१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ असोज १४ शुक्रबार ०७:४३:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन

Read Time : > 4 मिनेट
२०७९ असोज १४ शुक्रबार ०७:४३:००

यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’ गर्दागर्दै सक्रिय राजनीतिमा लागेका र लाग्न चाहने पत्रकारको कुनै कमी छैन । तीमध्ये अहिले यो पंक्तिकारको स्मृतिमा रहेको एउटा नाउँ हो रत्नाकर भारती, बिबिसी लन्डनमा हिन्दी भाषाका कार्यक्रम प्रस्तोता । लोकतान्त्रिक समाजवादी राजनीतिसँग निकट सम्बन्ध राख्थे रत्नाकर भारती । उनी हाम्रो युवावस्थाका प्रसिद्ध पत्रकार थिए र बिबिसी लन्डनमा हिन्दी भाषाको सामयिक राजनीतिक कार्यक्रम ‘आजतक’ चलाउँथे । बिबिसी लन्डनबाट प्रसारित हुने त्यस कार्यक्रमले नेपालमा पनि धूम मच्चाएको थियो । कार्यक्रमले नेपालमा चलिरहेको लोकतन्त्र स्थापनाको आन्दोलनलाई राम्रोसँग समेट्ने गरेको थियो । नेपालमा मार्सल जुलुम शाक्य, देवेन्द्र नेपाली र हरिबोल भट्टराई पक्राउ परेका वेला बिबिसीले प्रसारण गरेको समाचारको झझल्को अहिले पनि छ मेरो सम्झनामा । 
रत्नाकर भारती समाजवादी पृष्ठभूमिका व्यक्ति थिए । भारतका समाजवादी नेताहरूसँग उनको राम्रो सम्बन्ध थियो । सन् १९७५ मा प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा संकटकाल लगाएर शासन गर्न थालेपछि सर्वोदय आन्दोलनका सूत्रधार जयप्रकाश नारायणको नेतृत्वमा भएको सम्पूर्ण क्रान्ति आन्दोलनपछि भएको चुनावमा रत्नाकर भारतीले चुनाव लडेका थिए । राजनीतिप्रति पत्रकारहरूको आकर्षणको एक उदाहरण हो यो । 

डा. राममनोहर लोहियाको समाजवादी विचार र आन्दोलनबाट नेपालका युवा प्रभावित थिए । यो प्रभावको पहिलो सूत्र थिए– प्रदीप गिरि । जो नेपालमा समाजवादी आन्दोलनको संरचनामा लागेका थिए । रत्नाकर भारतीसँग उनको सम्बन्धले पनि बिबिसीबाट नेपाली आन्दोलनका समाचार प्रसारण सहज बनेको थियो । 
यद्यपि, त्यतिवेला बिबिसीले नेपाली भाषामा नियमित कार्यक्रम चलाउन थालिसकेको थियो । मोटामोटी रूपमा रेडियो नेपालबाट प्रसारित हुने कार्यक्रमहरूको कार्बन कपीझैँ लाग्ने नेपाली कार्यक्रममा नेपाली राजनीतिको चर्चा कमै हुने गथ्र्यो । सञ्चालक खगेन्द्र नेपाली कार्यक्रमलाई आकर्षक र जीवन्त बनाउन चाहन्थे ।

खगेन्द्र नेपालीमा कस्ता सामग्रीले रेडियो कार्यक्रम आकर्षक बन्छ भन्ने ज्ञान प्रचूर थियो । स्वतन्त्रता र उदात्त समाजको माग गर्दै चेतनशील जनताले देश तताएको त्यो समयमा ‘त्यो तारा मात्रै होइन, जून पनि झारी दिउँला’ जस्ता गीत बजाएर कार्यक्रम जीवन्त हुने त कुरै थिएन । उनी कार्यक्रमलाई जीवन्त बनाउने सामग्रीको प्रयोग गर्न स्वतन्त्र थिएनन् । नेपाली राजा र बेलायती राजाबीच सुमधुर सम्बन्ध थियो त्यो वेला । त्यो सुमधुर सम्बन्धको सम्मान गर्नुपर्ने बाध्यताको सिर्जना गरेको थियो, बेलायतकी महारानी एलिजाबेथको सरकारले । अहिले नेपाल गणतान्त्रिक देशमा परिवर्तित भइसकेको छ । देशमा पूर्ण स्वतन्त्रता स्थापित भइसकेको छ । तैपनि, अतीतका ती ‘ह्यांग ओभर’ बाँकी नै छन् । ती ह्यांग ओभरको प्रभावमा बाँचेका छन्, हाम्रा देशका बुद्धिजीवी, विचारक, विश्लेषक, प्राध्यापक र पत्रकारहरू । 

