१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१६ प्रतिशतले घट्यो नेपालको वैदेशिक व्यापार

भदौसम्म दुई खर्ब ७३ अर्बको आयात गर्दा २८ अर्ब ६८ करोडको निर्यात, साउनको तुलनामा आयात बढ्यो, निर्यात घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:१६:oo

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ऋणात्मक देखिएको छ । भदौ मसान्तसम्ममा नेपालले तीन खर्ब दुई अर्ब २८ करोडको वैदेशिक व्यापार गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.७० प्रतिशतले कम हो । गत आव ०७८/७९ को पहिलो दुई महिनामा नेपालले कुल तीन खर्ब ५८ अर्ब ५५ करोडको वैदेशिक व्यापार गरेको थियो । 

भन्सार विभागका अनुसार वार्षिक हिसाब व्यापारको सबै सूचक ऋणात्मक देखिएको छ । यस अवधिमा नेपालले कुल दुई खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ । जुन गएको आर्थिक वर्षको तुलनामा १३.०१ प्रतिशतले कमी हो । गत आव ०७८÷७९ को पहिलो दुई महिनामा नेपालमा तीन खर्ब १४ अर्ब ५१ करोडको आयात भएको थियो । 

यस अवधिमा नेपालले २८ अर्ब ६८ करोड रुपैयाँबराबरको निर्यात गरेको छ । जुन गएको आर्थिक वर्षको सोही अवधिको तुुलनामा ३४.८८ प्रतिशतले कमी हो । गत आव ०७८/७९ को पहिलो दुई महिनामा नेपालले ४४ अर्ब तीन करोडको निर्यात गरेको थियो ।

मासिक बिन्दुका आधारमा भने आयात झनै बढेको छ । गएको साउन महिनामा नेपालले एक खर्ब ३१ अर्ब २८ करोडको आयात गरेको थियो । भदौमा आयातको आकार ११ अर्ब तीन करोडले बढेर एक खर्ब ४२ अर्ब ३१ करोड रुपैयाँबराबर पुगेको हो । मासिक तुलनामा आयातको आकार अझ बढे पनि निर्यात भने झन् घटेको छ । गएको साउन महिनामा नेपालले १४ अर्ब ८० करोडबराबरको निर्यात गरेको थियो । भदौमा निर्यातको आकार ९२ करोडले घटेर १३ अर्ब ८८ करोड रुपैयाँबराबरमा ओर्लिएको हो ।

 दुई महिनामा साढे दुई खर्ब घाटा
यो दुई महिनामा नेपालले साढे दुई खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरहेको छ । भदौ मसान्तसम्मा कुल वैदेशिक व्यापारमा नेपालको दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो । जुन गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशतले कम हो । आयातको मात्रा घट्दा नेपालको व्यापार घाटासमेत घटेको हो । 

 जिबिआइएबाट सुरु भयो आयात–निर्यात
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट आयात–निर्यात व्यापार सुरु भएको छ । भन्सार विभागका अनुसार चालू आवको दुई महिनामा जिबिआइएबाट २६ लाख ८१ हजार रुपैयाँबराबरको आयात र २८ लाख ३४ हजार रुपैयाँबराबरको निर्यात भएको छ । आयात–निर्यातका लागि जिबिआइए नेपालको दोस्रो हवाईमार्ग बनेको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट मात्र हवाईमार्गमार्फत आयात–निर्यात हुँदै आएको थियो । नेपालको कुल आयातको ९.७६ प्रतिशत र कुल निर्यातको २३.३९ प्रतिशत वस्तु टिआइएबाट हुने गरेको छ । 
 

ad
ad