१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ५ शनिबार o८:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपत्यकामा खोइ खुला ठाउँ ?

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:४५:oo

भएका खुला ठाउँ र पार्कमा समेत निर्माण सामग्रीले भरिभराउ

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले तीन दिनअघि तिनकुनेको खाली जग्गाको फोटो सामाजिक सञ्जालमा राख्दै शीर्ष नेताहरूसँग प्रश्न गरेका थिए । उनले सोही क्षेत्रबाट सांसद बनेका जनता समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पनि प्रश्न गरेका थिए । पार्क बनाउन ५० वर्षअघि आफैँले हस्ताक्षर गरेर जग्गा अधिग्रहण गरेको, तर अहिलेसम्म भद्रगोल रहेको भन्दै मेयर साहले समाधानका उपाय खोज्न नेता नेपाललाई आग्रह गरेका थिए ।

हाल यो पार्क घाँसेमैदानमा परिणत भएको छ । विदेशी पाहुना आउँदा पार्कभित्रको भद्रगोल छोप्न वरिपरि माटोको थुम्का बनाएर दुबो र अन्य बिरुवा रोप्ने गरिन्छ । तर, पार्कभित्र भने भद्रगोल छ । 

कंक्रिटका संरचनाले भरिएको संघीय राजधानी काठमाडौंमा पार्क तथा खाली ठाउँ निकै कम छन् । कतिपय बनेका पार्क पनि अस्तव्यस्त अवस्थामा छन् । पार्क बनाउन छुट्याइएका कतिपय ठाउँ वर्षौँदेखि अलपत्र छन् । उपत्यकाको सबैभन्दा धेरै खुला स्थान टुँडिखेलमा समेत धरहरा निर्माणका सामग्री र फोहोर थुपारिएको छ । 

विश्वसम्पदा क्षेत्र पशुपतिनाथपरिसरमा पनि खाली ठाउँ थुप्रै छन् । तर, ती ठाउँ सार्वजनिक तथा निजी सवारीसाधन पार्किङस्थल बनेका छन् । कतै फोहोर थुपारिएको छ भने कतै झाडी बनेको छ ।

रत्नपार्कका संरचना जीर्ण बन्दै
काठमाडौंको केन्द्रमा रहेको रत्नपार्क पनि अहिले अस्तव्यस्त अवस्थामा छ । पार्कभित्रै निर्माण सामग्री राखिँदा यहाँका बेन्च र टेबल जीर्ण बनेका छन्  । काठमाडौंको सिफलस्थित चौर पनि बेवारिसे बनेको छ । वर्षा भएका वेला पानी जम्ने हुँदा पोखरीजस्तै बन्छ । बाक्लो बस्तीको बीचमा रहेको यो चौरमा पानी जम्दा स्थानीयलाई टहलिने ठाउँको अभाव हुने गर्छ । 

ललितपुरको पुल्चोकस्थित मदन स्मारक स्कुलको करिब २३ रोपनीको कम्पाउन्ड पनि सदुपयोग हुन सकेको छैन । थोत्रा गाडी र निर्माण सामग्रीहरू यत्रतत्र राखिएका कारण विद्यार्थीहरू खेल्नसमेत पाउँदैनन् । 

स्थानीय तह निर्वाचनका वेला ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पुनः निर्वाचित भए लगनखेलस्थित सप्तपाल पोखरीमा तीन महिनामै कमलको फुल फुलाउँछु भनेका थिए । पोखरीबाहिर पार्कसमेत बनाउने उनले घोषणा गरेका थिए । तर, अहिले त्यो ठाउँ घाँसेमैदान बनेको छ । पोखरी र पार्क झाडी बनेको छ । 

यस्तै, ललितपुरको गोदावरीस्थित बोटानिकल गार्डेन पनि अहिले उजाड बनेको छ । तीन वर्षअघिसम्म निकै व्यवस्थित यो गार्डेन अहिले उजाड देखिन्छ । गार्डेनभित्र व्यापारीहरूले झुपडीसमेत खडा गरेका छन् । कतिपयले गाडी पार्किङस्थलसमेत बनाएका छन् । 

व्यवस्थित छैन बज्रबाराही
ललितपुरको चापागाउँस्थित बज्रबाराही क्षेत्रमा रहेका खुला ठाउँ पनि अस्तव्यस्त छन् । गोदावरी नगरपालिकाले पार्क बनाउने भनेको करिब २० रोपनी जग्गा ठूला तथा साना सवारीसाधनको पार्किङ स्थल बनेको छ । ललितपुरको धोबीघाटस्थित मलपोखरी र त्यसको बाहिरपट्टि रहेको खाली जग्गा पनि अस्तव्यस्त छ । करिब ४३ रोपनी क्षेत्रफलमा फैलिएको पोखरी र बाहिरको भागमा ह्युमपाइप राखिएको छ ।

यसबाहेक पनि काठमाडौं उपत्यकामा थुप्रै खाली ठाउँ छन्, तर ती खाली ठाउँलाई स्थानीय तहहरूले व्यवस्थित गर्न सकेका छैनन् । खुला ठाउँमा कतै व्यक्तिले टहरा निर्माण गरेका छन् भने कतै पार्किस्थल र निर्माण सामग्री राखेका छन् । महानगरका अनुसार महानगरभित्र साना–ठूला गरेर ७० वटाभन्दा बढी पार्क छन् ।पार्क बनाउन सकिने सरकारी जग्गा दुई सयभन्दा बढी स्थानमा छन् । 

ad
ad