मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
जिल्ला व्यूरोको सहयोगमा
२०७९ असोज २४ सोमबार ०७:५६:००
Read Time : > 7 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सत्ता र विपक्षी गठबन्धनमा विद्रोहको लहर

Read Time : > 7 मिनेट
जिल्ला व्यूरोको सहयोगमा
२०७९ असोज २४ सोमबार ०७:५६:००

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार भएको मनोनयनमा बागी धेरै देखिएका छन् । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपालगायत दलका केन्द्रीय तहका नेताहरूले समेत टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै विद्रोह गरेका छन् । टिकट नपाउने र अन्तिममा टिकट खोसिँदा पार्टी परित्याग गर्नेको संख्या पनि धेरै छ ।

कांग्रेसमा व्यापक असन्तुष्टि

कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी परेको छ । तनहुँ १ मा उम्मेदवारी दिएका नेता पौडेलविरुद्ध पूर्वसहमहामन्त्री तथा पूर्वमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन् । जोशीले अघिल्लो निर्वाचनमा पनि उम्मेदवारी दर्ता गराएका थिए । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी अन्तिममा खारेज गरेको थियो ।

सर्लाही ४ मा निवर्तमान सांसद अमरेशकुमार सिंहले कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र रायविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । तलैबाट टिकटका लागि सिफारिसमा नपरेपछि उनी असन्तुष्ट थिए । 

चितवन ३ मा सत्तारूढ गठबन्धनका उम्मेदवार डा. भोजराज अधिकारीविरुद्ध कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रमा कांग्रेसका जगन्नाथ पौडेलले पनि उम्मेदवारी दिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो क्षेत्र परिवर्तन गरेर गोरखा गएपछि अधिकारी उम्मेदवार बनेका थिए । 

सल्यानमा सत्ता गठबन्धनविरुद्ध कांग्रेसका नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभा र कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री एकराज डाँगीले प्रदेश सभा सदस्यका लागि (क)बाट उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट प्रतिनिधिसभामा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला, प्रदेश निर्वाचन (क)मा माओवादीका भीमप्रकाश शर्मा र (ख)मा कांग्रेसका सुरेश अधिकारी उम्मेदवार छन् ।

प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाका स्वकीय सचिव प्रकाश देउवाविरुद्ध कैलाली ५ (ख) मा कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारीले बागी उम्मेदवारी दर्ता गराएका छन् । 

खोटाङमा सत्ता गठबन्धनको निर्णयविपरीत कांग्रेसले छुट्टै उम्मेदवारी दर्ता गराएको छ । केन्द्रले टिकट दिएका आफ्नै उम्मेदवारविरुद्ध पनि सभापति विष्णुकुमार राईको नेतृत्वमा जिल्लाले अर्काे उम्मेदवार खडा गरेको हो । कांग्रेसले प्रदेश १ का महामन्त्री भूपेन्द्र राईलाई प्रदेश सभा सदस्यको टिकट दिएको थियो । तर, उनीविरुद्ध कांग्रेसका पूर्वजिल्ला उपसभापति धर्मराज पोखरेलले बागी उम्मेदवारी दिएका छन् । माओवादीको भागमा परेको संघमा कांग्रेसबाट पूर्वराज्यमन्त्री सर्वधन राईले उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीको भागमा परेको प्रदेश (क) मा पूर्वसभापति सुवासकुमार पोखरेलले उम्मेदवारी दिएका छन् । गठबन्धनको निर्णयअनुसार क्षेत्र पाएको माओवादीले संघमा रामकुमार राईलाई उठाएको छ भने प्रदेशमा एकीकृत समाजवादीका वीरबलकाजी राईको उम्मेदवारी परेको छ ।

बाजुरामा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभा (क)मा एमालेले प्रदेश कमिटीका उपसचिव बलदेव रेग्मीलाई उम्मेदवार बनाएको छ ।

बर्दिया १ मा कांग्रेसबाट दुईजनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार कांग्रेसबाट प्रतिनिधिसभामा अरुणप्रकाशसिंह राठौर र सञ्जय गौतमको उम्मेदवारी परेको हो । 

बझाङमा कांग्रेसका पूर्वजिल्ला सभापति हर्कजंगबहादुर सिंहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिल्लाको एउटा मात्रै संघीय निर्वाचन क्षेत्र एकीकृत समाजवादीलाई दिएकोमा असन्तुष्ट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्तारूढ गठबन्धनको केन्द्रमा भएको सहमतिअनुसार एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले उम्मेदवारी दिएका छन् । अछाममा कांग्रेसका नेता चन्द्रप्रकाश ढुंगानाले क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
डोटीमा एकीकृत समाजवादीलाई दिएको विरोधमा कांग्रेस नेता नरेन्द्र खड्काले उम्मेदवारी दिएका छन् । एउटा मात्रै क्षेत्र रहेको डोटीमा गठबन्धनबाट एकीकृत समाजवादीका प्रेम आले चुनाव लड्दै छन् । 

