मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १५ शनिबार ०८:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसामा मानव तस्करी : अध्यागमनबाट पास भएकी युवतीलाई प्रहरीद्वारा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १५ शनिबार ०८:०९:००

नक्कली कागजपत्र पेस गरी भिजिट भिसामा दुबई जान लागेकी युवतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । सिन्धुपाल्चोककी १९ वर्षीया युवतीलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । १२ कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी उनी दुबई जान लागेकी थिइन् । आफ्नो प्रमाणपत्र नक्कली भएको स्विकार्दै भिजिट भिसामा जान आवश्यक सबै कागजपत्र आफूलाई एक समूहले बनाइदिएको उनले पक्राउपछि बताएकी छिन् ।

‘उनीबारे सुरुमै एयरलाइन्स र अध्यागमनलाई जानकारी गराएका थियौँ,’ विमानस्थल प्रहरी प्रवक्ता एसएसपी दीपेन्द्र जोशीले भने, ‘तर, एयरलाइन्स र अध्यागमन दुवैले रोकेन, पछि बोर्डिङ पास क्यान्सिल गर्न लगाएर हामीले उनलाई पक्राउ गराएका हौँ,’ फ्लाई दुबईमार्फत उनी दुबई जान लागेकी थिइन् । 

प्रारम्भिक अनुसन्धानमा ती युवतीसहित पाँचजनालाई मानव बेचबिखनमा संलग्न एक गिरोहले रोजगारीको प्रलोभनमा विदेश लैजान लागेको खुलेको छ । चारजना भने सेटिङमा दुबई गएका छन् । युवतीले यसरी लैजाने गिरोहबाट सूचना दिएकी छिन् । यसबारे थप छानबिनका लागि गौशला वृत्तमा पठाइएको एसएसपी जिसीले बताए । 

विमानस्थलबाट एयरलाइन्स र अध्यागमनको मिलेमतोमा मानव तस्करी भइरहेको सूचनापछि विगत एक महिनादेखि प्रहरीले कडाइ गर्दै आएको छ । यो अवधिमा शंकास्पद कागजपत्रका आधारमा खाडीलगायत देशमा भिजिट भिसामा जान लागेका करिब चार सयलाई प्रहरीले फिर्ता गरिसकेको छ । फिर्ता गरिसकेका व्यक्तिका आधारमा गिरोहमाथि छानबिन गर्ने जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा मानव बेचबिखन अनुसन्धान ब्युरोलाई दिएकोमा हालसम्म कोही पक्राउ परेका छैनन् ।

सेटिङमा संलग्न अध्यागमनका कर्मचारीमाथि विस्तृत छानबिन हुन नसक्दा भिजिट भिसामा हुने मानव तस्करी रोकिएको छैन । यसबारे गृह मन्त्रालयले गत वर्ष छानबिन गरी भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि बनाएको थियो । एक महिनापछि नयाँ कार्यविधि लागू गर्न लागिएको छ । जसमा न्यूनतम तीन लाख बैंक ब्यालेन्स चाहिने प्रावधान राखिएको छ ।