१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार १६:३३:oo
Read Time : > 7 मिनेट
ad
ad
फिचर डिजिटल संस्करण

पञ्चायतदेखि गणतन्त्रसम्म सूर्यबहादुर कसरी सर्वस्वीकार्य ?

Read Time : > 7 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १६:३३:oo

पाँचपटक प्रधानमन्त्रीको बागडोर सम्हालेका शीर्ष नेता स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ बिहीबार साँझ सार्वजनिक भएसँगै उनका विषयमा राजनीतिक वृत्तमा समीक्षा सुरु भएको छ। त्यहाँ उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र स्वर्गीय थापाको प्रशंसा गरेनन्, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लोपटक राजनीतिक अभिभावकको अनुभूति गरेको सुनाउन भ्याए।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान निर्माण प्रक्रियाको पछिल्लो कालखण्डमा संवाद र सहमतिका सन्दर्भमा थापालाई राजनीतिक गुरु नै मानेको बताए। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले पनि थापाको मुक्तकण्ठले प्रशंसा गरे। पञ्चायतदेखि गणतन्त्रसम्म नेपाली राजनीतिको शीर्ष स्थानमा रहेका र सधैँ परिवर्तनलाई आत्मसात् गरेका, उदारवादी सोचका हिमायती थापालाई उनको निधनपछि मात्र होइन, उनी जीवित छँदा पनि राजनीतिक वृत्तले आत्मसात् गरेको थियो । उनी यस्ता सर्वस्वीकार्य राजनीतिक पात्र थिए, जसको निमन्त्रणामा राजनीतिका चार दिशातिर फर्केका दलका नेता सहज रूपमा मालीगाउँ पुग्थे र राजनीतिक दीक्षा लिन्थे।

थापा अहिले हामीमाझ छैनन्। ०७२ वैशाख २ गते पूर्वप्रधानमन्त्री थापाको नयाँदिल्लीमा निधन भएको थियो। मेदान्त अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो भने उनको शव भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं ल्याइएको थियो।

डेढ दशक लगाएर तयार भएको पुस्तक उनका छोरा सुनीलबहादुर थापा, नाति सिद्धार्थ थापाको अनवरत जोडबलमा प्रकाशित भएको छ। बुकहिल प्रकाशनले पुस्तक प्रकाशन गर्नुअघि वरिष्ठ पत्रकार हरिबहादुर थापाले पुस्तकको सम्पादन गरेका हुन्। किताब लेखनमा संलग्न भएका लेखकले ०६५ बाट करिब चार वर्ष तीन सय १० घन्टा कुराकानी गरी पुस्तक तयार भएको थियो। यो कार्यमा पत्रकार केदार शर्मा पनि जोडिएका थिए। पाँच व्यवस्था र पाँच राजाको शासन भोगेका र पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको जीवन भोगाइका विविध आयामलाई पुस्तकमा आठ खण्डमा प्रस्तुत गरिएको छ। थापाको पुस्तकबारे समीक्षा गरौँला, अहिले उनीसँग जोडिएका पछिल्ला राजनीतिक घटनाक्रम र  आफ्नै संवादको चर्चा गरौँ।

शीर्ष नेतालाई अन्तिम भोज
पूर्वप्रधानमन्त्री थापाले कांग्रेस, एमाले, एकीकृत माओवादी, मधेसी दलका शीर्ष नेतालाई ०७१ फागुन २२ गते मालीगाउँमा रात्रिभोजका लागि बोलाएका थिए। रात्रिभोजमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू मालीगाउँ पुगेका थिए। होलीको अवसरमा बोलाइएको छलफलमा संघीयतामा अड्केको विवाद कसरी फुकाउन सकिन्छ भन्ने विषयमा नेताहरूबीच लामो छलफल भएको थियो। त्यसको भोलिपल्टदेखि कांग्रेस, एमाले र एकीकृत माओवादीबीच दुईपक्षीय तथा त्रिपक्षीय बैठक सुचारु भएको थियो। उनका छोरा सुनीलले पुस्तक विमोचन कार्यक्रममा सूर्यबहादुरले बोलाएको उक्त रात्रिभोजपछि दलहरूले संघीयताबारे घनीभूत छलफल गरेको बताए। 

