१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ८ शनिबार ०६:२२:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

घरभित्र छिरेर दही खाएको आरोपमा दलित बालिकालाई यातना दिनेलाई एक वर्ष कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ८ शनिबार ०६:२२:००

 आफ्नो घरभित्र छिरेर दही खाएको आरोपमा दलित बालिकालाई बन्धक बनाई यातना दिने रामेछापका शेरबहादुर नगरकोटीलाई अदालतले एक वर्ष कैद सजाय र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालत रामेछापले शुक्रबार नगरकोटीलाई जातीय छुवाछुतसम्बन्धी कसुरमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । 

गत ३० फागुनमा १२ वर्षीया दलित बालिकाले आफ्नो घरभित्र छिरेर दही खाएको आरोपमा मन्थली नगरपालिका– ६ का नगरकोटीले बन्धक बनाएर यातना दिएका थिए । प्रहरीले उनलाई पक्राउ गरी रिट दायर गरेको थियो । न्यायाधीश इन्दिरा शर्माको इजलासले गत २९ भदौमा त्यससम्बन्धी फैसला दिएकोमा शुक्रबार सजाय निर्धारण गरेको हो ।

 नगरकोटीकी श्रीमती बालकुमारी र छोरा रोशनलाई भने अदालतले सफाइ दिएको छ । छुवाछुतसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय ऐतिहासिक भएको अधिवक्ता यमकुमारी ददेलले बताइन् । ‘नेपालमा जातीय विभेदको मुद्दामा अहिलेसम्म एक वर्ष कैद सजाय भएको थिएन,’ उनी भन्छन्, ‘त्यसकारण यो फैसला एकदमै महत्वपूर्ण छ ।’ 

सो घटनापछि अधिकारकर्मी तथा राष्ट्रिय दलित आयोगको टोलीले समेत स्थलगत अध्ययन गरी दोषीलाई कारबाहीका लागि दबाब दिएका थिए । त्यस्तै, बालिकालाई बन्धक बनाएकोमा शरीर बन्धक मुद्दासमेत चलेको थियो । जसमा शुक्रबार फैसला भई नगरकोटीलाई तीन वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ जरिवाना भएको छ ।

साथै, पीडित राहत कोषमा एक हजार चार सय जम्मा गराउने फैसलासमेत भएको छ । घरभित्रै बन्धक बनाइएकोमा बालिकालाई भोलिपल्ट परिवारका सदस्यले देखेका थिए । त्यसपछि पनि जनप्रतिनिधिको दबाबपछि मात्र उनले बालिकालाई मुक्त गरेका थिए ।