मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर ११ आइतबार
  • Sunday, 27 November, 2022
अनिल यादव काठमाडाैं
२०७९ असोज १० सोमबार ०७:३७:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मधेसमा एमाले प्रवेशको लहर : ‘अवसरवाद’ कि विचार ?

Read Time : > 5 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ असोज १० सोमबार ०७:३७:००

प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनको सम्मुखमा मधेसी नेता–कार्यकर्ताको एमाले प्रवेशको लहर चलेको छ । पछिल्लो दुई साताभित्र मात्रै मधेसकेन्द्रित दलका ६ सांसद एमाले प्रवेश गरेका छन् । प्रवेश गर्नेको एउटै मिसन छ– एमालेबाट चुनाव लड्ने । लोसपाबाट प्रमुख सचेतक उमाशंकर अरगरिया, जसपाबाट सांसदहरू अमृता अग्रहरी, डा. रिना यादव, अञ्जुकुमारी यादव र रुही नाज एमाले प्रवेश गरेका हुन् । एक महिनाअघि मात्रै लोसपाका मधेस प्रदेश सांसद प्रह्लाद गिरी पनि एमाले प्रवेश गरेका थिए । 

अरगरिया र अग्रहरी त शनिबार मात्रै जनकपुरमा एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा भएको आमसभामा एमाले प्रवेश गरेका हुन् । त्यहाँ उनीहरूसँगै करिब चार हजार समर्थक पनि पार्टी प्रवेश गरेको एमालेको दाबी छ । अरगरिया ०७४ को निर्वाचनमा धनुषा २ बाट वामगठबन्धन र कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै तत्कालीन समाजवादी फोरम (हाल जसपा)बाट निर्वाचित निवर्तमान सांसद हुन् । कपिलवस्तुकी अग्रहरीले भने ६ दिनअघि ओलीनिवास बालकोटमै पुगेर एमाले प्रवेश गरेको घोषणा गरेकी थिइन् । शनिबार जनकपुरको कार्यक्रममा पनि उनी औपचारिक प्रवेशका लागि उपस्थित थिइन् । 

त्यस्तै, प्रतिनिधिसभाको कार्यकाल सकिनु एक दिनअघि मधेस प्रदेशकी जसपा सांसद डा. रिना यादव पनि बालकोटमै पुगेर ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेकी थिइन् । यसअघि जसपाकै सांसद अञ्जुकुमारी यादव र रुही नाज पनि धनुषाको आमसभामा एमाले प्रवेश गरेका थिए । रुही नाज प्रतिनिधिसभा सदस्य हुन् भने अञ्जु प्रदेश सभा सदस्य हुन् । उनीहरू दुवैलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे । मधेस प्रदेशका सांसद प्रह्लाद गिरी भदौमै लोसपा छाडेर एमाले प्रवेश गरेका हुन् । 

एमालेमा अहिले जसरी मधेसी नेता र सांसद प्रवेशको लहर चलिरहेको छ, यसपछाडिको रहस्य खोतल्न धेरै दिमाग खियाउन नपर्ने मधेस मामिलाका जानकार बताउँछन् । विश्लेषक तुलानारायण साह नेताहरू टिकटकै लोभमा पार्टी परिवर्तन गरिरहेको दाबी गर्छन् । ‘चुनाव जित्नलाई नेता जता टिकट पाउँछन् त्यता जान्छन् । समानुपातिकतर्फ अपेक्षा राखेका नेता एकपटक सांसद भएपछि दोहो¥याएर सिफारिस गर्न मिलेन । त्यही कारण पार्टी परिवर्तन भइरहेको छ,’ साहले भने, ‘अर्कोतिर प्रत्यक्षतर्फ जसले आफ्नो र एमालेको भोट जोडेर चुनाव जित्छु भन्ने हिसाब गरेको छ, ऊ त्यही गणितसहित पार्टी परिवर्तन गरिरहेको छ । यो चरम अवसरवादिताबाहेक केही होइन ।’