थापाको राजनीतिक उतारचढाव
थापाले राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको कार्यकालमा पाँचपटक प्रधानमन्त्री बन्ने अवसर पाए। उनले दोस्रोपटक निर्वाचित संविधानसभाको पनि ज्येष्ठ सदस्यका हैसियतले अध्यक्षता गर्न भ्याए। उनी राप्रपाको संस्थापक नेता थिए। पञ्चायतकालमा पनि उदार छवि बनाएका थिए। उनी जीवनको आखिरीसम्म भारतीय संस्थापन पक्षले विश्वास गरेका शीर्ष नेपाली नेता थिए। जानकारहरूका अनुसार राजा महेन्द्रले ‘देशलाई अप्ठेरो पर्दा सूर्यबहादुरलाई सम्झिनु’ भनी छोरानातिलाई भनेका थिए जसका कारण राजा वीरेन्द्र र ज्ञानेन्द्रको संकटको अवस्थामा उनको साथ लिएका थिए। तर, पञ्चायतमा राजा वीरेन्द्रले उनलाई जेलमा राखेका थिए भने ०६१ माघ १९ को सक्रिय कदमपछि राजा ज्ञानेन्द्रले थापालाई घरमै नजरबन्दमा राखेका थिए।

०१५ सालमा राजा महेन्द्रले सल्लाहकार सभामा ल्याएका थापा पछि सभाका अध्यक्ष भएका थिए। उनी तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायका निकटस्थ थिए। उपाध्यायको सहयोगमा थापाले भारतीय संस्थापनसँग बलियो सम्बन्ध विकसित गरेको मानिन्छ। ०१७ सालमा राजाले निर्दलीय व्यवस्था लागू गरेपछिको मन्त्रिपरिषदमा उनी मन्त्री बनाइए। किताबमा थापाले नै राजा महेन्द्रको शाही सम्बोधन मस्यौदा गरेर बुझाएको उल्लेख छ। पञ्चायत र बहुदल समयमा थापा सत्तामा जाने र बाहिरिने क्रम चलिरह्यो। ०३६ को जनमतसंग्रहमा निर्दललाई विजयी गराउने उद्देश्यका लागि राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बनाएका थिए। थापाले आफ्नो मिसन पूरा गरेका थिए। त्यतिवेला निर्दलीय पञ्चायत जिताउने उनको अभियानमा स्वर्गीय नेता गजेन्द्रनारायण सिंह तथा हालका पूर्वमन्त्रीहरू हृदयेश त्रिपाठी, राजेन्द्र महतोलगायतले साथ दिएका थिए।

०४६ मा आन्दोलन सुरु भएपछि फागुन २४ गते थापाले कांग्रेस र वाममोर्चासँग सरकारले वार्ता गर्नुपर्ने सुझाव राजालाई दिएका थिए। ०३५ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलालको अस्तु शोभाभगवतीमा ल्याउँदा थापा त्रिभुवन विमानस्थलदेखि शोभाभगवतीसम्म शवयात्रामा सहभागी भएका थिए। ०२८ सालमा सुधारिएको पञ्चायतका पक्षमा काठमाडौंको इटुम्बहालमा भाषण गर्दा थापाले १४ महिना जेल बस्नुपर्‍याे। ‘भारतविरोधी भनेर चिनिएको एउटा खेमाले सूर्यबहादुरलाई सधैँ खेदिरह्यो, तर उहाँले आफ्नो हैसियत जहिल्यै माथि राखेर जानुभयो,’ उनीसँगै काम गरेका एक पूर्वपञ्चले पंक्तिकारसँग टिप्पणी गरे।

