
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउन सत्तारूढ गठबन्धनको बैठक सुरु भएको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा पाँचदलीय सत्तागठबन्धनबीच आपसी सिट बाँडफाँडका विषयमा छलफल गर्न सत्तागठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताको सहभागिता छ ।
यसैगरी, प्रधानमन्त्रीनिवास बालुवाटारमै पार्टीको आन्तरिक छलफलका लागि कांग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको सो पार्टीले जनाएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा दलहरू छलफलमा जुटेका हुन् ।