मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज १४ शुक्रबार ०६:२१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस असन्तुष्ट समूहको रणनीति : बन्दसूचीमा वरीयताको सुनिश्चितता, प्रतिशतमा लचकता

Read Time : > 2 मिनेट
२०७९ असोज १४ शुक्रबार ०६:२१:००

संस्थापन पक्षविरुद्ध आन्दोलन गर्दै आएको कांग्रेसको इतर समूहले समानुपातिकतर्फको बन्दसूचीको वरीयतामा सुनिश्चितता र प्रतिशतमा लचकता अपाउने नीति अंगीकार गरेको छ । सूची हेरफेर गर्दा आफ्ना मान्छेको वरीयता अगाडि राख्न सके समानुपातिक सांसद बन्ने सम्भावना बढ्ने भएकाले इतर समूहले यसलाई प्राथमिकतामा राखेको हो । 

वरीयतामा आफ्नो माग सम्बोधन भए हाल राख्दै आएको ४० प्रतिशतको अडानमा लचकता अपनाउन सकिने इतर समूहको योजना छ । इतर समूहले आफ्नोतर्फबाट ४४ जनाको नाम संस्थापन पक्षलाई बुझाएको छ । प्रतिशतमा लचकता अपनाएर समानुपातिकबाट निर्वाचित हुँदा आफ्नो समूहको प्रतिनिधित्व हुुने सुनिश्चितता इतर समूहले खोजेको हो । तर, संस्थापन पक्ष इतरका माग सम्बोधनमा अझै तयार देखिएको छैन । 

बिहीबार पदाधिकारी बैठकमा इतर समूहका नेताले वरीयता र प्रतिशतसहित आफ्नो पक्षबाट सिफारिस व्यक्तिको नाम पेस गरेका थिए । आफ्नो समूहले आयोजना गरेको चियापान सकेर इतर समूहका नेता बन्दसूचीबारे छलफल गर्न बोलाइएको बैठकमा भाग लिन बालुवाटार पुगेका थिए । नेताहरूका अनुसार छलफलमा बन्दसूची हेरफेरबारे छलफल भएको थियो । 

सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठकमा संघतर्फको बन्दसूचीबारे छलफल भइरहेको र त्यसमा बटमलाइनबारे छलफल भएको छैन । ‘छलफलमै छौँ । प्रतिनिधिसभातर्फको एक सय १० जनाकै नाममाथि छलफल गरिरहेका छौँ । सच्याउने र थप गर्ने नामबारे टुंगो लागिसकेको छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘हामीले कुनै बटमलाइन राखेका छैनौँ, छलफल गरेर मिलाउन भनेका छौँ ।’

अर्का एक पदाधिकारीका अनुसार इतरले समानुपातिकको सूची सच्याउँदा आफ्नो समूहको ४४ जनाको नाम समावेश गर्नुपर्ने अडान राखेको छ । इतरले ३ असोजमा बन्दसूची बुझाउनुअघि दाबी गरेकै नाम समावेश गर्नुपर्ने अडान राखेको उनले बताए । 

इतरले नाम समावेश गर्दा सूचीमा इतर र संस्थापनको वरीयता मिलाएर समावेश गर्नुपर्ने र समानुपातिकतर्फबाट निर्वाचित हुँदा नाम पर्ने सुनिश्चितता खोजेको अर्का एक पदाधिकारीले बताए । ‘बुझाएका नाम नाम वरीयता मिलाएर समावेश गर्न भनेका छौँ, समानुपातिकतर्फबाट निर्वाचित हुँदा इतरको नाम पनि पर्ने सुनिश्चितता खोजेका छौँ,’ ती पदाधिकारीले भने, ‘४० प्रतिशत मागअनुसार ४४ जनाको नाम समावेश गर्न भनेका छौँ । तर, उहाँहरू (संस्थापन) त्यो संख्यामा आयोगमा पठाएको सूचीको नाम परिमार्जन गर्न तयार देखिनुभएका छैन ।’

स्रोतका अनुसार इतरले ३५ प्रतिशतसम्मको बटमलाइन बनाएको छ । शेखर कोइरालानिकट एक केन्द्रीय सदस्यका अनुसार ४० प्रतिशत दाबी गरे पनि पार्टीभित्र आवश्यक नेतालाई समेट्ने सर्तमा समूह संख्या घटाउन तयार छ । ‘४० प्रतिशतकै बटमलाइन राखेका छौँ । तर, पार्टीमा आवश्यक साझा र सिनियर नेतालाई समेट्ने सर्तमा संख्यामा समझदारी गर्न तयार छौँ,’ ती केन्द्रीय सदस्यले भने ।