०४२ मा राजा वीरेन्द्रले राजीनामा दिन आग्रह गर्दा थापाले अस्वीकार गरेका थिए। राष्ट्रिय पञ्चायतबाट निर्वाचित भएर आएका थापाले प्रक्रियाबाटै सरकार ढाल्न राजारानीलाई चुनौती दिएका थिए। फलस्वरूप उनलाई अविश्वासको प्रस्ताव राखेर हटाइएको थियो। उनीपछि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बनाइए। राष्ट्रिय पञ्चायतमा थापालाई त्यतिवेला बालाराम घर्तीमगर, नवराज सुवेदी, अर्जुननरसिंह केसीलगायत १७ जनाले मात्रै साथ दिएका थिए।

बहुदल आएपछि राप्रपा स्थापना गरेर राजनीतिक जीवनलाई निरन्तरता दिए। उनै थापा ०५४ सालमा कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका थिए। ०६० सालमा उनले राजा ज्ञानेन्द्रबाट प्रधानमन्त्री पद स्वीकार गरे। त्यसवेला उनको पार्टी राप्रपाले राजीनामा दिन निर्देशन दियो। त्यतिवेला पार्टी अध्यक्ष पशुपतिशमशेर राणा थिए। थापाले राजीनामा दिएनन्, बरु अलग्गै जनशक्ति पार्टी घोषणा गरे। त्यतिवेला थापाले राणालाई सार्वजनिक रूपमा ‘राणाको छोरा हो भने सात दल (नेपाली कांग्रेस, एमालेसहित)सँग मिलेर सरकार ढाल्नुस्’ भनेका थिए। राणाले पनि सार्वजनिक रूपमा थापा बगाले थापा होइन भन्ने टिप्पणी गरेका थिए।

त्यसवेला माओवादी सरकारसँग शान्तिवार्तामा आएको थियो। थापाकै पालामा दाङको हापुरेमा सरकार–माओवादी वार्ता विफल भएको थियो। त्यतिवेला सरकारी वार्ताटोलीमा डा. प्रकाशचन्द्र लोहनी र कमल थापा थिए भने माओवादी वार्ताटोलीमा डा. बाबुराम भट्टराई र कृष्णबहादुर महरा थिए। त्यही वेला राणाले थापा सरकारविरुद्ध सडकप्रदर्शनको निर्णय गरेका थिए। ०४६ को आन्दोलनपछि बनेपामा राप्रपाको आमसभा थियो। त्यसवेला थापामाथि बनेपामा आक्रमण भएको थियो। प्रतिकूलतामाझ २०५१ को निर्वाचनमा राप्रपाले २० सिट ल्याएर  तेस्रो शक्तिका रूपमा उभ्याएको थियो।

थापाका नाति सिद्धार्थले बताएअनुसार ०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकार गठन भएपछि अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल गर्न धेरैपटक कांग्रेस नेता गिरिजाप्रसाद कोइराला मालीगाउँ पुगेका थिए। गिरिजाबाबुले त्यहाँ ५५५ चुरोट पिएका थिए। गिरिजाबाबुबारे सूर्यबहादुरको टिप्पणी हुनेगर्थ्याे, ‘गिरिजाबाबुसँग राजनीतिक एड्भेन्चर गर्ने क्षमता छ। नेपालमा उहाँसँगै सहयात्रा गर्नुपर्छ।’

पञ्चायतमा दुई धार थियो– एउटा डा. तुल्सी गिरी, अर्को सूर्यबहादुर थापा। डा. गिरीको भनाइ थियो, ‘राजा प्रजातान्त्रिक वा संवैधानिक हुँदैनन्, उनी राजा नै हुन्छन्। जनताप्रति जिम्मेवार हुन्छन्। पञ्चायतमा राजाको सक्रियताभन्दाबाहेक विकल्प छैन।’ थापाको भनाइ थियो, ‘पञ्चायत भनेको राजनीतिक प्रणाली हो। त्यसअन्तर्गत राजतन्त्र हो। अर्थात् प्रणालीअन्तर्गत हो राजतन्त्र। राजा सिस्टमभन्दा माथि हो।’