कैलाली ३ मा कांग्रेसका पूर्वजिल्ला सभापति गोविन्दराज जोशीले गठबन्धनविरुद्ध प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ३ मै माओवादीका छोटेलाल चौधरीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गएका छन् । चितवन १ मा कांग्रेसले डा. विश्व पौडेललाई टिकट दिएपछि कांग्रेसका पुराना नेता राजेन्द्र बुर्लाकोटीले बागी उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाको एउटा मात्र क्षेत्र रहेको खोटाङमा संघतर्फ माओवादी र प्रदेश सभा (क)मा एकीकृत समाजवादी र (ख) मा कांग्रेसले उम्मेदवारी दिने सहमति गठबन्धनमा भएको छ । जसमा जिल्लाका कांग्रेस नेताहरूले विरोध जनाएका छन् । 

केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले पनि बाँडफाँडमा असन्तुष्टि जनाउँदै गठबन्धनका उम्मेदवारको पक्षमा भोट नमाग्ने घोषणा गरेका छन् । उनले एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा प्रतिनिधिसभातर्फ गठबन्धनबाट सो क्षेत्र राष्ट्रिय जनमोर्चाकोे पक्कापक्की भएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । सो क्षेत्र जनमोर्चाको भागमा परेको छ । 

नेविसंघका निवर्तमान महामन्त्री कपिलेश्वर यादवले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएको भन्दै निर्वाचन बहिष्कारको अपिल गरेका छन् । उनले पार्टीमा विभेद गरिएको भन्दै विज्ञप्तिमार्फत यस्तो अपिल गरेका हुन् । 

एमालेमा प्रभु साहको स्वतन्त्र उम्मेदवारी, जसपाले पाएको क्षेत्रमा प्यानल खडा

पूर्वमन्त्री प्रभु साहले एमालेको टिकट अस्वीकार गर्दै रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । एमालेले जसपासँग तालमेल गरेसँगै चिढिएका उनले जसपाले पाएको सबै क्षेत्रमा समूहगत रूपमै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टी नेतृत्वले मधेस जसपालाई जिम्मा लगाएको भन्दै उनले असन्तुष्टि पोखेका छन् । ‘जसले साम्प्रदायिकता फैलाउँछ, मधेस प्रदेशमा भ्रष्टाचार गरेको छ, त्यो पार्टीलाई मधेस जिम्मा लगाउनु राष्ट्रघाती काम हो,’ उनले भने, ‘एमालेबाट टिकट लिएपछि मैले पनि जसपाको बचाउ गर्नुपर्छ । त्यसो गर्नुभन्दा स्वतन्त्र उम्मेदवार लड्नु उपयुक्त देखेकाले दर्ता गराएँ ।’ साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि निर्वाचन क्षेत्र ३ अन्तर्गत (ख) मा एमालेबाट टिकट पाएका कुन्दन कुसवाहले पनि स्वतन्त्र मनोनयन दर्ता गरेका छन् । क्षेत्र ३ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका धीरज पटेलले मनोनयन दर्ता गरेका छन् । 

दाङ १ मा शान्ता चौधरीविरुद्ध निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले बागी उम्मेदवारी दिएकी छन् । ०७० मा थरुहट पार्टीबाट सांसद निर्वाचित उनी ०७४ मा एमालेबाट समानुपातिक सांसद थिइन् ।

रुपन्देही ५ मा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईविरुद्ध तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासु घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । घिमिरेले पाएको टिकट परिवर्तन गरी अन्तिममा भट्टराईलाई दिइए पनि उनले पनि आफू नै आधिकारिक उम्मेदवार भएको भन्दै उम्मेदवारी दर्ता गराएका हुन् । एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले क्षेत्र नम्बर ३ (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमाले र राप्रपाबीच भएको चुनावी गठबन्धनविरुद्ध चन्दले प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका हुन् । एमाले–राप्रपाबीच भएको चुनावी गठबन्धनअन्तर्गत क्षेत्र ३ (क) एमालेले राप्रपाका लागि छाडेको थियो । त्यहाँ राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीको उम्मेदवारी छ ।