बिहीबार बिहानै एउटा समाचारको शीर्षकले मलाई अलिकति झस्कायो । समाचार र समाचारका शीर्षक दुवै अनौठो प्रकृतिको थियो । समाचारमा अहिलेसम्म के वस्तु हो ? भनेर कसैले पनि टुंगो लगाउन नसकेको वैकल्पिक राजनीतिको चर्चा थियो । चर्चाका लागि दुई पात्र खडा गरिएका थिए ः डा. बाबुराम भट्टराई र रवीन्द्र मिश्र । यी दुई पात्रबीच कुनै तादात्म्य स्थापित हुनै सक्दैन । डा. बाबुरामसँग धेरैका विमति होलान् । त्यो ठिकै छ । तर, पत्रकारका हिसाबले म डा. बाबुराम र रवीन्द्रलाई समान मूल्यमा तुलना गर्नै सक्दिनँ । यस्तो तुलना भ्रामक हुन्छ । संघर्षको निरन्तरतामा हुर्केका डा. बाबुरामको चरित्रले वेलावेलामा तरलताको सीमा उल्लंघन गर्छ । 

यसमा कुनै शंका नहोला । तर, जन्मिँदैदेखि चाँदीको चम्चा मुखमा हालेर हुर्केका रवीन्द्र मिश्रका राजनीतिक खुबी र मान्यता के हुन् ? कसैले जवाफ दिन सक्छ ? रवीन्द्रका पिताश्री मनुजबाबु मिश्र अब्बल दर्जाका, अत्यन्त सम्मानित, राजतन्त्रका कट्टर हिमायती कलाकार हुनुहुन्थ्यो । प्रजातन्त्र पुनस्र्थापनाले उहाँको राजतन्त्रप्रतिको आस्था र मान्यतामा चोट लाग्यो । त्यसपछि उहाँले सार्वजनिक जीवनबाटै सन्न्यास लिनुभयो । रवीन्द्रको व्यक्तित्व र विद्वताको जति चर्चा गरिन्छ, त्यो आवश्यक छैन । उनी धनाढ्य परिवारका, सुख–सुविधामा हुर्किएका, राम्रो स्कुलमा पढेका, अवसर पाएका, राजा–महाराजाहरूको संगतमा परेका व्यक्ति हुन् । नेपालमा सफा लुगा लगाउने र मोटर चढ्ने मानिसलाई जहाँ देख्यो, त्यहाँ सलाम गर्ने चलन थियो । कुनै परिश्रम नगरी बिबिसीको जागिर पाएका रवीन्द्रको चरित्र सधँै सन्दिग्ध रहँदै आएको छ । तर, डा. बाबुराम भट्टराईको चरित्र सन्दिग्घ छैन । उनको विद्वताको एकछेउमा पनि पुग्न सक्दैनन् रवीन्द्र मिश्र । डा. बाबुरामसँग असहमति जनाउन सकिन्छ । उनी झनक्क रिसाउँछन् । त्यत्ति मात्रै हो । 

दसैँ, तिहार र छठलगत्तै देशमा हुने चुनावप्रति पत्रकार तथा समाजसेवीहरू सचेत र सक्रिय हुनुपर्ने हो । तर, त्यस्तो सचेतना र सक्रियता कतै देख्न पाइएको छैन । अधिकांश पत्रकारको काँध ‘रिजर्भ’ मोडमा रहेको देखिन्छ । 
 

नेपालमा भएको युगान्तकारी राजनीतिक परिवर्तनले नेपाली जनतालाई विकास र आधुनिक जीवनको चेतना दिएको छ । यो समयमा भन्न र देख्न सकिने परिवर्तन नभए पनि मानिसमा आत्मबोध भएको छ । सर्वचेतन हिसाबले नेपाली जनताको बौद्धिक संस्कार भइरहेको छ । तर, यसका साथै हामीले अपनाएको राजनीतिक पद्धतिका सञ्चालकहरू अत्यन्त कपट र पाखण्डपूर्ण बाटामा अग्रसर भएका छन् । देशमा एउटा संविधान त छ, तर त्यो अधुरो र अपूर्ण छ । त्यसको पनि कार्यान्वयन हुन सकेको छैन । सरकारले जनताका लागि अनिवार्यतः जुटाउनुपर्ने सुविधाको अत्तोपत्तो छैन । नेताहरू छन्, जो यो ठान्छन् कि आपूm प्रधानमन्त्री नभएकै कारण देशको विकास हुन सकेको छैन । एकथरी नेता यस्ता छन्, जो ‘भारतबाट मिचिएका भूभाग’ मिलाएर देशको नक्सा सच्याउँछन् । चीनले आफ्नो सीमा मिचेको गुनासो गर्छन् । तर, मिचिएका वास्तविक भूभागबारे दोहोरो सवाल–जवाफ गर्ने ल्याकत राख्दैनन् । राजनीतिक र आर्थिक एहसानको बोझले थिचिएका र दबिएका नेताबारे किन हो कुन्नि पत्रकारहरू कलम चलाउन गाह्रो मान्छन् । 

