मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रा. लालानाथ सुवेदी
२०७९ असोज १० सोमबार १८:५९:००
Read Time : > 13 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

नेपाली बृहत् शब्दकोशको नवौँ र दसौँ संस्करणमा वर्णविन्यास प्रयोगको संक्षिप्त तुलना

Read Time : > 13 मिनेट
प्रा. लालानाथ सुवेदी
२०७९ असोज १० सोमबार १८:५९:००

पृष्ठभूमि 

नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा ज्ञान विज्ञानका विविध विषयक्षेत्रको अध्ययन अनुसन्धान गरी प्रवर्धन गर्ने उद्देश्यले २०१४ सालमा स्थापित नेपाल एकेडेमीले २०१९ सालमा  बालचन्द्र शर्माको सम्पादनमा 'नेपाली शब्दकोश' प्रकाशित गरेको थियो। उक्त संस्थाले 'रोयल नेपाल एकेडेमी'बाट 'नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान' नामकरण भएपछि २०४० सालमा 'नेपाली बृहत् शब्दकोश' प्रकाशित गर्यो। सामान्यत: १९९१ सालको 'नेकशुले' (नेपाली कसरी शुद्ध लेख्ने?) कै वर्णविन्यासका आधारमा २०१९ को नेपाली शब्दकोश प्रकाशित भएको थियो। नेपालमा शिक्षा, सञ्चार र विज्ञान प्रविधिको क्रमिक विकाससँगै ज्ञान विज्ञानका विविध विषयका माध्यमबाट नेपाली भाषामा नयाँ शब्दहरू भित्रिँदै गए।

'नेकशुले'को मानकले धान्न नसक्ने अर्थात् नवप्रवेशी शब्दहरूलाई समेट्न नसक्ने कुरा नेपाली भाषाका प्रयोक्ता विद्वान् विदुषीहरूलाई लाग्यो। विशेष गरी २०२९ सालमा नयाँ शिक्षा योजना लागू भएपछि त्रिवि पाठ्यक्रम विकास केन्द्रअन्तर्गतको 'अनिवार्य नेपाली विषय समिति'को आयोजनामा सञ्चालित 'त्रिविका नेपाली विषय शिक्षकहरूको राष्ट्रिय अधिवेशन २०३४' र त्यसपछि २०३९ सालसम्म भएका त्रिविका 'क्षेत्रीय गोष्ठीहरू'को निष्कर्षको कार्यान्वयन\प्रयोग गरिएकाले २०४० सालको 'नेपाली बृहत् शब्दकोश' कोसेढुंगो साबित भयो।

त्यही कोशको दसौँ संस्करणको प्रकाशकीयमा भनिएको छ : '२०५०, २०५२ र २०५५ मा यसको पुनर्मुद्रण भयो। २०५८ र २०६० मा यसमा आवश्यक संशोधन र परिवर्तन भई पाँचौँ र छैटौँ संस्करण प्रकाशित भए। यस क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठान ऐन २०६४ बमोजिम प्रज्ञा-प्रतिष्ठानको पुनर्गठन भएपछिको पहिलो प्राज्ञ परिषद् (२०६६-२०७०) ले यस कोशमा परेका प्रविष्टिका अर्थलाई परिवर्तित सन्दर्भमा अद्यावधिक गराई २०६७ मा सातौँ संस्करण प्रकाशित गर्यो। त्यसपछि २०६९ मा यसको पुनर्मुद्रण भयो। यसैगरी २०७२ मा नवौँ संस्करण प्रकाशित भयो। नवौँ संस्करण प्रकाशित भएपछि यसमा प्रयुक्त वर्णविन्यासका केही पक्षलाई लिएर जनस्तरबाट धेरै गुनासाहरू आए। २०७५ मा प्रकाशित दसौँ संस्करणमा ती गुनासाहरूलाई सम्बोधन गरिएको छ,' भनियो। यहाँ २०७२ र २०७५ का नवौँ र दसौँ संस्करणमा वर्णविन्यास प्रयोगको तात्त्विक अन्तर के रहेछ? त्यसको तुलना गर्ने प्रयास यस लेखमा गरिएको छ।

दसौँ संस्करणबारे

दसौँ संस्करणको प्रकाशकीयमा 'प्रस्तुत दसौँ संस्करण तयार गर्न प्राज्ञ परिषद्‌ले माननीय कुलपतिज्यूको संयोजकत्वमा गठित संशोधन समितिलाई अख्तियारी प्रदान गरेबमोजिम यो संस्करण तयार भएको छ। ....सर्वसाधारण पाठकहरू र विज्ञ प्रयोक्ताहरूको चासोलाई ध्यानमा राखेर दसौँ संस्करणको मस्यौदा तयार गरी छ महिनाअघि नै प्रतिष्ठानको वेबसाइटमा राखिएको थियो। उक्त मस्यौदा अध्ययन गरी विज्ञहरूले प्रतिष्ठानसमक्ष प्रस्तुत गरेका सुझाबहरूसमेतलाई समावेश गरी यो संस्करण तयार गरिएको छ,' भन्ने उल्लेख भएको छ। 

