मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ति तामाङ काठमाडाैं
२०७९ असोज ११ मंगलबार ०६:४१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पुनर्निर्माणपछि होमस्टे बनेर उठ्दै छ पिलाछेँ

बस्तीमा लिच्छविकालीन परम्परागत वास्तुकला, रहनसहन र चाडपर्व देखिने

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ असोज ११ मंगलबार ०६:४१:००

सात वर्षअघिको भूकम्पले थिलथिलो भएको ललितपुर पाटनको पिलाछेँ बस्ती होमस्टे बनेर उठ्ने तरखरमा छ । भूकम्प गएको करिब १० महिनासम्म यो बस्ती काठको टेकोमा अडिएको थियो । तर। अब भने पुरानै शैली र स्वरूपमा उठ्ने तरखरमा छ ।

बस्तीका एक सय १० घरमध्ये भूकम्पपछि ८२ घर पूर्ण क्षतिग्रस्त भएका थिए । हाल ८२ घरमध्ये ४३ घर निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी घरहरू पनि पुनर्निर्माणका चरणमा छन् । ४३ घरमध्ये राजेश महर्जनको घर निर्माण भइसकेको छ । महर्जनका अनुसार उनको घर ०७४ सालमै निर्माण सम्पन्न भएको हो । ‘०७४ सालमै घर निर्माण सकेर बस्न थालेको हुँ । साढे दुई पैसामा बनेको चारतले घर निर्माणमा स्वमंसेवक, पुनर्निर्माण प्राधिकरण र माया फाउन्डेसनको सहयोग रह्यो,’ महर्जनले भने, ‘आफ्नै घरमा बस्न पाउँदा असाध्यै खुसी लागेको छ । अब आम्दानीको केही बाटो भए सजिलो हुन्थ्यो ।’ 

पाँच वर्षअघि नै घरको पुनर्निर्माण सकेका शुक्रराज शाक्य पनि महर्जनजत्तिकै खुसी छन् । भूकम्पपछि लामो समय चाकुपाटस्थित मामाघरमा बसेका उनको घर पनि ०७४ सालमै निर्माण सम्पन्न भएको हो । चारजनाको उनको परिवारलाई अब आम्दानीको स्रोतको खाँचो छ, जुन उनी आफ्नै घरलाई ‘होमस्टे’ बनाएर पूरा गर्न चाहन्छन् । ‘नयाँ घरमा त भर्खर–भर्खरै सरेको हो । खुसी लागेको छ । अब यहीँ केही गर्न पाए हुने,’ शाक्यले भने ।

पहिलो चरणमा १२ घरमा होमस्टे 
राजेश र शुक्रराजका जस्ता ४३ घर पिलाछेँमा उभिइसकेका छन् । त्यो पनि मौलिक शैलीमा । उनीहरूको जस्तै बाँकी ३९ घर पनि यसरी नै उभ्याउन लागि परेका पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धनका संयोजक अमित जोशीले बताए । ‘स्थानीयकै ढिलाइले पुनर्निर्माण ढिला भएको हो । हामीले त जसले घर बनाउँछन्, उसलाई सहयोग गर्ने हो । हाम्रो तर्फबाट गर्ने प्राविधिक काम गरिसकेका छौँ ।

हामीले पहिलो चरणको पुनर्निर्माण गरिसकेका छौँ । अब पर्यटन प्रवद्र्धन मात्रै बाँकी हो । यसका लागि पर्यटन बोर्ड र अरू संघ–संस्थासँग छलफल भइरहेको छ । पर्यटन प्रवद्र्धनका लागि चार–पाँचवटा त तालिम सञ्चालनसमेत गरिसकेका छौँ । पहिलो चरणमा होमस्टे निर्माणका लागि १२ घर तयार छन् । अब ती घरमा छिट्टै होमस्टे सुरु हुनेछ ।
 अमित जोशी, संयोजक, पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन

सबै स्थानीयलाई नक्सा बनाएर हस्तान्तरण गरिसकेका छौँ,’ जोशीले भने, ‘हामीले पहिलो चरणको पुनर्निर्माण गरिसकेका छौँ । अब पर्यटन प्रवद्र्धन मात्रै बाँकी हो । यसका लागि पर्यटन बोर्ड र अरू संघ–संस्थासँग छलफल भइरहेको छ । पर्यटन प्रवद्र्धनका लागि चार–पाँचवटा त तालिम सञ्चालनसमेत गरिसकेका छौँ ।’ उनका अनुसार पहिलो चरणमा होमस्टे निर्माणका लागि १२ घर तयार छन् । अब ती घरमा छिट्टै होमस्टे सुरु हुनेछ । पिलाछेँमा हालसम्म ४३ घर निर्माण सम्पन्न भएका छन् । चारवटा निर्माणको चरणमा छन् । तीनवटा सुरु गर्ने चरणमा छन् भने बाँकी घरको पनि नक्सा हस्तान्तरण भइसकेको छ ।  

