मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : मनीष स्वरूप/एपी
हाना एलिस–पिटरसन
२०७९ असोज १० सोमबार १०:१६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हिन्दुत्वको आतंक विश्वभर फैलिँदै

मोदी नेतृत्वमा भाजपा सत्तामा आएयता विदेशमा रहेका प्रवासी भारतीयलाई सामाजिक सञ्जालका माध्यमबाट भाजपा समर्थक बनाइँदै छ

Read Time : > 2 मिनेट
हाना एलिस–पिटरसन
२०७९ असोज १० सोमबार १०:१६:००

हिन्दू राष्ट्रवाद १९औँ शताब्दीमा विकास हुन थालेको एक राजनीतिक विचारधारा हो । यो विचारधाराले बृहत् समूहलाई समेटेको थियो, तर यसको केन्द्र रहेको भारतीय राष्ट्रिय पहिचान र संस्कृति हिन्दू धर्मबाट अविभाज्य रह्यो । हिन्दू राष्ट्रवादले २०औँ शताब्दीको प्रारम्भमा भारतीय स्वतन्त्रता आन्दोलनको एक हिस्साकै रूपमा लोकप्रियता प्राप्त गर्‍यो । यसले भारतलाई बेलायती औपनिवेशिक शासन र १६औँ शताब्दीपछि चलेको इस्लामिक मुगल शासनको पहिचानबाट टाढा राख्न चाह्यो ।

सन् १९२० को दशकताका विनायक दामोदर सावरकरको अवधारणामा निर्मित हिन्दुत्व हालको भारतमा सबैभन्दा बढी मानिएको हिन्दू राष्ट्रवाद हो । हिन्दुत्वले हिन्दू धर्मको वर्चस्व चाहन्छ र भारतलाई धर्मनिरपेक्षबाट हिन्दू राष्ट्र बनाउने उद्देश्य राख्छ । यो विचारधाराले हिन्दूलाई धार्मिक समूहभन्दा पनि एक जातीय वा राष्ट्रिय समूहका रूपमा हेर्छ ।  

शुद्ध नश्लको माग र अल्पसंख्यकप्रतिको असहिष्णुतासँग जोडिएकाले हिन्दुत्व विचारधारालाई दक्षिणपन्थी उग्रवादी र फासीवादी भनेर हेर्ने गरिन्छ । अल्पसंख्यकप्रतिको असहिष्णुतामा प्रायः मुसलमान तारो बन्ने गर्छन् । स्मरण रहोस्, भारतमा करिब ८० प्रतिशत मानिस हिन्दू छन् भने १४ प्रतिशत मुसलमान । 
के हो राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ? :

भारतको हिन्दू राष्ट्रवादी आन्दोलनको केन्द्रमा आरएसएस रहेको छ । आरएसएस सन् १९२० को दशकमा स्थापना गरिएको पुरुष मात्र रहेको हिन्दू राष्ट्रवादीको एक स्वयंसेवक समूह हो, जसलाई अर्धसैन्य संगठन भनेर पनि संज्ञा दिइने गरिन्छ । आरएसएसले हिन्दू समुदायलाई हिन्दू राष्ट्र निर्माणका लागि एकीकृत एवं अनुशासित बनाउने उद्देश्य राख्छ । करिब ५० लाखभन्दा बढी सदस्य रहेको आरएसएस हिन्दुत्व विचारधारा फैलाउन क्रियाशील छ ।

 आरएसएस साम्प्रदायिक हिंसासँग जोडिएका हिन्दू राष्ट्रवादी संगठनको छाता सञ्जाल ‘संघ परिवार’को नेतृत्वकर्ता हो । स्थापना भएयता आरएसएसमाथि तीनपटक प्रतिबन्ध लगाइएको छ । तीमध्ये एकपटक सन् १९४८ मा आरएसएसका पूर्वसदस्यले महात्मा गान्धीको हत्या गरेपछि प्रतिबन्ध लगाइएको थियो । भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा) को उदय आरएसएससँग जोडिन पुग्छ र अहिले पनि भाजपा र आरएसएसबीच निकट सम्बन्ध छ ।   

भाजपा के हो र यसको हिन्दू राष्ट्रवादसँग के सम्बन्ध छ ? :  हिन्दू राष्ट्रवादले धेरै वर्षदेखि भारतीय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको छ । कहिलेकाहीँ देशका दुई प्रमुख राजनीतिक दल कांग्रेस र भाजपाले हिन्दू बहुसंख्यकको समर्थन हासिल गर्न हिन्दू राष्ट्रवादको लोकरिझ्याइँवादी रणनीति प्रयोग गर्छन् । यद्यपि, सन् २०१४ मा नरेन्द्र मोदी नेतृत्वमा भाजपा सत्तामा आएदेखि हिन्दू राष्ट्रवादले भारतीय राजनीतिक परिदृश्यलाई पूर्ण रूपले कब्जामा लिएको छ । दक्षिणपन्थी हिन्दू राष्ट्रवाद भाजपाको राजनीतिक एजेन्डाको केन्द्रबिन्दु हो र भाजपालाई आरएसएसको अंगका रूपमा हेरिन्छ र प्रधानमन्त्री मोदी युवा छँदा आरएसएसका सदस्य थिए । भाजपाले खुलेआम हिन्दुत्वलाई समर्थन गर्छ, तर हिंसासँगको आफ्नो सम्बन्धलाई लुकाउन खोज्छ । 