दसैँ, तिहार र छठलगत्तै देशमा हुने चुनावप्रति पत्रकार तथा समाजसेवीहरू सचेत र सक्रिय हुनुपर्ने हो । तर, त्यस्तो सचेतना र सक्रियता कतै देख्न पाइएको छैन । अधिकांश पत्रकारको काँध ‘रिजर्भ’ मोडमा रहेको देखिन्छ । उम्मेदवारहरूको वंशावली तयार पारेर बसेका छन् साथीहरू । पत्रकार र सञ्चारकर्मीका संस्थाले ‘हामी देशको चौथो अंगले पनि पहिलो, दोस्रो र तेस्रो अंगसरहको सुविधा पाउनुपर्छ’ भन्ने माग गरे भने आश्चर्य नमान्दा हुन्छ । कानमा कतै अनुगुञ्जित हुन्छ, अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीको त्यो वाणी कि ‘देशले तिमीलाई के दियो होइन, तिमीले देशलाई के दियौ ? त्यो सोच ।’

चुनावको यो समयमा पत्रकार तथा सञ्चारकर्मीहरू देशले व्यहोर्नुपरेका समस्यामा केन्द्रित हुनुपर्ने हो । विभिन्न फोरम निर्माण गरेर दलका नेताहरूलाई त्यहाँ उभ्याउनुपर्ने हो । तर, त्यस्तो केही छैन । पत्रकारका विभिन्न संघ–संस्थाहरू या त सञ्चार मन्त्रालयमा केन्द्रित छन्, या पार्टीका केन्द्रीय नेताहरूको पछि–पछि लागेका छन् । अहिलेसम्म राजनीतिमा सक्रिय रहेका बूढा नेताहरूको चिन्तनको साँघुरोपन जताततै व्याप्त छ । कांग्रेसका नेता रामचन्द्र पौड्यालको कुरा सुन्नुहोस्– उनले देशलाई अधोगतिमा जानबाट रोक्न सक्छन् । उनी अहिलेसम्म के हेरेर बसेका थिए ? प्रचण्डको बोली पनि त्यस्तै छ । उनले अहिलेसम्म राजनीतिको नाममा खेल खेले । अब चुनाव जितेर देश बनाउन चाहन्छन् । पूरै नेपाली समाजको रूपान्तरणका लागि जनयुद्धको संयोजन गर्ने प्रचण्डको क्षमता कहाँनेर चुक्यो ? यो प्रश्नले उत्तरको खोजी गरेको छ । जुन दिन त्यो उत्तर प्राप्त हुन्छ, त्यही दिन नेपाली जनता सबै प्रकारका राजनीतिक भ्रान्तिहरूबाट मुक्त हुनेछन् ।

देशको विकास गर्न प्रधानमन्त्री नै हुनुपर्ने चिन्तनमा खुम्चिएका छन् नेपालका नेताहरू । यिनीहरूसँग विकासको परिभाषा छैन । आफ्नो क्षमताको पहिचान छैन । विकास गर्न देशमा स्रोत छैन । जे–जति छ, त्यो राजनीतिका लागि नै ठिक्क छ । यस्तो अधमरो अवस्थामा रहेका हामी नेपाली जनताले कोसँग गुनासो गर्ने ? यही चुनाव त हो, हामीले सही नेतृत्वको चयन गर्ने समय । भृत्यतन्त्रका कमाराका रूपमा देखिएका नेपाली नेतामा रत्तिभर आत्मविश्वास छैन । शताब्दीयौँदेखि सरकारको सिन्दुर लगाउँदै आएको भृत्यतन्त्रले राजनीतिक नेतृत्वलाई हरूवा–चरुवा बनाएको छ । समाज अलमलिएको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पनि शताब्दीयौँ पुरानो शासन पद्धतिलाई कायम राखेर अबको नेपाल एक पाइला पनि अगाडि बढ्न सक्दैन । त्यति धेरै मानिसको अनवरत संघर्ष र बलिदानपछि स्थापित अहिलेको व्यवस्था उत्कृष्ट हो भन्नेमा प्रश्न गर्ने कुनै ठाउँ छैन । आगामी चुनावमा नेपाली जनताले विकासका आधार तयार गर्न सक्ने पार्टीहरूको छनोट गर्नुपर्छ । त्यसका लागि पत्रकार र सञ्चारकर्मीले सूचना र विश्लेषणका माध्यमले जनतालाई दह्रो बनाउनुपर्छ । संविधानभन्दा माथि कोही हुँदैन । व्यक्तिका अहम्मन्यता तानाशाहीका खास प्रवृत्ति हुन् ।