मधेस मामिलाकै अर्का जानकार चन्द्रकिशोर चुनाव जित्ने विकल्पको खोजीमा दलबदल भइरहेको बताउ“छन् । उनका अनुसार अघिल्लो निर्वाचनताका मधेस आन्दोलन चल्नु र मधेसवादी दल एक भएका कारण चुनाव जित्नका लागि पार्टी फेर्न जरुरी थिएन । तर, यसपटक एकातिर मधेसवादी दल विभाजित भएर तितरबितर भएको, अर्कोतिर सत्तागठबन्धन बनिरहेको अवस्थामा संसद्मा आफ्नो सिट कसरी सुरक्षित गर्ने विकल्पमा एमाले देखेको उनको विश्लेषण छ । 

‘एमालेलाई अहिले अनुहार होइन, संख्या चाहिएको छ । अर्कोतिर मधेसवादी नेतालाई अहिले राज्य संरचनामा वर्चस्व भएको कांग्रेस, एमालेजस्तो पार्टी चाहिएको छ । यही कारण उनीहरू पार्टी परिवर्तन गरिरहेका हुन्,’ चन्द्रकिशोर भन्छन्, ‘अहिले राष्ट्रिय राजनीतिमा विचार हराएर कांग्रेस माओवादीसँग, एमाले राप्रपा मिलिरहेको अवस्थामा अब मधेसवादी नेता एमालेमा जानु के नौलो भयो र ?’ कुनै वेला मधेसलाई एमालेमुक्त बनाउने अभियानमा लागेका अरगरिया अहिले एमाले प्रवेश गरेस“गै विगतमा भुल भएको बताउन थालेका छन् । उनले आफू टिकटको लोभमा पार्टी प्रवेश नगरेको दाबी गर्छन् । ‘टिकटको लोभमा प्रवेश गरेको होइन । ओलीजत्तिको विकासप्रेमी नेता कोही नभएको महसुस गरेर उनको पार्टीमा गएको हुँ,’ उनले भने, ‘अब मधेसको विकास उनीबाहेक अरूबाट हुन सक्दैन । पार्टीले निर्णय ग¥यो भने चुनाव लड्ने हो ।’

एमालेले मधेसमा आफ्नो गुमेको प्रभाव फर्काउने प्रयास स्थानीय निर्वाचनदेखि नै गरेको हो । स्थानीय निर्वाचनमा पनि एमालेले मधेसमा अन्य दलका नेता–कार्यकर्ता प्रवेश गराएको थियो । माधव नेपालकै गृहजिल्ला रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तर र अन्य दुई वडाध्यक्ष एमाले प्रवेश गरेका थिए । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र जसपाबाट निर्वाचित आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्तफा अन्सारीलाई ओलीले एमालेमा प्रवेश गराएका थिए । त्यतिवेला पनि आफ्नो पार्टीबाट टिकट पाउने निश्चित नभएपछि यी नेताले एमाले प्रवेश गरेर टिकट पाएका थिए । आसन्न चुनावमा पनि त्यही परिदृश्य दोहोरिने विश्लेषकको अनुमान छ । 

मधेस र ओली सम्बन्ध
मधेस र ओलीप्रति सद्भावपूर्ण सम्बन्ध छैन । पटकपटक ओली मधेसविरोधी अभिव्यक्तिकै कारण आलोचित बन्न पुगेका थिए । ०७१ पुस २१ राज्य पुनर्संरचनाबारे बहस चल्दा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस प्रदेशमा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई पनि मिसाउनुपर्ने तर्क राख्दा उनले ‘सबै मधेसमा मिसाउने हो भने भारतका बिहार र उत्तर प्रदेशलाई पनि मधेसमा मिसाउनुस्’ भन्दै जवाफ फर्काएका थिए । 

ओलीले लगातार मधेस चिढ्याउने अभिव्यक्ति दिएका कारण ०७४ को चुनावमा देशभर वामगठबन्धन ल्याएर राम्रो मत ल्याइरहँदा पनि मधेसमा भने एमाले कमजोर नै बन्यो । तर, गत वैशाखको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यायता ओली मधेसप्रति लचक देखिए । मधेसमा नेता–कार्यकर्ता धमाधम प्रवेश गराउन थाले । परिणामस्वरूप, स्थानीय तह निर्वाचनमा एमाले मधेस प्रदेशको दोस्रो शक्ति बन्यो । मधेसका एक सय ३६ पालिकामध्ये कांग्रेस ४६ पालिका जितेर पहिलो बन्दा एमाले ३० पालिका जितेर दोस्रो बन्यो । त्यसपछि जसपाले २५, लोसपाले १४, माओवादीले नौ, एकीकृत समाजवादीले ६, जनमत पार्टीले दुई, तराई मधेस लोकतान्त्रिक पार्टीले एक, विवेकशील साझा पार्टीले एक र स्वतन्त्रले दुई पालिकामा जित निकाले । 