त्यसैगरी कुलपतिको मन्तव्यमा 'संशोधन र परिमार्जनकै क्रममा यस शब्दकोशको नवौँ संस्करणमा प्रयुक्त वर्णविन्यासका केही स्थापनाहरूलाई लिएर भाषाका प्रयोक्ताहरूबाट गुनासा र सुझाबहरू आएपछि ती गुनासा र सुझाबहरूको औचित्यलाई अध्ययन गरी तिनलाई सम्बोधन गर्ने सम्बन्धमा नेपाली बृहत् शब्दकोशका सबै संस्करण अध्ययन गरी सुझाब प्रस्तुत गर्न विद्यमान प्राज्ञ परिषद्ले  मिति २०७३\०५\३१ मा प्रा.डा. चूडामणि बन्धु संयोजक र प्रा.डा. नोबलकिशोर राई एवं डा. हेमनाथ पौडेल सदस्य रहेको एउटा विज्ञ समिति गठन गरेको थियो। सोही समितिले परिषद्समक्ष प्रस्तुत गरेको सुझाबलाई आधार बनाई प्राज्ञ परिषद्को मिति २०७३ कार्तिक ३० गतेको बैठक (नं. ०२६\०७३) ले विवादास्पद कुरालाई संशोधन गर्ने र शब्दकोशका सुरुका संस्करणमा प्रविष्टि पाएका तर पछिका संस्करणमा छुट्न गएका कतिपय प्रविष्टिहरू थप गर्ने निर्णय गर्यो' उल्लेख छ। 

सो निर्णयअनुसार संशोधन गर्न दसौँ संस्करणको संशोधन समितिमा संयोजक : गंगाप्रसाद उप्रेती (कुलपति) र सदस्यहरूमा प्रा. गोपीकृष्ण शर्मा, डा. तुलसीप्रसाद भट्टराई, डा. हेमनाथ पौडेल र डा. कर्णाखर खतिवडा रहेका थिए। उपर्युक्त पृष्ठभूमिमा यस लेखमा नवौँ र दसौँ संस्करणको संशोधन समितिको भनाइ प्रस्तुत गरी संक्षिप्त तुलना गरिएको छ।

नवौँ संस्करणको कोश संशोधन समितिको भनाइ 

२०७१ असोज ८ मा बसेको प्राज्ञ परिषद्को बैठकले प्रज्ञा प्रतिष्ठानका आगामी प्रकाशनहरूमा विगतमा गरेका नेपाली भाषासम्बन्धी अधिगोष्ठी (२०५७ र २०६७) का निर्णयहरू कार्यान्वयन गर्ने निर्णय गर्यो। उल्लिखित निर्णयअनुसार तपसीलका बुँदामा ध्यान दिई यो संस्करण प्रकाशित गरिएको छ:

विगतमा क्षतिपूरक सम्झेर दीर्घ लेख्ने गरिएका शब्दहरू (मीठो, पीठो, तीतो आदि) लाई २०६७ को संस्करणदेखि मुख्य प्रविष्टिमा ह्रस्व लेखिए पनि अर्थ लेखनमा भने दीर्घ नै देखिएकाले समायोजन गरी प्रविष्टिअनुसार ह्रस्व कायम गरिएको। यस्तै, शिष्ट प्रचलन भनी तत्सम (संस्कृत) शब्दको सादृश्यको अनुकरणमा लेखिएका केही शब्द (कीट = कीरो, पीडक = पीरो, धूलि = धूलो आदि) लाई पनि तद्भभव नियमअनुसार ह्रस्व गरिएको।

सङ्ख्यावाचक शब्दको अगाडि र बिचमा ह्रस्व कायम गरिएको।

आगन्तुक शब्दहरूलाई सामान्यत: तद्भभव नियमअनुसार अगाडि र बिचमा ह्रस्व, श\ष\समध्ये स मात्र, पञ्चम वर्णमध्ये 'ङ्, न्, म्' को प्रयोग गरिएको र त्यस्तै आगन्तुक शब्दमा 'ऋ, क्ष, ज्ञ' को प्रयोग नगरिएको।

प्रयोक्ताहरूलाई शब्द खोज्न केही सुगम होस् भन्ने दृष्टिले उल्लिखित कतिपय शब्दहरूको ह्रस्वता र दीर्घता वा अन्य स्थितिमा वैकल्पिक प्रयोगसमेत दिइएको।

संयुक्त क्रियाका सबै कृदन्त अंशहरू (कृदन्तका घटक) लाई पदवियोग गरेर लेखिएको।

विभक्ति सरहका अर्थात् दुई लिपि चिह्नमा लेखिने नामयोगीलाई एउटै डिकोमा र सोभन्दा लामा नामयोगीलाई अलग डिकोमा लेखिएको।

शब्दमा द्वित्व भएका निरर्थक अंश (आलोपालो, अगलबगल, मरमसला आदि) लाई एउटै डिकोमा र सार्थक द्‌वित्व भएका शब्द (जो जो, को को, मिठो मिठो, फरक फरक आदि) लाई भने अलग डिकोमा लेखिएको।

समस्त शब्दका हकमा नेबृश २०४० को प्रथम संस्करणदेखि नै प्रविष्टि र उपप्रविष्टिको निर्धारणका क्रममा पदयोग जनाउन योजक चिह्न (-) र पद वियोग जनाउन बक्र चिह्न (~) प्रयोगमा आएको देखिन्छ। समास भएर बनेका लामा शब्दहरूका घटक तथा विशेषण विशेष्य संरचनाका घटकलाई अलग अलग डिकोमा लेख्ने प्रचलनलाई यस कोशले पहिलेदेखि नै मान्यता दिएको र हाल शैक्षिक संस्थाहरूले पनि यसलाई प्रचलनमा ल्याएको सन्दर्भसमेतलाई ख्याल गरी लामा समस्त शब्दहरूका घटक (अन्यत्र स्वतन्त्र अर्थमा प्रयोग हुन सक्ने)लाई पद वियोगमा लेख्ने प्रावधानलाई अनुसरण गरिएको।

