१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कृष्ण रिजाल काठमाडाैं
२०७९ असोज ७ शुक्रबार ०८:३६:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

सांस्कृतिक चाड, अर्थतन्त्र विस्तार

Read Time : > 4 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०७९ असोज ७ शुक्रबार ०८:३६:००

दसैँ सुरु हुन चार दिन मात्रै बाँकी छ । के गाउँ, के सहर–बजार, सबैलाई दसैँको माहोलले छपक्कै छोपिसकेको छ । सयपत्री, मलमखीलगायतका मौसमी फूल फुल्न थालिसकेका छन् । बालबालिकाहरू चंगा उडाएर रमाउन थालेका छन् । सहर–बजारमा दसैँलक्षित किनमेल पनि सुरु भइसकेको छ । घर जान यातायातको अग्रिम टिकट बुकिङ गर्ने तथा परदेश भएकाहरू घर फर्कने तयारीमा छन् । सरकारले पनि दसैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइसकेको छ । राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा सुरु गरिसकेको छ । यी यावत् क्रियाकलापले साँच्चिकै दसैँ आइसकेको भान गराउँछ । 

नेपालमा मनाइने सबैखाले चाडपर्व महत्वपूर्ण भए पनि दसैँको सामाजिक र सांस्कृतिक महत्व धेरै भएको संस्कृतिविद् डा. गोविन्द टन्डन बताउँछन् । दसैँले नेपालीको अनेकताभित्रको एकता उजागर र प्रवद्र्धन गर्न मद्दत गर्ने उनको भनाइ छ । दसैँ साधना, सामाजीकीकरण, नवनिर्माण, सरसफाइ, भेटघाट, मेलमिलाप, श्रद्धाभाव र आशीर्वादको चाडपर्व भएकाले यसको महत्व धेरै रहेको टन्डन बताउँछन् । 

‘हाम्रो नेपाल सामाजिक, धार्मिक तथा सांस्कृतिक रूपमा विविधता भएको देश हो । यहाँ फरक–फरक जातिले फरक–फरक चाडपर्व मानउँछन्, एउटै पर्व पनि भूगोल र समाजअनुसार फरक–फरक ढंगले मनाइन्छ र ती सबै चाडपर्वको महत्व पनि उत्तिकै छ,’ उनले भने, ‘दसैँको सामाजिक र सांस्कृतिक महत्व अझ बढी छ । दसैँ सबैजसो नेपालीले कुनै न कुनै रूपमा मनाइरहेका हुन्छन् । यो देशव्यापी चाड हो ।’

दसैँमा नयाँ लुगा लगाउने, नयाँ खानेकुरा खाने, नयाँ वस्तुको खरिद तथा उपभोग गर्ने, नयाँ नोट प्रयोग गर्ने संस्कार छ । दसैँमा खुसियालीका साथै सांस्कृतिक पक्ष पूरा गर्न वस्तु तथा सेवाको माग उच्चदरमा बढ्ने गर्छ । यस्तै, आयको क्षमता नभए पनि चाडपर्व मनाउनुपर्दछ भन्ने मान्यता हाम्रो समाजमा छ । दसैँको महत्व सामाजिक एवं सांस्कृतिक रूपमा मात्रै नभई आर्थिक रूपमा पनि उत्तिकै रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । ‘दसैँको सांस्कृतिक महत्व छुट्टै छ, सामाजिक महत्व छुट्टै छ,’ उनले भने, ‘दसैँको आर्थिक महत्व पनि धेरै छ, दसैँले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।’ दसैँमा हुने उत्पादनदेखि व्यापार र उपभोगसम्मका गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाउन तथा विस्तार गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

 दसैँजस्ता ठूला चाडपर्वले अर्थतन्त्रमा के–कति योगदान गर्छन् भनेर अध्ययन नभए पनि यसको योगदान राम्रै हुने उनको अनुमान छ । ‘खासगरी दसैँले अर्थतन्त्रका सबै क्षेत्र चलायमान बनाउँछ । खासगरी थोक तथा खुद्रा व्यवसाय र यातायात क्षेत्रमा बढी चहलपहल हुन्छ,’ उनी थप्छन्, ‘तथ्यांक हेर्दा र विश्लेषण गर्दा साउनदेखि कात्तिकसम्मको चार महिनामा ४० प्रतिशत उपभोग्य वस्तु उपभोग हुने अनुमान गर्न सकिन्छ, जसमा दसैँ, तिहारजस्ता ठूला चाडपर्व पर्छन् ।’ सामान्य अवस्थाको तुलनामा दसैँमा लत्ताकपडा, माछामासु, फलफूल, तरकारी, खाद्यान्नलगायतको व्यापार ५०–६० प्रतिशत बढी हुने गरेको राष्ट्रिय व्यापार संघका उपाध्यक्ष रामचन्द्र पराजुली बताउँछन् । तर, यसपटक सामान्य अवस्थाको तुलनामा थोरै मात्रै व्यापारमा वृद्धि देखिएको उनले बताए । दसैँमा करिब १० अर्ब रुपैयाँबराबरको नयाँ नोट सटही हुन्छ । यद्यपि, राष्ट्र बैंकले नयाँ नोटलाई भन्दा पनि डिजिटल भुक्तानीलाई बढी जोड दिएको छ । अघिल्ला वर्षहरूमा जस्तो यस वर्ष नयाँ नोट साट्नेको भिड नदेखिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । 

दसैँमा खुसियालीका साथै सांस्कृतिक पक्ष पूरा गर्न वस्तु तथा सेवाको माग बढ्ने गर्छ । दसैँको महत्व सामाजिक एवं सांस्कृतिक रूपमा मात्रै नभई आर्थिक रूपमा पनि उत्तिकै छ ।