विश्लेषक चन्द्रकिशोर भने एमालेलाई बढी फाइदा पुग्नेमा भने संशय प्रकट गर्छन् । ‘मधेस प्रदेशमा अहिले जुन प्रवेश लहर चलेको छ, यसले नेता–कार्यकर्ताको संख्या त बढेको छ, तर सिट कति बढ्छ भन्नेमा चाहिँ अझै पनि संशय नै छ,’ उनले भने, ‘ओली जनकपुरको रेलमा चढेपछि रेलको प्रचार त होला, तर भोट कति आउँछ त्यो महत्वपूर्ण हो । अहिले प्रवेश भइरहेका अनुहार मधेसमा कति भिजेका र चर्चित हुन्, त्यो केलाउन आवश्यक छ । ‘डेट एक्स्पायर्ड’ राजनीतिज्ञलाई भित्र्याएर चुनाव जितिन्छ भन्नेमा पूर्ण विश्वस्त त छैन, तर अलिकति महत्वचाहिँ पक्कै बढ्छ ।’ 

नेपालमा जन्मिएका आधारमा नागरिकता पाइसकेका बाबु–आमाका थुप्रै सन्तान मधेसमा नागरिकताविहीन छन् । मधेसमा यो भावनात्मक मात्र होइन चुनावी मुद्दा पनि हो । एकातिर मधेसमा सिट बढाउन खोजिरहेको एमालेलाई नागरिकता विधेयकमा आफूले खेलेको भूमिकाको जवाफ दिनुपर्ने चुनौती छ । संसद्ले दुईपटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिबाट अस्वीकृत हुनु र एमालेले विरोध गर्नुले आगामी निर्वाचनमा एमालेलाई असर पर्न सक्ने मधेस मामिला जानकारको विश्लेषण छ ।

मधेसमा ‘डबल डिजिट’को प्रक्षेपण 
पार्टी प्रवेश अभियान प्रभावकारी बनेपछि उत्साही एमालेले मधेस प्रदेशमा १२ देखि १५ सिट जित्ने प्रक्षेपण गरेको छ । ०७४ मा एमालेले सिराहा ३ र धनुषा ४ जितेको थियो । आठ जिल्लाका ३२ सिटमध्ये १९ वटा निर्वाचन क्षेत्रमा पार्टीको सांगठनिक अवस्था मजबुत बन्दै गएको एमालेको आन्तरिक विश्लेषण छ । अहिलेकै अनुपातमा माहोल अगाडि बढे मधेस प्रदेशमा बहुमत सिटमा जित हासिल भए पनि कुनै आश्चर्य नहुने सचिव रघुवीर महासेठले बताए ।‘हामीले डबल डिजिट सिटमा जित सुनिश्चित रहेको मूल्यांकन गरेका छौँ, त्यसको अर्थ अबको चुनावमा कम्तीमा प्रतिनिधिसभामा १२ देखि १५ सिट जित्दै छौँ,’ महासेठले भने, ‘अहिलेकै माहोल अगाडि बढे मधेसमा बहुमत आउन पनि बेर छैन ।’

एमालेको आन्तरिक मूल्यांकनमा सिराहाको १, ३ र ४, सप्तरीको १ र ३, सर्लाहीको १, २ र ३, महोत्तरीको १, ३ र ४, धनुषाको २, ३ र ४, रौतहको ३ र ४, बाराको १, ३ र ४ तथा पर्साको ३ र ४ मा पार्टी प्रवेश अभियानसँगै सांगठनिक अवस्था मजबुत बनेको छ । जसअनुसार एमालेले सिराहाको १, ३ र ४, सर्लाहीको ३, धनुषाको ३ र ४, रौतहटको ३, बाराको १ र ३, पर्साको ३ र ४ र महोत्तरीको एउटा क्षेत्रलाई जित निश्चितजस्तै प्रबल सम्भावना रहेको क्षेत्रभित्र राखेको छ । पार्टी प्रवेश अभियानले अरू क्षेत्र पनि राम्रो बनेकाले प्रतिस्पर्धामा जित्न सकिने एमालेका नेताको दाबी छ । 