संयुक्त व्यञ्जनलाई यथासम्भव प्रस्ट छुट्‌टिने गरी हलन्त व्यञ्जनमा (विद्या = विद्या, बुद्धि = बुद्‌धि आदिमा) लेखिएको र यस्ता कतिपय शब्दहरूमा वैकल्पिक प्रविष्टिसमेत दिइएको।

विसं. २०७२ असारमा प्रकाशित नवौँ संस्करणमा कुलपति गंगाप्रसाद उप्रेतीको मन्तव्य, उपकुलपति विष्णुविभु घिमिरेको प्रकाशकीय रहेको यस संस्करणको कोश संशोधन समितिमा प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा.जीवेन्द्रदेव गिरी, प्रा.डा.बद्रीविशाल भट्टराई र सहप्रा.हेमनाथ पौडेल रहेका थिए।

दसौँ संस्करणको संशोधन समितिको भनाइ 

'नेपाली बृहत् शब्दकोशमा भएका पछिल्ला संशोधनका सम्बन्धमा आएका सुझाब र २०७२ को संस्करणमा प्रयुक्त वर्ण विन्यासका केही पक्षमा भएका गुनासा र सुझाबलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद्को मिति २०७३ कार्तिक १० गतेको निर्णयबमोजिम यो दसौँ संस्करण तयार गरिएको हो। यस संस्करणमा निम्नलिखित कुरालाई अवलम्बन गरिएको छ :

संयुक्त वर्णको प्रयोग

संयुक्त व्यञ्जन वर्ण विशेष गरी 'द्' वर्णसँग जोडिएर आउने शब्दमा संयुक्ताक्षर (विद्या, बुद्ध, युद्ध, द्वन्द्व, द्वित्व, द्विवचन आदि) लाई नै प्रविष्टि दिइएको छ। अन्य संयुक्त व्यञ्जन जोडिएर बनेका शब्दको प्रविष्टिमा नेबृश २०४० बाटै हुँदै आएको प्रयोग (अङ्क, अङ्ग, शङ्ख, मङ्गल, गन्हाउनु, ब्राह्मण, प्रह्लाद, चिह्न, तत्त्व, शक्ति आदि)लाई कायम राखिएको छ।

क् र त् मिलेर बनेको संयुक्त ख वर्णलाई भने वैकल्पिक (शक्ति ह, शक्तिै) रूपमा प्रविष्टि दिइएको छ।

पदयोग र पद वियोग

रूढ भइसकेका एकार्थी स्थान नाम, बार नाम, संस्था र व्यक्तिका नामलाई पदयोग गरेर (भक्तपुर, ललितपुर, विराटनगर, आइतबार, सोमबार, विश्वविद्यालय, विद्यावारिधि, लक्ष्मीप्रसाद, लेखनाथ आदि) लेखिएको छ तर व्यक्तिनाम व्यक्तिको पहिचानसँग जोडिएकाले व्यक्तिले स्वेच्छाले छुट्याएर लेखेमा (कृष्ण बहादुर, जगदीश प्रसाद आदि) पनि अन्यथा नमान्ने नीति लिइएको छ।

सबै नामयोगीलाई पूर्वप्रचलनअनुसार मूल शब्दसँग योग गरेर (टेबलमाथि, घरबाहिर, रामसित, पूर्वतर्फ, भनेबमोजिम आदि) लेखिएको छ। पूर्ण द्वित्व शब्दलाई अलग्गै डिकोमा (खान्छ खान्छ, विद्यालय विद्यालय, घर घर, जो जो आदि) र आंशिक तथा आपरिवर्तित द्वित्व शब्दलाई भने एउटै डिकोमा (भातसात, मरमसला, आआफ्नो, ससाना आदि) लेखिएको छ। संयुक्ता क्रियालाई जोडेर (खानुपर्छ, खाइहाल्छ, खाइजान्छ, मिलाइदिन्छ आदि) लेखिएको छ तर पूर्व कालिक (खाई जान्छ - खाएर जान्छ), उत्तर कालिक क्रिया (खान जान्छ - खानका लागि जान्छ), एवं पूर्ण पक्ष (भनेको छ), अपूर्ण पक्ष (भन्दै छ) र सामान्य भविष्यत् (भन्ने छ) पक्षका क्रियालाई छुट्याएर लेखिएको छ।

विशेषण विशेष्य युक्ति शब्दलाई नेबृश २०४० देखि नै पदवियोग गरिएको छ (अकासे खेती, कान्छो बाबु, कालो कोट, माइला दाइ, सानो भाइ, ठुली आमा आदि) परम्परालाई कायम गरिएको छ तर दुई शब्द मिली एकार्थी भएका समस्त शब्द तथा विकार भएका शब्दलाई पदयोग गरेर (शुभयात्रा, प्रधानमन्त्री, कालीमाटी, रातीगेडी, माल्दाइ, सान्दाइ, ठुल्यामा आदि) लेखिएको छ।

समास भएर बनेका लामा शब्दहरूका घटक (प्रधान न्यायाधीश, मदन पुरस्कार, सरस्वती सम्मान, उच्च सतर्कता केन्द्र, नेपाल सरकार, संस्कार सुधार, नेपाली समालोचना, अध्ययन प्रतिवेदन आदि) तथा विशेषण विशेष्य संरचनाका घटक (तेह्रथुमे केटो, सानो भाइ, माथिल्लो घर, साउने पानी आदि) लाई अलग डिकोमा लेखिएको छ भने दुई शब्दका लघु समासयुक्त शब्द (शिक्षामन्त्री, केटाकेटी, दालभात, बाख्रापालन, घरबाहिर आदि) लाई एउटै डिकोमा लेखिएको छ।

