Skip This
प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक आज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ असोज १३ बिहीबार o६:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक आज

गठबन्धनभित्रको असन्तुष्टितिर नजर, लोसपा र राप्रपासँगको तालमेल टुंगो लगाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार o६:४३:oo

एमालेले दसैँअगावै संघ र प्रदेशतर्फ प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने गरी गृहकार्य गरिरहेको छ । गृहकार्यलाई अन्तिम रूप दिन बिहीबार केन्द्रीय सचिवालय बैठक बस्दैछ । बैठक लगातार बस्ने र दसैँअगावै उम्मेदवार तथा निर्वाचनको घोषणापत्र टुंग्याउने नेताहरूको भनाइ छ । 

अपराह्न ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा बस्ने बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘बिहीबार बोलाइएको सचिवालय बैठकमा प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचनमा प्रस्तुत गरिने पार्टीको घोषणापत्रमा केन्द्रित रहेर छलफल हुन्छ,’ उपमहासचिव ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘हामी दसैँअगावै उम्मेदवार र चुनावी घोषणापत्रको टुंगो लगाएर सार्वजनिक गर्छौँ ।’

सत्तारूढ गठबन्धनको क्षेत्र बाँडफाँड र त्यसबाट उत्पन्न हुन सक्ने असन्तुष्टिलाई समेत मध्यनजर गरेर उम्मेदवार टुंगो लगाउने रणनीतिमा एमाले छ । गठबन्धनभित्रको असन्तुष्टितिर नजर लगाउँदै एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राप्रपासँगको तालमेलको अन्तिम टुंगो लगाइसकेको छैन । 

गठबन्धनभित्र सिट बाँडफाँडमा असन्तुष्टि देखिएपछि एमालेले बुधबार बोलाउने तयारी गरेको सचिवालय बैठकलाई गृहकार्य नपुगेको भन्दै एक दिन पर धकेलेको थियो । तर, बिहीबारबाट सुरु हुने सचिवालय बैठक भने लगातार बस्ने र दसैँअगावै उम्मेदवार तथा निर्वाचनको घोषणापत्र टुंग्याउने नेताहरूको भनाइ छ । 

अध्यक्ष केपी ओलीले निकटस्थ नेताहरूसँग समेत परामर्श गरेर प्रतिनिधिसभातर्फका ८० प्रतिशतभन्दा बढी उम्मेदवार टुंग्याइसकेका छन् । ६० निर्वाचन क्षेत्रमा जिल्ला र प्रदेशबाटै सर्वसम्मत टुंगिएर उम्मेदवारको नाम आएको र थप ५० हाराहारीमा दुईजनाको मात्र दाबी रहेकाले संघतर्फको उम्मेदवार टुंगो लगाउन गठबन्धनको तुलनामा एमालेलाई सहज देखिएको छ । तर, लोसपा र राप्रपासँगको सम्भावित तालमेल र बाँकी क्षेत्रका उम्मेदवार टुंग्याउन भने सकस छ । त्यस्तै, प्रदेशतर्फको तीन सय ३० सिटमध्ये आधा क्षेत्रको पनि गृहकार्य नभएकाले बैठक थप दुई दिन लम्बिन सक्ने एक पदाधिकारीले बताए ।

चुनावी घोषणापत्रको मस्यौदा तयार

एमालेले चुनावी घोषणापत्र पनि टुंग्याउने तयारी गरेको छ । २६ साउनमा बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा आठ सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो । समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णुप्रसाद पौडेल सदस्य छन् । त्यस्तै, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल मस्यौदा कमिटीमा छन् । उनीहरूमध्ये उपमहासचिव ज्ञवाली र रिमालले मस्यौदा निर्माणको मुख्य काम सम्हालेका छन् । 

स्थानीय तह निर्वाचनमा एमालेले ‘सुशासन, समृद्धि र समाजवादको आधार ः पालिका–पालिकामा एमालेको सरकार’ मूल नारा बनाएको थियो । ४ मंसिरको निर्वाचनमा पनि त्यस्तै प्रकृतिको नारा तय भएको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले बताए । ‘पार्टी अध्यक्षको समृद्ध नेपाल ः सुःखी नेपालीको मूल लक्ष्य साकार पार्ने गरी मूल नारा तय भएको छ,’ विष्टले भने, ‘स्थानीय तह निर्वाचनकै जस्तो नारासहित घोषणापत्र सार्वजनिक हुनेछ ।’

एमालेले स्थानीय तह निर्वाचनमा ४७ पृष्ठ लामो चुनावी घोषणापत्र तयार पारेको थियो । तर, संघको निर्वाचनमा भने पाँच वर्षका लागि गर्न सकिने कामको लक्ष्य निर्धारण गरेर विशेषतः घोषणापत्रलाई नारा र बुलेटयुक्त बनाइने एमालेले बताउँदै आएको छ । सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिको अभियानलाई तीव्रता दिने योजनालाई नै एमालेले घोषणापत्रमा प्राथमिकता दिने गरी मस्यौदा बनाएको छ ।