एमालेबाट यामलाल कँडेल र विनोदकुमार शाहको नाम चर्चामा छ । 

सुदूरपश्चिम : कांग्रेसबाट रणबहादुर रावल, दिवानसिंह विष्ट, बहादुरसिंह थापा भावी मुख्यमन्त्रीका रूपमा चर्चामा छन् । माओवादीबाट खगराज भट्ट निर्विकल्प दाबेदार हुँदा एमालेबाट लालबहादुर थापा (प्रतिनिधिसभाबाट ओर्लेको) र राजेन्द्र रावललाई बलियो आकांक्षीका रूपमा हेरिएको छ । 

ad
ad