ह्रस्वदीर्घको प्रयोग

पहिचानसँग जोडिएका जात, थर बुझाउने सबै शब्दका अन्तिम इकार र उकार पूर्व प्रचलनअनुसार (कामी, दमाईं, लिम्बू, राई आदि) लेखिएको छ भने समुदायले प्रचलनमा ल्याएका सायमि, यमि जस्ता प्रयोगलाई ह्रस्व लेखिएको छ। विशेषणबोधक शब्दका अन्त्यमा आउने इकारलाई प्रचलनअनुसार (रोगी, भोगी आदि) र उकारलाई ह्रस्व (इखालु, विषालु, सिकारु आदि) लेखिएको छ।

तीनबाहेक संख्यावाचक सबै शब्दका आदि र मध्यमा (बिस, तिस, बत्तिस, चालिस आदि) ह्रस्व लेखिएको छ। क्षतिपूर्ति दीर्घीभवन भनी दीर्घ (मीठो, दूध, मीत, तीतो आदि) लेखिँदै आएका सबै शब्दलाई शब्दकोशमा प्रविष्टि दिई हे. (हेर्नू) गरी प्रयोगका लागि ह्रस्वीकरण (मिठो, दुध, मित, तितो) तर्फ निर्देश गरिएको छ।

श्रुतिसम भिन्नार्थी (फूल\फुल, तीन\तिन, पूरा\पुरा, जून\जुन जस्ता) शब्दलाई अलग प्रविष्टि र अर्थलेखन गरी राखिएको छ।

तद्भव र आगन्तुक शब्दका आदि र मध्यमा (पिठो, तितो, स्कुल, सिकार, एसिया, सहिद आदि) कायम गरिएको छ।

विध्यर्थक क्रियाका बिचमा ह्रस्व र अन्त्यमा दीर्घ (जाउन्, हिँडुन्, जाऊ, खानू आदि) लेखिएको छ।

वचनबोधक 'हरू' सर्गलाई दीर्घ लेखिएको छ।

श, ष र स को प्रयोग

'श, ष, स'को प्रयोग अघिल्ला संस्करणबमोजिम नै गरिएको छ तर पहिचान खुल्ने जाति, थर बुझाउन आउने 'श'लाई सम्बन्धित समुदायले प्रयोगमा ल्याएका प्रचलनअनुसार (शेर्पा, शाह, शाही, शेरचन, जोशी आदि) नै लेखिएको छ।

सबै आगन्तुक शब्दमा पूर्व प्रचलनअनुसार 'स' मात्र लेखिएको छ तर पहिले प्रयोग भएका शहीद, शहर जस्ता शब्दलाई भने प्रविष्टि दिई हे. गरेर प्रयोगका लागि सहिद, सहरतर्फ निर्देश गरिएको छ।

प्रविष्टिका सम्बन्धमा 

सबै उपप्रविष्टिलाई मूल प्रविष्टिमा स्थानान्तर गरिएको छ। 

नेबृश २०४० को संस्करणमा प्रविष्टि पाएका तर त्यसपछिका संस्करणमा छुटेका आगन्तुक शब्द (कानून, गरीब, शहर आदि) लाई यस संस्करणमा प्रविष्टि दिई हे. गरी ह्रस्व कानुन, गरिब, सहरतर्फ प्रयोगका लागि निर्देश गरिएको छ।

अन्त्यमा वेबसाइटमा राखिएको शब्दकोशको मस्यौदा पढी कमीकमजोरी औँल्याई प्रस्तुत संस्करणलाई परिमार्जन गर्नका निम्ति आफ्ना सुझाब दिनुहुने शब्दकोशका प्रयोक्ता सबै महानुभावप्रति संशोधन समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ। 

विसं. २०७५ असारमा प्रकाशित दसौँ संस्करणमा कुलपति गंगाप्रसाद उप्रेतीको मन्तव्य, उपकुलपति विष्णुविभु घिमिरेको प्रकाशकीय रहेको सो संस्करणको कोश संशोधन समितिमा कुलपति गंगाप्रसाद उप्रेती (संयोजक), प्रा. गोपीकृष्ण शर्मा, डा.तुलसीप्रसाद भट्ट‍राई, डा.हेमनाथ पौडेल र डा.कर्णाखर खतिवडा सदस्य रहेका थिए।

दुवै संस्करणका संशोधन समितिका भनाइको तुलना 

नवौँ संस्करणको संशोधन समितिले संशोधनसम्बन्धी आफ्नो भनाइ बुँदागत रूपमा १० बुँदामा प्रस्तुत गरेको छ भने दसौँ संस्करणको संशोधन समितिले संशोधनसम्बन्धी आफ्नो भनाइ ५ बुँदामा प्रस्तुत गरेको छ। नवौँ संस्करणको अन्तिम बुँदामा उल्लेख गरिएको संयुक्त व्यञ्जनको कुरा दसौँमा १ नं. बुँदामा नै राखिएको छ।  पाँच बुँदाअन्तर्गतको भनाइमा बुँदा १. 'संयुक्त वर्णको प्रयोग'अन्तर्गत ३. उपबुँदा, २. 'पदयोग र पद वियोग'अन्तर्गत ६ उपबुँदा, ३. 'ह्रस्वदीर्घको प्रयोग'अन्तर्गत ८ उपबुँदा, ४. 'श,ष,स'को प्रयोग'अन्तर्गत २ उपबुँदा र ५. प्रविष्टिका सम्बन्धमा'अन्तर्गत २ उपबुँदा रहेका छन्।