०३७ को जनमतसंग्रहअघि भारतमा इन्दिरा गान्धीको शासन र संकटकाल थियो। पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई फाँसी दिइएको थियो। सूर्यबहादुरलाई त्यतिवेलै संसारमा प्रजातन्त्रको लहर चलिरहेकाले  नेपालमा पनि प्रजातन्त्रलाई निषेध गरेर अगाडि जान असम्भव छ भन्ने लागेको थियो।

०१७ को कदमका मस्यौदाकार थापालाई ०६१ माघमा राजा ज्ञानेन्द्रले दरबारमा निम्ता गरे। त्यतिवेलासम्म राजाले सक्रिय शासन सुरु गरिसकेका थिएनन्। त्यसवेला राजाले टेकओभर गर्ने हल्ला चलिरहेको थियो। तर, राजा ज्ञानेन्द्रले थापालाई आश्वासन दिएका थिए, ‘म टेकओभर गर्दिनँ।’ राजाको कदमले माओवादी र दललाई एक ठाउँमा ल्याउने, अन्तर्राष्ट्रिय समुदायको विश्वास राजाले गुमाउँदै जाने सम्भावना हुन्थ्यो। भारतमा कांग्रेस नेतृत्वको सरकार गठन  र सिपिआइएम पनि प्रमुख सत्ता घटक हुनु राजाका लागि राम्रो परिस्थिति थिएन। सूर्यबहादुरले यो सबै परिस्थिति राजालाई ब्रिफिङ गरेका थिए। दरबारबाट फर्केपछि जिज्ञासामा उनले नाति सिद्धार्थलाई सुनाए, ‘राजाबाट टेकओभर हुँदैन।’  

१८ माघ ०६१ मा होटेल हायातमा भारतीय दूतावासले ‘कल्चरल कन्सर्ट’ आयोजना गरेको थियो। त्यसवेलाका उपप्रधानमन्त्री भरतमोहन अधिकारीदेखि वरिष्ठ नेतासम्म त्यहाँ पुगेका थिए। राजाले टेकओभर गर्ने हल्ला थियो। दरबारमा विभिन्न गतिविधि बढेको र राजाले विभिन्न मानिसलाई भेटका लागि बोलाएको चर्चा थियो। भोलिपल्ट बिहान राजाबाट सम्बोधन हुँदै छ भन्ने सूचना आयो। माघ १९ गते बिहान थापालाई गिरिजाप्रसाद कोइराला र राप्रपाका नेता रवीन्द्रनाथ शर्माले फोन गरे। शाहीघोषणा भइरहँदा झ्याल नभएका निजी नम्बर प्लेटका प्रहरीका दुईवटा भ्यान रोकिए। सिद्धार्थका अनुसार इन्स्पेक्टरले थापालाई भन्यो, ‘हजुरलाई नजरबन्दको आदेश छ।’ उनी १४ दिन घरमा नजरबन्दमा बस्नुपर्‍याे।

राजाको प्रत्यक्ष शासनकै बीचमा थापा भारत भ्रमणमा गए। साथमा नाति सिद्धार्थलाई पनि उनले लगेका थिए। राजाले शासन लिएपछिको अवस्थामा अरू राजनीतिक पार्टी र माओवादीसँगै आउन सक्ने विश्लेषण भारतीय नेतृत्वलाई सुनाएका थिए। थापाको भनाइ थियो, ‘त्यो अवस्थामा नेपालमा प्रजातन्त्र टिक्न सक्दैन, पार्टीहरूले माओवादीलाई काउन्टर गर्न सक्दैनन्। त्यसकारण कांग्रेस, एमाले र राजालाई एकै ठाउँ उभ्याउनुपर्छ। त्यसका लागि जिम्मेवार मानिस पठाउनुपर्छ।’ थापाले सकभर राजघरानाका मानिस पठाउनुपर्छ भन्ने सल्लाह दिएका थिए। राजा–महाराजाले राजा–महाराजाकै कुरा सुन्छन् र बुझ्छन् भन्ने थापाको भनाइ थियो। उनको सल्लाहअनुसार भारतले करण सिंहलाई पठायो। तर, ढिलो भइसकेको थियो।

