मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
सुदीप शिवाकोटी काठमाडाैं
२०७९ असोज १० सोमबार ०७:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हुप्राचौरस्थित डिजास्टर रिकभरी केन्द्रमा आगलागी

चार सय ८० ब्याट्रीमध्ये आधा जलेर नष्ट

Read Time : > 1 मिनेट
२०७९ असोज १० सोमबार ०७:१८:००

सरकारको प्रशासनिक डाटा ब्याकअपका रूपमा प्रयोग गरिएको डिजास्टर रिकभरी केन्द्रमा आगलागी भएको छ । हेटौँडा– ५ स्थित हुप्राचौरमा सञ्चालित सरकारी डाटा सेन्टर रिकभरी केन्द्रमा आइतबार दिउँसो साढे २ बजे आगलागी भएको हो । 

सेना, प्रहरी र सशस्त्रको टोलीसहित हेटौँडा उपमहानगरपालिकाको दमकलले आगलागी भएको करिब दुई घन्टापछि आगो नियन्त्रणमा लिएको थियो । इन्टर्भर ब्याट्री सर्ट भएर पड्किएपछि आगलागी भएको केन्द्रका कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईले जानकारी दिए ।

उनका अनुसार आगलागीका कारण प्रति दुई भोल्टका रूपमा सञ्चालित चार सय ८० वटा ब्याट्रीमध्ये आधा जलेर नष्ट भएको छ । ‘डाटामा कुनै क्षति नपुगेको हाम्रो अनुमान छ । आगलागी भएको केही समयमै डाटाका मेसिनहरू अफ गरेका थियौँ । त्यसकारण त्यहाँ क्षति नभएको अनुमान गरिएको हो,’ उनले भने, ‘आगलागी भएका ब्याट्री पनि सबै नष्ट भएका छैनन् ।’

भट्टराईले आगलागीपछि सिस्टम भने बन्द गरिएको बताए । उनले डाटा रहने सिस्टम बन्द गरिएको र आगलागीका कारण भएका क्षतिपछिका सामग्री तयार नभएसम्म सिस्मट चलाउन समस्या हुने जानकारी दिए । ‘यो सिंहदरबारभित्रका प्रशासनिक निकायमा हुने सबै सिस्टमका डाटाहरूको ब्याकअप हो, त्यहाँ कुनै कारणले क्षति भएमा यहाँ ब्याकअप रहन्छ । त्यसकारण यहाँ सिस्टम सञ्चालन नभएसम्म सिंहदरबारभित्र पनि प्रशासनिक कार्यमा समस्या आउन सक्छ,’ उनले भने । केन्द्रका अर्का कम्प्युटर इन्जिनियर अविनाश साहले एक–दुई दिनमै सिस्टम पूर्ण रूपमा सञ्चालन गर्न सकिने बताए ।

क्षतिको रिपोर्ट  आउन बाँकी
सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले रिकभरी केन्द्रमा भएको क्षतिको रिपोर्ट आउन बाँकी रहेको बताए । तर, त्यसको क्षतिले सेन्ट्रल डाटामा धेरै असर नगरेको उनको भनाइ छ । ‘समस्या ब्याट्रीमा हो, सर्भरमा केही भएको छैन,’ उनले भने । एक÷दुई दिन समस्या हुने भए पनि त्यसपछि सुचारु हुने उनले बताए । ‘कुनै कुनै साइट नचल्न सक्छ,’ उनले भने, ‘तर, यो रिकभर भइहाल्छ ।’