नवौँ संस्करणको त्रुटि सच्याउन दसौँ संस्करण आएकाले नवौँ संस्करणका १० बुँदामा के के संशोधन भयो ? यहाँ त्यसलाई हेर्ने प्रयास गरिएको छ। नवौँ संस्करणको बुँदा १.को क्षतिपूरक सम्झिएर दीर्घ लेखिएका शब्दहरूलाई ह्रस्व गरेको कुरालाई दसौँ संस्करणको ३. (घ) अनुसार स्वीकार गरेको देखियो। तर ३.(ङ) मा श्रुतिसम भिन्नार्थीका नाममा फूल\फुल, तीन\तिन,पूरा\पुरा, जून\जुन आदि शब्द चाहिँ अलग अलग प्रविष्टि दिएको जानकारी पाइयो।

नवौँ संस्करणको बुँदा २. को शिष्ट प्रचलन भनी संस्कृत शब्दको सादृश्यको अनुकरण गरेर दीर्घ लेखिएका कीरो, पीरो आदि शब्दलाई ह्रस्व गरेको विषय दसौँ संस्करणको संशोधन समिति मौन रहेको देखिए पनि कोशभित्र त्यसलाई निरन्तरता दिएको भेटियो।

नवौँ संस्करणको बुँदा ३. सङ्ख्यावाचक शब्दका अगाडि र बिचमा (इकार) ह्रस्व गरिएकोमा दसौँ संस्करणको ३. (ग) मा 'तीन'बाहेक अरू शब्दमा नवौँ संस्करणअनुसार नै गरेको उल्लेख पाइयो।

नवौँ संस्करणको बुँदा ४. को आगन्तुक शब्द तद्भव नियमअनुसार अगाडि र बिचमा ह्रस्व, 'श, ष, स'मध्ये 'स' मात्र लेख्ने र पञ्चम वर्णमध्ये 'ङ्, न्, म्'को प्रयोगलाई दसौँ संस्करणको ३. (च) तथा ४. (क) र (ख) ले स्वीकार गरेको पाइयो। पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने शेर्पा, शाह, शाही, शेरचन, जोशी आदिमा नवौँ संस्करणअनुसार 'श' नै लेखेको पाइयो। तत्सम शब्दको पञ्चम वर्णको कुरा कुनै बुँदामा उल्लेख नभए पनि दसौँ संस्करणभित्रको प्रयोगले त्यसलाई पनि पुष्टि गरेको भेटियो।

नवौँ संस्करणको बुँदा ५. मा 'प्रयोक्ताहरूलाई शब्द खोज्न केही सुगम होस् भन्ने दृष्टिले उल्लिखित कतिपय शब्दहरूको ह्रस्वता र दीर्घता वा अन्य स्थितिमा वैकल्पिक प्रयोगसमेत दिइएको' भनिएकोमा ('खून, खूब, डीन, डीङ, तीन, तीखो, तीज, दूध, दून, नीम, नीद, नीलो, दूबो, पीँध, पीपल, पीठो, पीप, मीठो, मीत, मीर, मील, मूली' आदि) दसौँमा पनि त्यसैको निरन्तरता पाइयो। बुँदा ५. (ख) मा नवौँको प्रविष्टिमा नदिइएका 'कानून, गरीब', शहर, शहीद आदि केही शब्द दसौँको प्रविष्टिमा परेको पनि देखियो। 

नवौँ संस्करणको बुँदा ६. मा संयुक्त क्रियाका सबै कृदन्त अंशहरू (कृदन्तका घटक) पद वियोग गरेर लेखिएको भनिएकोमा दसौँ संस्करणको २.(घ) मा पूर्व कालीक खाई जान्छ (खाएर जान्छ), उत्तर कालीक खान जान्छ (खानका निम्ति जान्छ), पूर्ण पक्ष (भनेको छ), अपूर्ण पक्ष (भन्दै छ) र सामान्य भविष्यत् (भन्ने छ) लाई वियोग गर्ने र खानुपर्छ, खाइहाल्छ आदि चाहिँ जोडेर लेख्ने निर्देश भेटियो।

नवौँ संस्करणको बुँदा ७. मा विभक्तिसरहका अर्थात् दुई लिपि चिह्नमा लेखिने नामयोगीलाई एउटै डिकोमा र सोभन्दा लामा नामयोगीलाई अलग डिकोमा लेखिएकोमा दसौँ संस्करणको २. (ख) मा सबै नामयोगीलाई पदयोग गरेर लेखिएको पाइयो।

नवौँ संस्करणको बुँदा ८. मा शब्दमा द्वित्व भएका निरर्थक अंशलाई एउटै डिकोमा र सार्थक द्वित्व भएका शब्दलाई अलग डिकोमा लेखिएको भनिएकोमा दसौँ संस्करणको २. (ग) ले सोहीअनुसार गरेको कुरा स्पष्ट गर्‍याे।

नवौँ संस्करणको बुँदा ९. मा 'समास भएर बनेका लामा शब्दहरूका घटक तथा विशेषण विशेष्य संरचनाका घटकलाई अलग डिकोमा लेख्नेव प्रचलनलाई यस कोशले पहिलेदेखि नै मान्यता दिएको र हाल शैक्षिक संस्थाहरूले पनि यसलाई प्रचलनमा ल्याएको सन्दर्भसमेतलाई ख्याल गरी लामा समस्त शब्दहरूका घटक (अन्यत्र स्वतन्त्र अर्थमा प्रयोग हुन सक्ने) लाई पद वियोगमा लेखिने प्रावधानलाई अनुसरण गरिएको' भन्ने उल्लेख भएकोमा दसौँ संस्करणको संशोधन समितिको भनाइमा २. (च) पनि 'लामा घटक छुट्याएको, विशेषण विशेष्य संरचनाका घटक छुट्याएको र दुई शब्दका लघु समासयुक्त शिक्षामन्त्री, दालभात, केटाकेटी आदिलाई एउटै डिकोमा लेखिएको छ,' भन्ने उल्लेख छ।

