१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:४५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

दसैँमा चल्ने मध्य तथा लामो दूरीका गाडीलाई यान्त्रिक परीक्षण अनिवार्य

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:४५:oo

मध्य तथा लामो दूरीमा चल्ने सवारीसाधन आइतबारदेखि अनिवार्य रूपमा यान्त्रिक परीक्षणविना चल्न नपाउने भएका छन् । यो व्यवस्था उपत्यकाबाट बाहिरिने सवारीसाधनको हकमा लागू हुनेछ । 

दसैँमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारीसाधनको यान्त्रिक अवस्था चेकजाँच गरेर मात्रै छुट्न दिने निर्णय गरिएको हो । गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको निर्णयअनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारीसाधनको आधिकारिक विक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरूको समन्वयमा हुनेछ । यसका लागि उनीहरूले उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा परीक्षण केन्द्र राख्नेछन् । सोही केन्द्रमा सवारीसाधनको यान्त्रिक परीक्षण हुनेछ । परीक्षणपछि मात्रै मध्य तथा लामो दूरीमा चल्ने सवारीसाधन छुट्न पाउनेछन् ।

फणीन्द्रमणि पोखरेल–प्रवक्ता, गृह मन्त्रालय

मध्य र लामो दूरीमा चल्ने सवारीसाधनले अब अनिवार्य रूपमा सरोकारवाला कार्यालयको फोन नम्बर यात्रुले देख्ने गरी ‘डिस्प्ले’ गर्नुपर्नेछ ता कि यात्रुले आवश्यक पर्दा सजिलै ‘कम्प्लेन’ गर्न सकून् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दसैँको समयमा हुने सवारी दुर्घटना रोक्न यस्तो निर्णय गरिएको बताए । ‘प्रत्येक वर्ष दसैँमा सवारीसाधन दुर्घटना बढ्ने गरेको र धनजनको क्षति भएको देखियो । यसलाई न्यूनीकरण गर्न सरकारले मेरै संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको बैठकले विभिन्न १४ बुँदे निर्णय गरेको छ । जसमा मध्य तथा लामो दूरी चल्ने सवारीसाधनका लागि यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । नत्र त्यस्ता सवारीसाधन सञ्चालन हुन सक्दैनन्,’ उनले भने ।

समितिको निर्णयअनुसार यान्त्रिक परीक्षण नगरेका र यात्रुको बिमा नगरेका सवारीसाधनलाई सञ्चालनका लागि रुट अनुमति दिइनेछैन । यसका लागि गृहले यातायात व्यवस्था विभाग र प्रदेशमातहतका सम्बन्धित कार्यालयलाई निर्देशन गरिसकेको छ । सञ्चालनका लागि अनुमति पाएका सवारीसाधनले यात्रुले देख्ने गरी अनिवार्य रूपमा सरोकारवाला कार्यालयको टेलिफोन नम्बर सार्वजनिक गर्नुपर्नेछ । गृहप्रवक्ता पोखरेलका अनुसार अस्वाभाविक ढंगले चलाइएका सवारीसाधनबारे गुनासो गर्न यो व्यवस्था गरिएको हो । 

‘पर्वका वेला सवारीसाधन अस्वाभाविक ढंगले चलाइएको गुनासो सुनियो । दुर्घटना हुने कारण पनि यस्तै रहेको देखियो । त्यसो हुँदा मध्य र लामो दूरीमा चल्ने सवारीसाधनले अब अनिवार्य रूपमा सरोकारवाला कार्यालयको फोन नम्बर यात्रुले देख्ने गरी ‘डिस्प्ले’ गर्नुपर्नेछ ता कि यात्रुले आवश्यक पर्दा सजिलै ‘कम्प्लेन’ गर्न सकून्,’ प्रवक्ता पोखरेलले भने ।
सवारीसाधनलाई ‘टाइम कार्ड’को पालना पनि अनिवार्य गरिएको छ । चाडबाडका वेला अत्यधिक गतिमा सवारीसाधन चलाउने प्रवृत्ति रोक्न यस्तो गरिएको गृहको भनाइ छ । ‘टाइम कार्ड’को व्यवस्था भने यातायात व्यवस्था विभागले गर्नेछ । ‘टाइम कार्ड’ पालना नगर्ने सवारीसाधन तत्काल कारबाहीमा पर्नेछन् । 

प्रत्येक सवारीसाधनमा दुई चालक अनिवार्य हुनुपर्ने नियम पनि राखिएको छ । यो नियम पालना नगर्ने यातायात व्यवसायीलाई कडा कारबाही गर्ने गृहले जनाएको छ । ‘ड्युटी’को समयमा मादक पदार्थ सेवन (मापसे) गरे–नगरेको आकस्मिक परीक्षण अनिवार्य रूपमा हुनुपर्नेछ । यो काम भने नेपाल प्रहरीले गर्नेछ । सवारीसाधनको छतमा बसेर र झुन्डिएर यात्रा गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ । नियम पालना गर्ने जो–कोहीलाई कडा कारबाही गरिने गृहप्रवक्ता पोखरेलले बताए । 

उनले भने, ‘सवारीसाधनले ‘टाइम कार्ड’को पालना अनिवार्य रूपमा गर्नुपर्नेछ । मापसे गरी सवारीसाधन चलाउनु भएन । भिड देखाएर बसको छत तथा झुन्डिएर जो–कोहीले पनि यात्रा गर्न पाउँदैन । नियम पालना नगर्नेविरुद्ध कानुनअनुसार कारबाही हुनेछ ।’

समितिको निर्णयअनुसार सडकका खाल्टाखुल्टी यथासम्भव चाँडो टाल्न डिभिजन सडक कार्यालय, प्रदेश र स्थानीय तहसँग समेत समन्वय गरिनेछ । चालकका लागि बनाइएका ‘रिफ्रेसमेन्ट सेन्टर’लाई तयारी हालतमा राखिनेछ । मध्य तथा लामा दूरीमा यात्रा गर्ने यात्रुलक्षित राजमार्गका होटेल तथा रेस्टुरेन्टका खानाका गुणस्तर परीक्षण गरिनेछ । परीक्षणमा कमजोर देखिए दोषीलाई तत्काल कारबाही गर्ने निर्णय समितिले गरेको छ ।

यस्ता छन् नियम, पालना नगरे कारबाही

  • उपत्यकाबाट बाहिरिने  मुख्य–मुख्य नाकामा यान्त्रिक परीक्षण केन्द्र राखिने, परीक्षण नगरी छुट्न नदिने

  • यात्रुको बिमा नगरेका सवारीसाधनले  रुट अनुमति नै नपाउने

  • प्रत्येक सवारीसाधनमा दुई चालक अनिवार्य हुनुपर्ने

  • यात्रुले देख्ने गरी सवारीसाधनले अनिवार्य रूपमा सरोकारवाला कार्यालयको फोन नम्बर सार्वजनिक गर्नुपर्ने

  • सबै सवारीसाधनलाई ‘टाइम कार्ड’ अनिवार्य, पालना नगरेर कारबाही

  • छतमा तथा गाडीभित्र झुन्डिएर यात्रा गर्न बन्देज

ad
ad