अन्तिम समयमा टिकट नपाएपछि मोरङ ५ मा एमालेका दुई नेताले पार्टीबाट विद्रोह गर्दै उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभाको उम्मेदवारमा नाम टुंगो लागिसकेका योगेन्द्र मण्डलले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रदेश सभा सदस्य वसन्तीदेवी यादवले पनि पार्टी त्यागेर हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छिन् । मण्डलको ठाउँमा जसपाका राजकुमार यादवले टिकट पाएका छन् ।

मकवानपुरमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिह्नबाट उम्मेदवार बनाएको विरोधमा एमालेका कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । हेटौँडा– ५ स्थित पुष्पलाल पार्कनजिक रहेको एमाले पार्टी कार्यालयमा कार्यकर्ताले कमल थापालाई उम्मेदवार बनाउने निर्णयविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको भन्दै ताला लगाएका हुन् । सो क्षेत्रमा टिकट दिइएका रामेश्वर रानालाई ब्याक गराएर अध्यक्ष केपी ओलीले पार्टीको चिह्नबाट थापालाई उठाउने निर्णय लिएका थिए । कास्की ३ मा एमालेका दामोदर बैरागीविरुद्ध जगन्नाथ बास्तोलाले उम्मेदवारी दिएका छन् । काठमाडौं ७ मा एमालेका आधिकारिक उम्मेदवार श्याम घिमिरेविरुद्ध रामवीर मानन्धरले उम्मेदवारी दिएका छन् । उनी सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुन् ।

एमालेले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी)सँगको गठबन्धन तोडेको छ । कांग्रेस (बिपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने सहमति भए पनि एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । 

एकीकृत समाजवादीमा धेरै ठाउँमा विद्रोह

सत्ता गठबन्धनको भागबन्डाअनुसार धेरै जिल्लामा संघ र प्रदेशतर्फ शून्य सिटको अवस्था भएपछि एकीकृत समाजवादीभित्र असन्तुष्टि बढेको छ । थुप्रै जिल्लामा एकीकृत समाजवादीले अलग्गै उम्मेदवारी दर्ता गराएको छ भने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईविरुद्ध कांग्रेसले बागी उम्मेदवारी दर्ता गराएको छ । भोजपुर प्रदेश सभा (क) मा राईविरुद्ध तरुण दलका पूर्वकेन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले बागी उम्मेदवारी दर्ता गराएका हुन् । 

गुल्मी २ मा उम्मेदवार बनेकी रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेता डा. दामोदर भुसालले बागी उम्मेदवारी दिएका छन् । लुम्बिनी प्रदेश आयोग सदस्यबाट राजीनामा दिएपछि कांग्रेसले भुसाललाई प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार सिफारिस गरेको थियो । मुगु (क) मा एकीकृत समाजवादीका उम्मेदवार गोपाल बमविरुद्ध कांग्रेसका खगेन्द्र मल्लले बागी उम्मेदवारी दिएका छन् ।

रामेछापमा गठबन्धन छोडेर एकीकृत समाजवादीले अलग्गै उम्मेदवारी दर्ता गराएको छ । पोलिटब्युरो सदस्य तथा पूर्वसांसद देवशंकर पौडेलले प्रतिनिधिसभा र प्रदेश सभा (क)मा रमेश बस्नेत र (ख)मा झम्क कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

कञ्चनपुरमा एकीकृत समाजवादीबाट बहालवाला आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल र निवर्तमान सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उम्मेदवारी दिएका छन् । रावलले कञ्चनपुरको प्रदेश सभा क्षेत्र नम्बर ३ (क) बाट र खड्काले प्रदेश सभा क्षेत्र २ (ख) मा उम्मेदवारी दिएका हुन् । 

काभ्रे २ (ख) मा कांग्रेसका कञ्चनचन्द्र बादेविरुद्ध एकीकृत समाजवादी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईले उम्मेदवारी दर्ता गराएकी छन् ।

धनुषा २ मा सत्तारुढ गठबन्धन दल कांग्रेसका रामकृष्ण यादवविरुद्ध एकीकृत समाजवादीका रामचन्द्र झाले बागी उम्मेदवारी दिएका छन् । धनुषा १ (ख) मा लोसपाका सञ्जय सिंहले बागी उम्मेदवारी दिएका छन् । सिट बाँडफाँडमा सो क्षेत्र कांग्रेसले पाएको छ । कांग्रेसले सो क्षेत्रमा लक्ष्मीनारायण यादवलाई उम्मेदवार बनाएको छ ।