साथै, दसौँको बुँदा २. (क) मा उल्लिखित धारणालाई खण्डित गरी 'रूढ भइसकेका स्थान नाम, बार नाम, संस्था र व्यक्तिका नामलाई पदयोग गरेर ललितपुर, विराटनगर, आइतबार, विश्वविद्यालय, लक्ष्मीप्रसाद, लेखनाथ आदि लेखिएको छ तर व्यक्ति नाम व्यक्तिको पहिचानसँग जोडिएकाले कृष्ण बहादुर, जगदीश प्रसाद आदि लाई पनि अन्यथा नमान्ने नीति लिइएको छ।' भनेर केही शब्दलाई लिएर फरक गर्न खोजिएकोजस्तो देखिए पनि तात्त्विक रूपमा फरक पाइएन।

नवौँ संस्करणको बुँदा १०. मा 'संयुक्त व्यञ्‍जनलाई यथासम्भव प्रस्ट छुट्‌टिने गरी हलन्त व्यञ्जनमा - विद्या = विद्याइ, बुद्धि = बुद्‌धि आदि लेखिएको र यस्ता कतिपय शब्दहरूमा वैकल्पिक प्रविष्टिसमेत दिइएको' भन्ने उल्लेख भएकोमा दसौँ संस्करणको भनाइ १. (क) मा विशेष गरी 'द्' वर्णसँग जोडिएर आउने संयुक्ताक्षर विद्या, बुद्ध, युद्ध, द्वन्द्व, द्वित्व, द्विवचन आदिलाई नै प्रविष्टि दिइएको छ भन्ने उल्लेख छ। नवौँ संस्करणमा बुद्ध \ बुद्‌ध, विद्या\विद्या आदि गरेर दुवै प्रकृतिलाई प्रस्तुत गरिएको थियो। दसौँको प्रस्तुतिमा दोस्रो प्रकृतिलाई हटाएको पाइयो। दसौँको १.(ग) मा क् र त् मिलेर बनेको संयुक्त वर्णलाई भने शक्ति\शक्ति दुवैलाई वैकल्पिक रूपमा प्रविष्टि दिइएको छ,' भनिए पनि कोशभित्र शक्त, शक्ति्, भक्त \ भक्ति, भक्तालु, भक्तिष, भक्तेनी आदि गरेर गाजेमाजे पारेको देखियो।

तुलनात्मक विश्लेषण

(अ) नवौँ संस्करणको संशोधन समितिको भनाइका बुँदाहरू सामान्यत: स्पष्ट(अपवाद\अन्योलरहित) देखिन्छन्। दसौँ संस्करणको संशोधन समितिको भनाइका केही बुँदाहरू भ्रमात्मक र अपवाद थप्ने प्रकृतिका पनि देखिएका छन्। कतिपय बुँदामा शब्दकोशमा प्रविष्टि नै नभएका शब्दका बारेमा यस्तो लेखिएको छ भनेर किटानी जानकारी दिइएको छ। बुँदा ३. ह्रस्वदीर्घको प्रयोगअन्तर्गतका (क) मा 'सायमि, यमि' र (छ) मा 'जाउन्, हिँडुन्, जाऊ, खानू' शब्दकोशको प्रविष्टिमा नै छैनन् तर ह्रस्व वा दीर्घ लेखिएको छ भन्ने उल्लेख भेटिन्छ। 

(आ) सबै नामयोगी शब्दहरू मूल शब्दसँग जोडेर लेख्ने र विशेष गरी 'द्'सँग जोडिएर आउने संयुक्ता्क्षरमा विद्या, बुद्ध, युद्ध, द्वन्द्व, द्वित्व, द्विवचन आदिलाई प्रविष्टि दिएको भनिएका दुई बुँदा नवौँ संस्करणविपरीत रहेका छन्। अन्य बुँदाहरूमध्ये केहीमा थोरै थोरै अपवाद थपिएकाले करिब ९८ प्रतिशत नवौँ संस्करणअनुसार नै छन्। अपवाद न्यूनीकरण गर्ने र सरल बनाउने अभियानमा लागेको प्रज्ञा प्रतिष्ठानले केही शब्दलाई काखी च्यापेर अपवाद थपेको पाइएको छ। 

(इ) ह्रस्वदीर्घको अपवादबारे

दसौँ संस्करणको बुँदा ३.(क) मा जात र थर बुझाउने इकारान्त शब्द दीर्घ लेख्ने परम्परा र उकारान्त शब्द ह्रस्व लेख्ने प्रचलन बढ्दै गएको परिप्रेक्ष्यमा 'सायमि, यमि' ह्रस्व लेख्नुपर्ने भएको छ भने उकारान्त शब्द दीर्घ लेख्नुपर्ने भएको छ। यस बुँदामा उकारान्तको उदाहरणमा 'लिम्बू' एउटा शब्द मात्र दिइएको छ। तर, कोशभित्रको प्रयोग हेर्दा 'लिम्बू, पनेरू, कुलू' दीर्घ र 'ज्यापु, थारु, गुभाजु, हिन्दु' शब्द ह्रस्व पाइएका छन्। आफैँले बनाएको नियमको पालना आफ्नै प्रकाशनको कोशभित्र नहुँदा के ठिक र के बेठिक हो ? छुट्याउन कठिन भएको छ।  