१ वैशाख ०६३ मा आर्मी हेडक्वार्टरमा आयोजना भएको रिसेप्सनमा थापा सहभागी थिए। तत्कालीन प्रधानसेनापति प्यारजंग थापा र बलाधिकृत रथी रुक्मांगद कटवालले भने, ‘हामीले सकेनौँ, हजुरले महाराजाधिराजलाई सम्झाइदिनुपर्‍याे ।’ जंगी अड्डामा राजा पनि गएका थिए। तर, राजा कुरा गर्ने मुडमा थिएनन्।  राजा मोटर चढ्न लाग्दा सूर्यबहादुरले भन्न भ्याए, ‘एक–दुई दिनमा सत्ता छाडिदिने हो भने सरकारलाई केही स्पेस होला। ढिलो भयो भने म सिस्टम कोल्याप्स हुने अवस्था देख्दै छु।’ राजाको रेस्पोन्स केही रहेन। अन्ततः कांग्रेसले पनि राजा छाडिदियो। गणतन्त्र आयो।

राजसंस्था गइसकेपछि पनि पूर्वराजासँग थापाको कुराकानी हुन्थ्यो। थापाको सधैँ सल्लाह थियो, ‘विवादमा नआईकन चुपचाप बस्नु राम्रो हुन्छ। राजनीतिक प्रक्रियाबाट पूरै आइसोलेसनमा बस्नुपर्छ।’ राजाको बसाइ सुरक्षित होस् भन्ने थापाको विचार थियो।  पूर्वराजालाई सूर्यबहादुरको सधैँ सन्देश हुन्थ्यो, ‘समयको विपक्षमा कोही नजाऔँ। समयले सबै कुरा तय गर्छ।’ 

मालीगाउँमा आफ्नै कुरा...
नयाँ पत्रिकाका लागि कुराकानी गर्न ०६५ कात्तिक २० गते बिहान ११ बजे थापाले समय दिए। उनका सहयोगी, राप्रपा नेता किरण गिरीले समय तय गरेका थिए। त्यतिवेला ८१ वर्षमा टेकेका थापाले मालीगाउँस्थित निवासमा राजा महेन्द्र, वीरेन्द्र र भूतपूर्व भएका ज्ञानेन्द्रसँग सम्बन्धित संस्मरण सेयर गरे। पूर्वराजा ज्ञानेन्द्रलाई त दुईपटकसम्म सत्ता नलिन सल्लाह दिएको, ज्ञानेन्द्रले मान्न तयार नभएको सुनाए।

उनको विश्लेषणमा राजा महेन्द्र तीक्ष्ण बुद्धि, परिस्थिति बुझेका राजा थिए। ‘एउटै कुरामा सधैँभरि अडान लिने बानी थिएन। परिस्थितिअनुसार अडान पनि परिवर्तन गर्थे। पौराणिककालमा रामचन्द्र र कृष्णको पनि पक्ष र विपक्ष छन्। राजा महेन्द्र जे सोच्थे, कार्यान्वयन गर्थे,’ थापाले भनेका थिए।

