१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज २७ बिहीबार ०७:३९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआरएनलाई नेपालमा लगानीको सीमा घटाइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज २७ बिहीबार ०७:३९:००

गैरआवासीय नेपालीको लगानी सीमा घटाउने तयारी गरिएको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ०७५ र नियमावली ०७७ संशोधन गरी लगानीको सीमा घटाउन लागेको हो । विद्यमान व्यवस्थाअनुसार विदेशमा बस्ने नेपालीले पाँच करोडभन्दा कम विदेशी लगानी गर्न पाइँदैन । तर, सरकारले उक्त प्रावधान संशोधन गर्दै न्यूनतम सीमा दुई करोडमा झार्ने तयारी गरेको छ ।

मंगलबार गैरआवासीय नेपाली संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाडले ऐन र नियमावली संशोधन गरी लगानीको सीमा घटाउन लागिएको बताएका छन् । ‘नेपाली नागरिकता त्यागेकालाई पनि नेपालीसरह लगानीको अवसर दिने व्यवस्था कार्यान्वयन गर्न समस्या फुकाउँदै छौँ’ उनले भने । 

विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न कानुनी प्रक्रिया झन्झटिलो भएको गैरआवासीय नेपाली संघले जनाएको छ । आफ्नै मुलुकमा लगानी गर्ने चाहना भए पनि झन्झटिलो प्रक्रियाले धेरै परियोजना रोकिएको संघले गुनासो गरेको छ । गैरआवासीय नेपाली संघ(एनआरएनए) का अध्यक्ष डा.बद्री केसीले सरकारले नीतिगत सहजीकरण नगर्दा डेढ वर्षदेखि लगानी भित्र्याउन नसकिएको बताए । ‘गैरआवासीय नेपालीलाई नेपालीसरह व्यवहार गरियोस्’ उनले भने ‘अधिकतम–न्यूनतम लगानी सीमा हटाइयोस् ।’ 

संघले डेढ वर्षअघि १० अर्बबराबरको ‘नेपाल एनआरएनए डेभलपमेन्ट फन्ड’ स्थापना गरेको थियो । तर, लगानी भित्रिनसकेको छैन । संघले फन्डको ८५ प्रतिशत (आठ अर्ब ५० करोड) वैदेशिक रोजगारी तथा विदेशमा रहेका जोसुकै नेपालीलाई सेयर जारी गर्ने तयारी गरेको छ । त्यसमा सरकारले पाँच प्रतिशत (५० करोड) लगानी गरिसकेको छ । 

संघले १० अर्बको फन्डमार्फत वैदेशिक रोजगारीमा गएका, खाडी मुलुकमा माइग्रेन भएर बसेको, विभिन्न देशमा विद्यार्थी भिसामा गएका, नेपाली मूलका विदेशी नागरिक र नेपाली बोल्ने, तर धेरै अघि गएका नेपालीलाई पनि समेट्ने योजना बनाएको छ । अध्यक्ष डा. केसीले नेपालको कुल ग्रार्हस्थ्य उत्पादनमा गैरआवासीयको हिस्सा ३३ प्रतिशत रहे पनि सरकारले विदेशमा बस्ने नेपालीलाई बेवास्ता गरेको गुनासो गरेका छन् । 

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह 
प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । आइतबार गैरआवासीय नेपाली संघको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले गैरआवासीयले उठाएका अधिकांश माग सम्बोधन गरेको भन्दै नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।