जसपाका उम्मेदवार : कांग्रेसबाट उम्मेदवारी
कपिलवस्तुमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिन निर्वाचन कार्यालय हिँडेका उम्मेदवार सहराम यादव कांग्रेस प्रवेश गरेर उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता गराउन दलबलसहित निर्वाचन अधिकृतको कार्यालय हिँडेका उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि एमाले–जसपाको तालमेल त्यस क्षेत्रमा भाँडिएको छ । दुई पार्टीको भागबन्डाअनुसार जसपाले क्षेत्र लिएको थियो । केन्द्रको सहमतिअनुसार तीन प्रतिनिधिसभा र ४ प्रदेश सभा एमालेलाई र दुई प्रदेश सभा जसपाले लिएका थिए । त्यसअनुसार दुवै दल मिलेरै मनोनयनको तयारीमा थिए । तर, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री समेत रहेका यादव कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेपछि तालमेलसमेत भत्किएको छ । 

माओवादीमा पोलिटब्युरो सदस्यको विद्रोह

अञ्जना विशंखे

माओवादीका उपमहासचिव तथा पूर्वमन्त्री हरिबोल गजुरेलको टिकट अन्तिम घडीमा खोसिएको छ । गजुरेलको क्षेत्र सिन्धुली २ बाट माओवादी जिल्ला अध्यक्ष राजन दाहालले उम्मेदवारी दर्ता गरेका छन् । 

डोटीको (ख) मा उम्मेदवार बन्न चाहेका मुख्यमन्त्री त्रिलोचन भट्टको टिकट पनि अन्तिममा खोसिएको छ । उनको स्थानमा माओवादी नेता तथा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् । 

कास्की ३ मा सत्तारूढ गठबन्धनबाट माओवादीका उम्मेदवार रामजी बरालविरुद्ध माओवादीकै अनिता भुर्तेलले बागी उम्मेदवारी दिएकी छिन् । माओवादीका सप्तरी जिल्ला इन्चार्ज अशोककुमार मण्डलले आइतबार पार्टी परित्याग गरेर सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उक्त क्षेत्र पाँच दलीय गठबन्धनमा कांग्रेसको भागमा परेको थियो ।

काठमाडौं १० मा कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसीविरुद्ध माओवादी पोलिटब्युरो सदस्य अञ्जना विशंखेले उम्मेदवारी दिएकी छिन् । कपिलवस्तु १ मा माओवादीका चन्द्रप्रकाश खनालका विरुद्ध कांग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

टिकट नपाएपछि जसले पार्टी छाडे
कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य किरण पौडेलले पार्टी त्यागेका छन् । नेविसंघका पूर्वमहामन्त्रीसमेत रहेका देउवानिकट नेता पौडेलले बाग्लुङलगायत देशभर बाँडफाँड भएको सिटप्रति असहमति जनाउँदै पार्टी त्यागेका हुन् । उनको क्षेत्र बाग्लुङ १ मा सत्तारूढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी उम्मेदवार बनेका छन् ।

एमाले प्रदेश १ समिति सचिवालय सदस्य डिल्लीप्रसाद शर्मा अधिकारीले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेका छन् । उनी मोरङ १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवारका आकांक्षी थिए । उनीसँगै केराबारी गाउँपालिकाका एमाले अध्यक्षसहित २० कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । अधिकारीको ठाउँमा एमालेले खड्ग बस्नेतलाई टिकट दिएको छ । टिकट वितरणमै असन्तुष्टि जनाउँदै एमाले मोरङ जिल्ला सचिव रूपेश खतिवडा र सचिवालय सदस्य मेघराज कट्टेलले पनि पार्टी परित्याग गरेका छन् । सचिव खतिवडा मोरङ १ (क)बाट र सदस्य कट्टेल २ (क)बाट प्रदेश सभा सदस्य उम्मेदवारका अकांक्षी थिए । तर, एमालेले खतिवडाको ठाउँमा उमाकान्त गौतम र कट्टेलको ठाउँमा म्यानपावर व्यवसायी डिबी कार्कीलाई टिकट दिएको छ ।

कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य मानबहादुर रावलले राजीनामा दिएका छन् । यस्तै कञ्चनपुरका एमाले नेता खेम सुवेदी तथा प्रदेशसभा सदस्यद्वय जयराम पाण्डे र टेक हमालले पार्टी छाडेका छन् ।

रोल्पामा माओवादी पोलिटब्युरो सदस्य दीपेन्द्रकुमार पुनले पार्टी परित्याग गरेका छन् । आइतबार रोल्पा सदरमुकाम लिबाङमा पत्रकार सम्मेलन गरेर पुनले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरे । लुम्बिनी प्रदेश सांसदसमेत रहेका पुनले स्वतन्त्रबाट रोल्पा (ख) प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । कास्की ३ (क) मा दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएको विरोधमा माओवादीका प्रदेश कमिटी सदस्यसहित ३७ जनाले सामूहिक राजीनामा दिएका छन् ।