स्थानीय तह निर्वाचनमा ३० पालिका जितेपछि कांग्रेसपछि दोस्रो स्थानमा उक्लिएको एमाले मतपरिणामअनुसार बारा ३, बारा ४, रौतहट ३, सर्लाही ३, सिराहा ३ र सिराहा ४ मा अगाडि छ । सप्तरीका तीन, सिराहाका नौ, धनुषाका तीन, महोत्तरीको एक, सर्लाहीको एक, रौतहटका तीन, बाराका पाँच र पर्साका पाँचवटा स्थानीय तहका प्रमुख एमालेले जितेको थियो । जसमा सिराहा, बारा र पर्सामा एमाले पहिलो दल छ । धनुषामा उमाशंकर अरगरिया, कांग्रेस जिल्ला सचिव सन्तोष यादव, बारा, पर्सा र रौतहटमा अरू पाँच सांसदसहित सर्वेन्द्र खनालको प्रवेश, १३ जना पूर्वमेयर र पालिका प्रमुख, त्यतिकै हाराहारीमा उपप्रमुख, तीन दर्जनभन्दा बढी पूर्ववडाध्यक्ष र केही पूर्वसांसदको प्रवेशले स्थिति मजबुत बनेको एमालेको मूल्यांकन छ । 

लोसपा र जसपासँग बराबरी हैसियतमा तालमेल नगर्ने 
एमालेले मधेस प्रदेशमा बराबरी हैसियतमा तालमेल नगर्ने नीति लिएको छ । न्यूनतम एमालेको बहुमत सिट सुनिश्चित हुने गरी स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने सचिव रघुवीर महासेठले बताए । ‘हामी लोसपासँग मात्र होइन, जसपासँग पनि बराबरी हैसियतमा मधेस प्रदेशमा तालमेल गर्दैनौँ,’ महासेठले भने, ‘अहिले जसपा र लोसपाको स्थिति पहिलेभन्दा धेरै नै खस्किएको छ, जिल्ला–जिल्लामा नेता–कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गरिरहनुभएको छ, त्यसैले हामी स्थानीय आवश्यकताका आधारमा मात्र तालमेल गर्छौँ ।’ एमाले मधेस प्रदेशकी उपसचिव आरती भण्डारीले जनाधार बलियो भएका अन्य पार्टीबाट प्रवेश गरेका व्यक्तित्वलाई आधार मानेर उनीहरूसम्बद्ध क्षेत्रमा सांगठनिक गतिविधि विस्तार गरेको बताइन् । 

 चरम अवसरवादिता हो
 तुलानारायण साह राजनीतिक विश्लेषक

‘जता टिकट पाउँछन् नेता त्यतै जाने हुन् । समानुपातिकतर्फ अपेक्षा राखेका नेता एकपटक सांसद भएपछि दोहोर्‍याएर सिफारिस गर्न मिलेन । त्यही कारण पार्टी परिवर्तन भइरहेको छ । अर्कोतिर, प्रत्यक्षतर्फ जसले आफ्नो र एमालेको भोट जोडेर चुनाव जित्छु भन्ने हिसाब गरेको छ, ऊ त्यही गणितसहित पार्टी परिवर्तन गरिरहेको छ । यो चरम अवसरवादिताबाहेक केही होइन ।’

 डेट एक्स्पायर्डमाथि एमाले नै विश्वस्त छैन
 चन्द्रकिशोर राजनीतिक विश्लेषक

‘एमाले अध्यक्ष ओली जनकपुरको रेलमा चढेपछि रेलको प्रचार त होला, तर भोट कति आउँछ त्यो महत्वपूर्ण हो । अहिले प्रवेश भइरहेका अनुहार मधेसमा कति भिजेका र चर्चित हुन्, त्यो केलाउन आवश्यक छ । ‘डेट एक्स्पायर्ड’ राजनीतिज्ञलाई भित्र्याएर चुनाव जितिन्छ भन्नेमा एमाले नेतृत्व नै पनि पक्कै पूर्ण विश्वस्त छैन, तर अलिकति महत्वचाहिँ पक्कै बढ्छ ।’