मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडौँ
२०७९ असोज १२ बुधबार १९:४१:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

धूम्रपानकाे धरापमा नेपालीको ज्यान, 'निषेधित क्षेत्र' कानुनमै सीमित

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौँ
२०७९ असोज १२ बुधबार १९:४१:००

काठमाडौं र ललितपुर महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्न प्रतिबन्ध लगाएको छ। अत्यधिक भिडभाड हुने क्षेत्रमा धूम्रपान अर्थात् सुर्तीजन्य पदार्थको सेवनमा प्रतिबन्ध लगाएको हो। 

तर, अत्यधिक भिडभाड रहने क्षेत्रहरूमा समेत चुरोट तान्दै निर्धक्कसँग हिँड्नेहरूमा भने कमी आएको देखिँदैन। विशेषगरी पशुपति क्षेत्र, पाटन दरबार स्क्वायर, स्वयम्भु क्षेत्रजस्ता सार्वजनिक स्थानहरूमा चुटोट वा सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमै सेवन गरिरहेका हुन्छन्। तर, गत असोज १ देखि काठमाडौं महानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन प्रतिबन्ध लगाएसँगै नियमित अनुगमन भइरहेको जनाएको छ।

महानगरका अनुसार भिडभाड रहने क्षेत्रमा नियमित अनुगमन भइरहेको र सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएमा प्रहरीले कारबाही गरिरहेको जनाएको हो। महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘सार्वजनिक स्थानमा फुटकर बेच्न राखिएका पसलहरूसमेत महानगरले हटाउँदै आएको छ, साथै नेपाल प्रहरीले समेत प्रत्यक्ष निगरानी राख्दै आएकोले अहिले कमी आएको देखिन्छ।’ नगर प्रहरीले फुटपाथमा सामान बिक्रीवितरण गर्न नदिए पनि सार्वजनिक स्थाननजिकका पसलहरूमा सुर्तीजन्य पदार्थ सजिलै बिक्रीवितरण भइरहेको छ।  

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धूम्रपान तथा सुर्ती सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ। सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध लगाइए पनि पूर्णतया पालन भएको भने पाइँदैन ।  

करिब १५ प्रतिशत मृत्युको कारण ‘सुर्तीजन्य पदार्थ सेवन’

नेपालमा धूम्रपान र सुर्तीजन्य पदार्थको सेवनले कुल मृत्युको करिब १५ प्रतिशत ओगट्ने गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको तथ्यांकअनुसार सुर्तीजन्य पदार्थको सेवनबाट निम्तिने रोगका कारण हुने मृत्युको यो संख्या प्रत्येक वर्ष बढ्दै गएको पाइन्छ। 

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको तथ्यांकअनुसार नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशत रहेको देखाएको छ। जसमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सुर्तीजन्य पदार्थ सेवन गरेर प्रतिवर्ष ज्यान गुमाउनेको संख्या २७ हजार १३७ रहेको पछिल्लो तथ्यांकले देखाउँछ। 

सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्य जटिलतासँगै आर्थिक भारसमेत थोपर्दै आएको छ। आर्थिक ऐन अध्यादेश २०७८ अनुसार स्वास्थ्य जोखिम करको रूपमा सरकारले विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रतिखिल्ली २५ पैसा, चुरोट र सिगारमा प्रतिखिल्ली ५० पैसा र खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलो ४० रुपैयाँका दरले कर संकलन गर्छ। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउनुपर्ने सुझाब दिँदै आएको छ। नेपालमा अहिले ३८ प्रतिशतको हाराहारीमा कर लगाइएको छ।

यस्तै, सन् २००३ को डिसेम्बरमा नेपालले विश्व स्वास्थ्य संगठनको सुर्ती नियन्त्रण महासन्धि (डब्ल्युएचओ फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल–डब्ल्युएचओएफसिटिसी) मा हस्ताक्षर गरिसकेको छ। यो महासन्धिलाई संसद्ले २०६४ कात्तिक २१ मा अनुमोदनसमेत गरिसकेको छ। 

महामारीमा धुम्रपानको असर झन् बढी श्वासप्रश्वाससम्बन्धी संक्रमण कोभिड महामारी फैलिइरहेको समयमा धुम्रपानको सेवनले स्वास्थ्य समस्या झन् बढाउँदै लगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना भाइरसले फोक्सोलाई प्रत्यक्ष क्षति पुर्याउने र सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको फोक्सोमा समस्या पहिले नै भैसकेको हुने भएकाले झन् जोखिम बढाइरहेको मन्त्रालयले जनाएको हो। 

बिएमसी पब्लिक हेल्थले गरेको एक सर्वेक्षणले स्वस्थ व्यक्तिको तुलनामा धूम्रपान गर्ने व्यक्तिलाई १२ प्रतिशत बढी कोभिड संक्रमणको गम्भीर समस्या देखिएको बताएको थियो। सन् २०२१ को अगस्टमा गरेको यो सर्वेक्षणमा कोभिडका कारण गम्भीर बिरामी परेका अर्थात् फोक्सोलगायतका अंगमा दीर्घकालीन असर देखिने जोखिमसमेत बढी देखिएको पाइएको थियो । 

धुम्रपानले कोभिड महामारीलाई सघाउ पुर्‍याइरहेको चिकित्सकहरूसमेत बताउँछन्। वरिष्ठ छातीरोग विशेषज्ञ डा. नीरज बमका अनुसार धुम्रपानले फोक्सो, कलेजोलगायतका महत्वपूर्ण अंगमा पहिले नै असर गरिसकेको हुने र कोभिड भाइरसले सहजै क्षति पुर्याउने जोखिम बढेको हो। उनी भन्छन्, ‘महामारीमा मात्रै होइन, धूम्रपानले समग्र स्वास्थ्य प्रणालीमा नै असर गर्दै आइरहेको छ। दीर्घकालीन रोगको मुख्य कारणहरूमध्ये धूम्रपान प्रमुख कारक बन्दै आएको छ।’

धूम्रपानका कारण हृदयाघात, क्यान्सर, मधुमेह, फोक्सो र श्वासप्रश्वाससम्बन्धी समस्या, मुख, दाँत र गिजामा क्यान्सर वा संक्रमण, छालामा संक्रमण, अथवा चाउरीपन, गर्भावस्था जोखिमपूर्ण हुनेजस्ता विभिन्न जटिलता निम्त्याउने चिकित्सक बताउँछन्।