परियोजनाका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेजीपछि सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको एक करोड रुपैयाँ सहयोगमा चोक सफा गर्ने, ब्लक राख्नेलगायतका काम भइरहेका छन् । प्राधिकरणले परियोजना शिलान्यास गर्दा नै पिलाछेँलाई पुरातात्विक अनुहार देखिने आधुनिक बस्तीका रूपमा विकास गर्ने निर्णय गरेको थियो । बस्ती निर्माणका लागि सिई सर्भिसेज प्रालिले आर्किटेक्चरल डिजाइन र सिई इन्जिनियरिङ सोलुसनले स्ट्रक्चरल डिजाइनको काम निःशुल्क ग¥यो । सार्वजनिक–निजी साझेदारी (पिपिपी)मा बस्ती पुनर्निर्माणका क्रममा विभिन्न समस्यासमेत देखिएको थियो । 

 पुनर्निर्माणपछि यस्तो हुनेछ पिलाछेँ 
पिलाछेँ अझै पनि लिच्छविकालीन परम्परागत वास्तुकला, रहनसहन र चाडपर्व रहेको बस्ती हो । ऐतिहासिक तथा पुरातात्विक महत्वको पिलाछेँ महर्जन बहुल बस्ती हो । गणेश मन्दिर, पिलाछेँ पोखरी, गुठीघरलगायत पुरातात्विक महत्वका स्थल हुन् । यहाँका स्थानीय अझै हाकुपटासी बनाउँछन् । मच्छिन्द्र जात्रा, भीमसेन जात्रा, बालकुमारी जात्रा, गठाःमुगा, देवालीलगायत सांस्कृतिक गतिविधिले बस्तीलाई जीवन्त बनाएको छ ।

भूकम्पले क्षतिग्रस्त यो क्षेत्रमा ६ वटा विभिन्न देवीदेवताका मन्दिर छन् । २७ रोपनी क्षेत्रफलमा फैलिएको गुइट दोमार (बालकुमारी चौर)मा परम्परागत वास्तुकला झल्किने संरचना प्रशस्तै छन् । कतिपय स्थानीय आफ्नै धोती, चोलो, कपडा बुनेर लगाउने गर्छन् । ढिकीमा धान, चामल, मकै, गहुँ आदि अन्न कुटेर खाँदै आइरहेका छन् । सुकुल बुन्ने, जुत्ता बुन्ने, टोपी बुन्ने काम पनि छाडेका छैनन् ।

काठ तथा धातुका हस्तकला निर्माण अझै हुँदै छ । खेती र निर्माणका काम स्थानीय आपसमा मिलेर सामूहिक रूपमा गर्छन् । अनगिन्ती सामाजिक विधि–व्यवहार र जात्रा मनाउँदै आएका यहाँका स्थानीय बालकुमारी माईको जात्रा वर्षको दुईपटक मनाउँछन् । ‘पिलाछेँ महत्वपूर्ण बस्ती हो । चिउरा कुट्ने, रक्सी पार्ने परम्परागत तरिका देखाएर पर्यटक आकर्षित गर्न सकिन्छ,’ स्थानीय मदन महर्जनले भने ।परम्परागत पोसाक सिलाउने प्रविधि र हस्तकलाको सीप जीवित रहेको यो ठाउँमा पुरानै वास्तुशैलीका घर निर्माण भए पर्यटकलाई ‘होमस्टे’मा आकर्षित गर्न सकिने उनले बताए । 

भूकम्पले पिलाछेँमा रहेका एक सय १० घरमध्ये ८२ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । भूकम्पपछि करिब १० महिनासम्म बस्ती काठको टेकोमा अडिएको थियो । सोही बस्तीलाई एकीकृत नमुना बस्ती बनाउने भन्दै तत्कालीन पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले सोही वर्षको २ माघमा भूकम्प दिवसको अवसरमा बस्ती शिलान्यास गरेका थिए । ८२ घर पुनर्निर्माणका लागि ४६ करोड लाग्ने अनुमान गरिएको छ । परियोजनाअन्तर्गत निर्माण गरिने घरहरूको छुट्टाछुट्टै नक्सा र निर्माण एवं पर्यटन प्रवद्र्धनमा लाग्ने लागतको हिसाब राखिनेछ । यसका लागि सहभागी घरधनीले २५, परियोजनाको २५, श्रमदानबाट २५ र वित्तीय संस्थाबाट २५ प्रतिशतको लागत लाग्नेछ ।