मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असोज २५ मंगलबार ०६:२९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

झरीले बिथोल्यो दसैँ, पर्यटन व्यवसायी निराश

Read Time : > 2 मिनेट
२०७९ असोज २५ मंगलबार ०६:२९:००

गत वर्षको दसैँमा कुश्मामा बन्जी जम्प गर्न पालो पर्खनुपथ्र्यो । एडभेन्चर पारखीलाई बन्जी र स्विङ गराउन द क्लिफका कर्मचारीलाई भ्याइनभ्याई हुन्थ्यो । दैनिक ७०–७५ जनासम्मले बन्जी गर्थे । तर, यसपटक दसैँको समयमा परेको झरीले आन्तरिक पर्यटन बिथोलियो । जसले गर्दा दैनिक ३५–४० जनाले मात्र बन्जी गरेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए । 

दसैँं बिदामा आन्तरिक पर्यटकले खचाखच हुने पोखराका होटेल तथा रिसोर्ट पनि यसपटक आधा पनि भरिएनन् । मौसम खराब भएपछि गरिएका बुकिङ पनि रद्द भएको बाराही ग्रुपका अध्यक्ष विप्लव पौडेलले बताए । ‘हाम्रो पोखराका होटेलमा करिब १५ प्रतिशत र मेघौलीको होटेलमा २० प्रतिशत बुकिङ रद्द भयो’ उनले भने, ‘अघिल्ला वर्षमा फूलपातीदेखि पूर्णिमासम्म ८५–९० प्रतिशतसम्म होटेल भरिन्थे, यसपटकचाहिँ करिब ६५ प्रतिशत कोठा अकुपाई भए ।’

अर्को, पर्यटकीय गन्तव्य चितवनको सौराहामा पनि असौजे झरीले आन्तरिक पर्यटक आगमनमा असर पा¥यो । लगातारको झरीकै कारण सौराहामा ५० प्रतिशत बुकिङ रद्द भएको क्षेत्रीय होटेल संघ, सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । उनले भने, ‘पहिला दसैँ बिदामा होटेल ७०–८० प्रतिशतसम्म भरिन्थे, तर यसपटक ३५–४० प्रतिशत हराहारीमा मात्रै होटेल भरिए ।’

दसैँमा लामो बिदा हुने भएकाले धेरै नेपाली परिवार वा साथीभाइसँग घुम्न निस्कने गर्छन् । तर, अष्टमीदेखि नै झरी पर्न थालेपछि कतिपय सडकमार्गमा  पहिरो गयो भने हवाई सेवा पनि क्यान्सिल भए । ‘सडक र हवाई दुवै यातायात ठप्प भएपछि मान्छे चाहेर पनि घुम्न निस्कन पाएनन्’ होटेल बाराहीका सञ्चालक पौडेलले भने, ‘कोभिडले थलिएको पर्यटन तंग्रिन के खोज्दै थियो, मौसमले पनि साथ दिएन ।’ 

मुस्ताङ, लुक्ला, अन्नपूर्ण, मकालुलगायत हिमाली भेगमा हिमपहिरो जाँदा धेरै पर्यटक थुनिएका छन् । हिमपातका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक ठाउँ–ठाउँमा बिचल्लीमा परेको मकालु एडभेन्चरका सञ्चालक मोहन लम्सालले बताए । मौसम बिग्रिएका कारण उद्धारका लागि हेलिकोप्टरसमेत पठाउन नसकेको उनको भनाइ छ ।

  पर्यटन व्यवसायी निराश
कोभिड महामारीले थलिएको पर्यटन क्षेत्र यस वर्षको शरद ऋतुबाट लयमा फर्किने अपेक्षा पर्यटन व्यवसायीले गरेका थिए । ‘यो सिजन पर्यटन क्षेत्रमा राम्रो बिजनेस हुन्छ भन्ने थियो, तर समग्र परिस्थिति नै प्रतिकूल बनिदियो’ सौराहाका होटेल व्यवसायी घिमिरेले भने, ‘दसैँं विदामा धेरै घुम्न निस्कन्थे, विदेशी पर्यटक पनि आउँथे, यस सिजनमा धेरै अपेक्षा गरेका थियौँ, निराशा भइहाल्ने अवस्था नरहे पनि जसरी आन्तरिक पर्यटक बढ्नुपर्ने थियो, त्योचाहिँ हुन सकेन ।

दसैँमा कुश्मा, पोखरा, चितवन, भैरहवा, लुम्बिनी र हिमाली भेगमा मात्र होइन, नगरकोट, धुलिखेल, चित्लाङ, डाँडाकाँडा र खोलाका किनार, रारा, डोल्पा, मुस्ताङ, खप्तड, बडिमालिका, पाथीभरा, बर्दिया, सुक्लाफाँटा, बन्दीपुर, घलेगाउँ, घान्द्रुक, घोरेपानीलगायत सम्पूर्ण पर्यटकीय गन्तव्य झरीकै कारण सुनसान भएका छन् । काठमाडौंबाट नजिकै रहेका धुलिखेल र नगरकोटमा पनि दसैँमा सोचेजति पाहुना नआएको स्थानीय होटेल व्यवसायीको भनाइ छ । 

गत वर्ष दसैँ बिदामा सात सय नेपालीले कुश्मामा बन्जी र स्विङ गरेकोमा यसपटक अढाई सय पनि नपुगेको द क्लिफका सञ्चालक कार्कीको भनाइ छ । मान्छेले झरीका कारण यात्रा गर्न सकेनन् । त्यसमाथि झरी परिरहेको वेलामा बन्जी र स्विङ गर्न मिल्दैन । ‘मौसमले पर्यटन व्यवसायीको सोचमा बज्रपात गर्‍यो, यही सिजनदेखि कोभिडले थलिएको पर्यटन तंग्रिएला भन्ने अपेक्षा थियो’ होटेल व्यवसायी विप्लव पौडेलले भने । 

 हिमाली क्षेत्रमा हिमपातले बज्रपात
हिमपातका कारण माथिल्लो बेल्टमा बाटो अवरुद्ध हुँदा धेरै पर्यटक फसेको मकालु एडभेन्चरका सञ्चालक लम्सालले बताए । ट्रेकिङ र आरोहणमा गएका पर्यटक फसेका हुन् । मुस्ताङ गएका पर्यटक पनि अड्किएका छन् । मौसम खराबीले सिकिस्त बिरामी परिसकेका पर्यटकलाई पनि उद्धार गर्न नसकेको उनको भनाइ छ ।

सरकारले लुक्ला फ्लाइट रामेछापबाट गर्ने व्यवस्था गरेको छ । जसले गर्दा लुक्ला उड्ने भनेर धेरै पर्यटक रामेछाप पुगेका छन् । तर, लामो समय उडान ठप्प हुँदा रामेछापमा खाने बस्ने राम्रो सुविधा नभएकाले करिब १५ सय पर्यटक अलपत्र परेको उनले बताए । ‘फ्लाइट क्यान्सिल हुनेबित्तिकै रामेछापमा बस्ने ठाउँ हुँदैन । काठमाडौंमा भए पर्यटक बस्न सहज हुने थियो, रामेछापबाट ५–६ दिनदेखि फ्लाइट भएको छैन । अझै पनि मौसम सफा हुने छाँटकाँट छैन’ उनले भने, ‘यस्तो तालले कसरी पर्यटक ल्याउन सकिन्छ, कम्तीमा लुक्ला फ्लाइट काठमाडौंबाटै गर्नुपर्छ ।’