त्यसैगरी बुँदा ३.(ग) मा 'तीन'बाहेकका संख्यावाचक शब्दका आदि र मध्यमा ह्रस्व लेख्ने भनिएको छ। सोही प्रकृतिको 'तीन' चाहिँ किन दीर्घ लेख्ने? कुनै स्पष्टीकरण देखिँदैन। यसले अपवाद थप्ने काम मात्र भएको छ। ३. (ग) मा क्षतिपूर्ति दीर्घीभवन भनिएका सबै शब्दलाई शब्दकोशमा दीर्घमा प्रविष्टि दिई 'हेर्नू' भनेर  ह्रस्व प्रयोगमा निर्देश गरिएकोमा त्यही प्रकृतिका 'फूल\फुल, तीन \ तिन, पूरा \ पुरा, जून\जुन' गरी जम्मा चार जोडी शब्दलाई श्रुतिसम भिन्नार्थीका नाममा ह्रस्वदीर्घ दुवैमा प्रविष्टि दिइएको कुरा उल्लेख छ। 'जून\जुन, फूल\फुल, तीन\तिन, पूरा\पुरा' शब्दजोडीको उच्चारण उस्तै हुन्छ। यी उस्तै वा एउटै उच्चारण हुने अनेकार्थी शब्द हुन्। उस्तै वा एउटै उच्चारण हुने अनेकार्थी शब्द ताल, माल, जाल, कुरो, जुरो, सार, बार, चिनी आदि जस्तै यी शब्दले पनि प्रयोग सन्दर्भअनुसार फरक फरक अर्थको द्योतन गर्दछन्। भाषा वैज्ञानिक दृष्टिले 'श्रुतिसम भिन्नार्थी' कुनै आधार पनि होइन। शब्दको उच्चारणमा ख्याल गर्नुपर्छ, अन्यथा अर्थ फरक पर्छ भनेर नेपाली भाषाको राम्ररी अध्ययन भइनसकेको समयमा सुरु सुरुका नेपाली व्याकरणकारहरूले बुद्धि विलासका लागि उब्जाएको विषय हो यो। प्रत्येक शब्दको ठिक ठिक उच्चारण र प्रयोग सिकाएपछि नेपाली व्याकरणमा यस पदावलीको औचित्य नै सकिन्छ। होइन, राखौँ भन्ने हो पनि माथि उदाहरण दिइएका शब्दहरू श्रुतिसम भिन्नार्थीबाट झिक्नुपर्ने शब्द हुन्। 

त्यसैगरी 'र'मा उकारको मात्रा अर्को समस्या छ नेपालीमा। अरू वर्णमा जस्तो उकारको मात्रा लगाउन मिल्दैन। नेपालमा कम्प्युटरको प्रयोग सुरु भएपछि बनेका विभिन्न नेपाली फन्टहरूले यसमा समस्या थपेका छन्। एउटा फन्टको ह्रस्व 'रु' अर्को फन्टको दीर्घ 'रू' जस्तो देखिन्छ। त्यसैले नेपाली सर्वनाम 'अरू' र तत्सम शब्दबाहेक प्रयोक्ताहरूले वचनबोधक 'हरु' समेतको 'रु' ह्रस्व चलाउने गरेका तथा तत्सममा केही अपवादबाहेक र तद्भव नेपाली शब्दमा उकार ह्रस्व लेख्ने परम्परागत सन्दर्भमा विज्ञहरूले 'हरू' ह्रस्व लेख्ने प्रस्ताव गरेका हुन्। तर, दसौँ संस्करणमा 'हरु' दीर्घ लेख्नुपर्ने निर्देशनले उही अन्योललाई पुनर्स्थापित गरेको छ। 

(ई) पदयोग पद वियोगबारे

दसौँ संस्करणको बुँदा २. पदयोग र पद वियोगअन्तर्गत (ङ)को पहिलो वाक्यमा उल्लिखित विशेषण विशेष्यको प्रकृतिका 'शुभ यात्रा' र 'प्रधान मन्त्री' शब्दलाई दुई शब्द मिली एकार्थी भएका भनेर पदयोग गरेर समस्त शब्दको समूहमा राखिएको छ। उही विशेषण विशेष्य कहीँ जोड्ने र कहीँ छुट्याउने निर्देशनले अन्योल बढाएको छ। 