उनको नजरमा राजा वीरेन्द्र भद्र, सुसंस्कृत थिए। ‘राजा वीरेन्द्र डेमोक्य्राट थिए। उनी नवयुवक भएका वेला दरबारमा कर्मचारीका बीचमा मैले काम गरेँ। त्यस्तो वातावरणमा पनि उनी असल र प्रजातान्त्रिक विचारका थिए,’ थापाले भनेका थिए।  राजा ज्ञानेन्द्रलाई क्षमतावान्, तर कुरा नबुझ्ने राजाका रूपमा उनले चित्रण गरेका थिए। ज्ञानेन्द्रबारे थापाको भनाइ थियो, ‘मान्छे इन्टेलिजन्ट छन् उनी। राजप्रतिनिधि परिषदमा प्रस्तुत हुने सबै एजेन्डाका बारेमा उनी पूर्वतयारी गरेर आउँथे। उनलाई भेट्न गएका प्रधानमन्त्री तयारी नगरी जाने हो भने पटकपटक बेबकुफ हुनेपर्ने थियो। मलाई पनि अप्ठेरोमा पार्थे ज्ञानेन्द्रले। जब कि म धेरै तयारी गरेर गएको हुन्थेँ। तर, मैले निर्णय गरेको कुरा कार्यान्वयन गर्न कठिनाइ भएन।’

थापाले सुनाएकाे एउटा रोचक प्रसंग यस्तो थियो :
उनी राजा भएपछि भने मेरो एउटा प्रस्ताव कार्यान्वयन भएन। म प्रधानमन्त्री भएपछि मेरो अध्यक्षतामा रहेको संवैधानिक परिषद्ले निर्वाचन आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरू छान्नुपर्ने थियो। र, मैले बैठक राखेर प्रमुख आयुक्त र दुई–तीनजना सदस्यहरूको नामकाे लिस्ट दरबारमा पठाएँ। त्यो राजाले एप्रुभ गर्नुपर्ने। मैले गरेको सिफारिस राजाले स्वीकृत गरेनन्। जब कि मैले सिफारिस गरेका मान्छेहरूबारे पहिले नै ब्रिफिङ गरिसकेको थिएँ। आयुक्तहरू त नियुक्त भए, तर प्रमुख आयुक्तको नाम त रोकियो। मैले सीधै भनेँ, ‘यो त रोक्नुभएन।’ ज्ञानेन्द्रले भने, ‘पुनर्विचार गर्ने हो कि ?’ मलाई नराम्रो लाग्यो। मैले भनिदिएँ, ‘संवैधानिक परिषद्ले निर्णय गरिसकेको वेलामा पुनर्विचार गर्ने कुरा आउँदैन सरकार,’ उनले भने, ‘होइन पिएम, दोस्रोपटक पनि सिफारिस आएको छ विगतमा।’  उनले यतिसम्म भने, ‘यस्तै केसमा फलानो टाइममा दोहोरिएको छ ।’ मैले भनेँ, ‘प्राक्टिस भएको रहेछ भने बुझेर आउँछु।’ मलाई साह्रै अनइजी, अनकम्फर्टेबल भएको थियो। किनभने त्यो त सिस्टमको कुरा थियो। म सरासरी अफिस आएर मुख्य सचिवलाई बोलाएँ। मैले भनेँ– संवैधानिक परिषद्ले गरेको सिफारिस पुनर्विचार भएको छ कि क्या हो ?’ मुख्य सचिवले भने, ‘भएको छ।’ म कक्रक्क परेँ ।

थापाले त्यसवेला स्पष्ट रूपमा ज्ञानेन्द्रलाई भनेका थिए, ‘टेकओभर भयो भने डेमोक्रेसी जान्छ, संविधान जान्छ र राजतन्त्रलाई नै क्षति पुग्छ।’ उनले त्यतिवेला टेकओभर गर्छु पनि भनेनन्, गर्दिनँ पनि भनेनन्। तर, थापा दरबारबाट फर्कँदा टेकओभर हुँदैन भन्ने धारणामा थिए। त्यही कुरा उनले नातिलाई बताएका थिए।

थापाले मलाई त्यसवेला संस्मरण निकाल्ने मुडमा आफू पुगेको र पारिवारिक एवं मित्रगणहरूबाट सुझाज र दबाब आइरहेको सुनाएका थिए।  त्यही वर्ष पुसबाट उनको संस्मरणका लागि रेकर्डिङ सुरु भयो। परिणामस्वरूप बिहीबार याक एन्ड यतीमा पुस्तक सार्वजनिक भयो।

ad
ad