इतर समूहका नेता भूपेन्द्रजंग शाहीले आफ्नो समूहको चिन्ता पार्टीलाई परिणाम दिने पक्षमा नै रहेकाले प्रतिशतमा तलमाथि हुन सक्ने बताए । ‘मुख्य त पार्टीलाई एकताबद्ध बनाएर जाने हो । प्रतिशत मात्रै महत्वपूर्ण होइन, पार्टीलाई आवश्यक नेतालाई छुटाउन भएन । पार्टीमा न्याय र समानता हुनुपर्छ,’ उनले भने, ‘पार्टीलाई परिणाम कसरी दिन सकिन्छ भन्नेमै हाम्रो चिन्ता छ । आफूलाई भोट नहालेकै कारण नेतृत्वबाट कोही अन्यायमा पर्नुभएन ।’

इतरको निरन्तर विरोधपछि सभापति देउवाले बन्दसूची सच्याउन तयार रहेको भन्दै पदाधिकारी र नेताहरूसँग छलफल गरिरहेका छन् । बिहीबार बालुवाटारमा गठबन्धन बैठकसमेत चलेपछि कांग्रेसको पदाधिकारी बैठकसमेत प्रभावित बनेको थियो । सहमहामन्त्री पाण्डेले बैठक शुक्रबार बिहान ८ बजे बस्ने गरी टुंगिएको बताए । ‘गठबन्धनको बैठक पनि भएकाले सभापतिसहितका नेताहरू त्यता व्यस्त हुनुभयो । टुंगो लाग्ने गरी छलफल हुन सकेन । शुक्रबार बिहान ८ बजे बसेर थप छलफल गर्छौँ,’ उनले भने । 

इतरको चियापानमा टिकटकै चिन्ता  : गगन–शेखर सहभागी भए, सिटबारे बोलेनन्
इतर समूहले आयोजना गरेको चियापानमा नेता–कार्यकर्ताले आफ्नो समूहले पाउने टिकटको विषयमा चासो राखेका छन् । समानुपातिकको बन्दसूचीको विषयलाई लिएर दबाबमूलक गतिविधि गर्दै आएको इतर समूहले गौशालामा राखेको चियापानमा नेता–कार्यकर्ताले आफ्नो समूहले पाउने टिकट, समानुपातिकको सूची सच्याउने विषय र सिफारिस भएकाले आफ्नो टिकट के हुने भन्ने प्रश्न गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभातर्फ उम्मेदवारका लागि क्षेत्रीय समितिबाट सिफारिसमा परेका नेता–कार्यकर्ताले टिकट सुनिश्चित गर्नका आग्रह गरेका थिए । 

कार्यक्रममा नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा, उपसभापति धनराज गुरूङ, सहमहामन्त्री बद्री पाण्डे, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, बलबहादुर केसी, चन्द्र भण्डारी, केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, अजयबाबु सिवाकोटी, सञ्जय गौतम, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायतको सहभागिता थियो । नेता घिमिरेले चियापानलाई पनि पार्टीमा समान अधिकार र न्यायका लागि जारी आन्दोलनअन्तर्गत नै आयोजना गरिएको बताए । ‘चियापानमा हाम्रो विचार समूहका शीर्ष नेता र पदाधिकारीसमेतको उपस्थिति रह्यो,’ उनले नयाँ पत्रिकासँग भने, ‘पार्टीमा समान अधिकार र न्यायका लागि हाम्रो दबाब जारी छ । परिस्थिति हेरेर थप निर्णय गर्नेछौँ ।’ 

यसअघि समानुपातिकको सूची संशोधन गर्न माग गर्दै इतर समूहले गरेको भेला र धर्नामा पदाधिकारी तहका नेता सहभागी हुने गरेका थिएनन् । नेता–कार्यकर्ताले नेतालाई गठबन्धन गर्दा धेरैभन्दा धेरै सिट कांग्रेसले पाउने गरी सहमति गर्न र त्यसमा आफ्नो समूहले ४० प्रतिशत सिट पाउने सुनिश्चितता गर्न आग्रह गरेका थिए । तर, कार्यक्रममा कोइरालालगायत नेताले कार्यक्रममा औपचारिक सम्बोधन भने गरेनन् । नेताहरूले बन्दसूचीबारे छलफल भएरहेको र आफ्नो समूहका न्यायका लागि लागिपरेको जानकारी गराउनुभयो ।’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने दाबी गरे ।