दसौँ संस्करणमा संयुक्त क्रियाका कृदन्त घटकमध्ये कुनैलाई जोड्ने र कुनैलाई छुट्याउने कुरा गरिएको छ। त्यसले पनि अलमल र भ्रम नै सिर्जना गरेको छ।
प्रयोक्ताहरूले विभक्तिवत् प्रयोग हुने छोटो आकारका नामयोगी शब्दबाहेक लामो आकारका स्वतन्त्र अर्थ प्रदान गर्ने नामयोगी शब्दहरू अलग डिकामा लेख्ने व्यापक प्रचलनका परिप्रेक्ष्यमा सबै 'नामयोगी शब्दहरू पूर्वप्रचलनअनुसार मूल शब्दसँग जोडेर लेखिएको छ' भनेकाले नेपाली भाषा सिक्ने सिकारु बालबालिकाहरू र दोस्रो भाषाका रूपमा नेपाली भाषा प्रयोक्ताहरूका लागि संस्कृतको समास शैलीका शब्दहरूको पठन दुरुह भएको छ । मरमसलालगायत, बालबालिकाहरूसमेत, अह्राएसिकाएबमोजिम, पाठ्यपुस्तकअनुसार, आवश्यकताअनुरूप, स्वस्थ्यकर्मीबाहेक,मूल्यमान्यताअनुकूल, सगरमाथाअगाडि, बन्धुबान्धवसरह, प्रधानमन्त्रीसमक्ष, निर्देशनमुताबिक, महाविद्यालयअन्तर्गत, विश्वविद्यालयपछाडि, कानुनप्रतिकूल, छात्रछात्राहरूमार्फत, जीवनपर्यन्त, साथीभाइउपर आदि पदावलीको उच्चारण र पठन बालबालिका र दोस्रो भाषाका रूपमा नेपाली भाषा प्रयोग गर्नेहरुका लागि कति कठिन होला? अनुमान गर्न सकिन्छ। माथिका शब्दमा प्रयुक्त नामयोगी भनिने शब्दहरू अलग डिकामा लेख्दा अर्थमा कुनै फरक पर्ने देखिँदैन। त्यसैगरी उपबुँदा (च) मा समस्त शब्दमा 'नेपाल सरकार, संस्कार सुधार' अलग डिकामा लेख्ने भनिएको छ र त्यही बुँदामा 'बाख्रापालन, घरबाहिर' चाहिँ एउटै डिकामा लेख्ने भनिएको छ। यसरी उस्तै प्रकृतिका कुनै शब्द पद वियोग र कुनै शब्द पदयोग गर्ने निर्देशन आफैँमा अस्पष्ट र भ्रमपूर्ण देखिन्छ।

(उ) संयुक्त वर्णबारे 

नेपाली भाषामा संयुक्त वर्णमा प्रयोग हुने लिपि चिह्न दुई प्रकारका  छन् : आधारभूत लिपि चिह्न् र विशेष लिपि चिह्न्। विशेष गरी 'द', 'क', 'त', 'र', 'श' 'ह' आदि वर्णहरू अन्य विभिन्न वर्णसँग संयुक्त हुँदा दुई प्रकारका लिपि चिह्नहरू प्रयोग हुन्छन्। आधारभूत लिपि चिह्नसँग संयुक्त' हुँदा वर्णहरू अनुमेय हुन्छन् र उच्चारणमा कठिनाइ हुँदैन ; जस्तै : उद्‌देश्य, गद्दीर, विद्यान, उद्योग, उद्यान, बुद्‌ध, उद्‌भव, जीर्णोद्धार, उद्‌धरण, उद्‌घाटन, पद्‌म, हुलाकद्वारा, शक्ति , तत्त्वस, र्‌याल, चिह्न, प्रह्लाद, विश्वास आदि। यिनै वर्णलाई विशेष लिपि चिह्नसँग संयुक्त‌ गरियो भने कुन कुन वर्णको संयुक्तता हो भनेर अनुमान लगाउन सकिँदैन र उच्चारणमा कठिनाइ हुन्छ ; जस्तै : उद्देश्य, गद्दी, विद्या, उद्योग, उद्यान,  बुद्ध, उद्भव, जीर्णोद्धार, उद्धरण, उद्घाटन, पद्म, द्वन्द्व, हुलाकद्वारा, शक्ति, तत्त्व, र्याजल, चिह्न, प्रह्लाद, विश्वास आदि। माथि उदाहरणमा दिइएका आधारभूत लिपि चिह्न र विशेष लिपि चिह्न प्रयोग भएका शब्दहरू नेपाली भाषी जोकोहीलाई उच्चारण गर्न लगाइयो भने आधारभूत लिपि चिह्न प्रयोग भएका शब्दहरू सजिलै उच्चारण गर्ने गरेको र विशेष लिपि चिह्न प्रयोग भएका शब्दहरूको ठिक ठिक उच्चारण गर्न सकेको पाइँदैन। यस भनाइलाई आफूवरपरका दशबिसजनामा प्रयोग गरेर हेर्न पनि सकिन्छ।

शब्दकोश भनेको भाषा सिकाइको सहायक सामग्री हो। यसलाई विभिन्न तहका सिकारुले प्रयोग गर्छन्। यस्तो सबैखाले मानिसले प्रयोग गर्ने साझा सामग्री शब्दकोशमा 'द्' वर्णसँग जोडिएर आउने संयुक्ताक्षरमा विशेष लिपि चिह्नलाई प्रविष्टि दिएको छ भन्नु न्यायसंगत देखिँदैन।

अन्त्यमा

प्रारम्भमा कोश संशोधनसम्बन्धी भनाइ एउटा रहने र भित्र प्रविष्टिमा अर्को नहुने गरी विज्ञहरूको परामर्शमा संस्थाले गरेका पूर्वनिर्णय कार्यान्वयन गरेर अपवादरहित अविलम्ब एघारौँ शुद्ध संस्करण प्रकाशन गर्नु प्रज्ञा प्रतिष्ठानको दायित्व हो। त्यसैले, माथि उल्लेख भएका त्रुटिहरू सच्याएर एघारौँ संस्करण प्रकाशन गर्न ढिलो गर्नुहुँदैन। त्यसका लागि प्रतिष्ठानको भण्डारमा कोश सकिएपछि प्रकाशनका लागि समिति बनाउने गलत परम्पराको अन्त गरी प्रतिष्ठानमा नेपाली बृहत् शब्दकोश संशोधन शाखा राखेर विज्ञसहितको सानो टोलीले निरन्तर काम गर्ने व्यवस्था गरी संशोधित परिवर्तित संस्करण निकाल्दै जाने व्यवस्था गर्नु वाञ्छनीय छ।