सन् १९५० मा लेखिएको भारतको संविधानले भारतलाई धर्मनिरपेक्ष लोकतन्त्रका रूपमा स्थापित गरेको थियो । तथापि भारतलाई हिन्दू राष्ट्र बनाउने उद्देश्यले भाजपाले धार्मिक विभाजन ल्याउने नीति एवं एजेन्डा अगाडि सार्ने गरेको छ । नतिजा भारतमा असहिष्णुता एवं साम्प्रदायिक हिंसा बढेको छ, जहाँ मुसलमान अभियन्ता, पत्रकार र नागरिक समाजका सदस्यलाई तारो बनाइन्छ ।

हिन्दुत्व राजनीतिको मूलधारीकरणले भारतका हिन्दूलाई मुसलमानबाट खतरा भएको भन्ने आधारहीन भाष्य अत्यधिक बढेको छ । जसमा मुसलमानको जनसंख्या वृद्धि भयो, अन्तरधार्मिक विवाह (अर्थात् ‘लभ जिहाद’, हिन्दू महिला र मुसलमान पुरुषबीचको विवाह) र अवैधानिक मुसलमान आप्रवासी बढ्योलगायत भाष्य पर्छन् । 

भारतबाहिर हिन्दुत्व कसरी फैलियो ? :  मोदी नेतृत्वमा भाजपा सत्तामा आएयता बेलायत, अमेरिका र अस्ट्रेलियामा रहेका प्रवासी भारतीयलाई मूलतः सामाजिक सञ्जालका माध्यमबाट भाजपा समर्थक बनाइएको छ । उसो त प्रवासी भारतीयले मतदान गर्न नपाए पनि तिनले आफ्नो मूल थलोमा ठूलो मात्रामा धन सञ्चार गर्छन् र प्रभाव राख्छन् । सन् २०१९ को अमेरिकाको टेक्सासमा भएको ‘हाउडी मोदी’ नामक भव्य समारोह त्यहाँका मोदीकै समर्थकले आयोजना गरेका हुन्, जहाँ तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पसहित करिब ५० हजार मोदी समर्थक भेला भएका थिए ।

 यी हिन्दुत्व समर्थक समूहलाई अमेरिकाका विश्वविद्यालयमा प्राज्ञिक स्वतन्त्रताको अवमूल्यन गरेको आरोप लाग्ने गरेको छ, जहाँ समर्थक भारतको इस्लामिक इतिहासबारे शोध–अध्ययन गर्नेलाई निसाना बनाउँछन् । यी समूहबाट गत वर्षको सेप्टेम्बरमा अमेरिकामा हिन्दुत्वबारे गरिएको प्राज्ञिक सम्मेलनमा सहभागीलाई हजारौँका संख्यामा बलात्कार, हिंसा र हत्याका धम्की आएका थिए । त्यसैगरी, न्यु जर्सीमा भारतको स्वतन्त्रता दिवसको अवसरमा मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अनुहारअंकित बुल्डोजरको र्‍याली निकालिएको थियो । भारतमा बुल्डोजर मुसलमानविरुद्ध हुने दमनको प्रतीकका रूपमा लिइन्छ, अर्थात् सरकारविरुद्ध बोल्ने मुसलमान अभियन्ता र नागरिकका घर बुल्डोजरले भत्काउने गरिन्छ ।

 हिन्दू राष्ट्रवादी विचारधाराले बेलायतमा पनि टाउको उठाइरहेको छ । नोभेम्बर २०१९ मा बेलायती हिन्दूलाई लक्षित गरेर व्हाट्सएप मेसेज पठाइएका थिए, जसमा उग्रदक्षिणपन्थी मुसलमान अगुवाका भिडियो पनि सम्मिलित थिए । गत साता लेस्टर सहरमा हिन्दू र मुसलमान समुदायबीच हिंसात्मक झडप भयो जहाँ हिन्दू पुरुषको समूह ‘जय श्रीराम’को नारा लगाउँदै सडकमा उत्रेका थिए । स्मरण रहोस्, कुनै वेला हिन्दू अभिवादन ‘जय श्रीराम’ अब हिन्दुत्व उग्रवादी एवं भारतमा मुसलमानविरुद्धको हिंसाको घृणात्मक नारा बन्न पुगेको छ । 

(एलिस–पिटरसन द गार्जियनकी दक्षिण एसिया संवाददाता हुन्) द गार्जियनबाट