आयातमुखी अर्थतन्त्र भएका कारण आयातमा आधारित उपभोग बढी हुने भएकाले दसैँले अर्थतन्त्रको बाह्य क्षेत्रको चापलाई अझ बढाउने अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउँछन् । ‘दसैँमा उपभोग र खर्च धेरै हुन्छ, तर उत्पादनमुखी हुँदैन,’ उनले भने, ‘यसले अर्थतन्त्रलाई चलायमान बनाए पनि हाम्रो अर्थतन्त्र आयातमुखी भएकाले त्यसले शोधनान्तर घाटा अझ बढाउन सक्ने देखिन्छ ।’

साइत, साधना, सुरक्षा र सतर्कता
नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले नवरात्र (घटस्थापना) देखि कोजाग्रत पूर्णिमासम्मको शुभसाइत सार्वजनिक गरिसकेको छ । साइतअनुसार साधना गर्नुपर्ने संस्कृतिविद्हरू बताउँछन् । यति मात्रै होइन, सरकारले दसैँलक्षित अनुगमनलाई समेत तीव्रता दिइरहेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा उपत्यकाकेन्द्रित संयुक्त बजार अनुगमन भइरहेको छ । विभागका निर्देशक होमनाथ भट्टराईले हाल दैनिक नौवटा टोली परिचालन भइरहेको र औसतमा ५० वटा फर्म–पसलको अनुगमन भइरहेको बताए । 

जिल्लामा पनि स्थानीय संयन्त्रले अनुगमन गरिरहेको उनको भनाइ छ । दसैँ नजिकिँदै गर्दा नेपाल प्रहरीले बजार र बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी सुरक्षा योजना बनाई कार्यान्वयन सुरु गरेको छ । ‘सुरक्षित रूपमा जनतालाई चाडपर्व मनाउन भरपर्दाे वातावरण बनाउन प्रहरीले आफ्नो सक्रियता बढाएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । 

७७ जिल्लालाई हेडक्वार्टरले बुँदागत रूपमा निर्देशन दिएको र जसअनुसार चाडपर्व विशेष सुरक्षा योजना कार्यान्वयनमा आइसकेको उनले सुनाए । दसैँमा काठमाडौंबाट २० लाख मानिस बाहिरिने यातायात व्यवसायीको अनुमान छ । यस वर्षका लागि यातायात व्यवसायीले तीन सय नयाँ बससमेत थपेका छन् । ट्राफिक प्रहरीले पनि सडकमा चाडपर्वलक्षित विशेष चेकजाँच सुरु गरेको जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ६ वटै मुख्य नाकामा चाडपर्वलक्षित चेकजाँच सुरु गरिसकेको छ । यात्रुबाहक गाडीको अवस्था जाँचदेखि यात्रुको संख्या तथा लामो दूरीमा दुईजना चालक राखे–नराखेको हेर्न थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए । 

दसैँ सामाजिक र सांस्कृतिक रूपमा धेरै महत्वपूर्ण छ

 डा. गोविन्द टन्डन
संस्कृतिविद्

हाम्रो नेपाल सामाजिक, धार्मिक तथा सांस्कृतिक रूपमा विविधता भएको देश हो । यहाँ फरक–फरक जातिले फरक–फरक चाडपर्व मनाउँछन् । एउटै पर्व पनि भूगोल र समाजअनुसार फरक–फरक ढंगले मनाइन्छ । सबै चाडपर्वको महत्व उत्तिकै छ । दसैँको सामाजिक र सांस्कृतिक महत्व अझ बढी छ । दसैँ भनेको सबैजसो नेपालीले कुनै न कुनै रूपमा मनाइरहेका हुन्छन् । यो देशव्यापी चाड हो । यसलाई हिन्दूहरूले मात्रै मान्न हुँदैन भन्ने मेरो धारणा छ ।

कसैले रातो त कसैले सेतो टीका लगाउला, कसैले माछामासु खाला, कसैले नखाला, कोही घुम्न जाला । दसैँले देशलाई जोड्न, विविधतामा एकता कायम राख्न महत्व राख्छ । नेपालीको अनेकताभित्रको एकता उजागर र प्रवद्र्धन गर्न मद्दत गर्छ । दसैँ साधनाको पर्व हो । नवरात्रभर विभिन्न देवीहरूको पूजाआज गर्छौँ । नवदुर्गा, महालक्ष्मी र सरस्वतीको पूजा गरिन्छ । हरेक मान्छेलाई ऊर्जा चाहिन्छ, त्यो ऊर्जा प्राप्त गर्न साधना गर्नुपर्छ । खासमा कालरात्रि भनेको त्यो दिनसम्मको अँध्यारो कालो हट्ने, अज्ञानता, विवेकहीनता, कमजोरी हट्ने र भोलिपल्ट अर्थात् विजयदशमीको दिन उज्यालो आउने, विवेक आउने, अज्ञानता हट्ने र ऊर्जा प्राप्त हुने हो । 

खुसी, उल्लाससँगै दसैँमा विकृति पनि बढिरहेको छ । जुवातास खेल्ने, मद्यपान गर्नेजस्ता विकृति पनि बढिरहेका छन् । दसैँको अर्को महत्वपूर्ण पाटो भनेको सामाजीकीकरण हो । दसैँले बिग्रेको सम्बन्ध पनि सुधार्छ । यही वेला घर सम्झेर परदेशबाट फर्कने, भेटघाट गर्ने, मेलमिलाप गर्ने कर्म हुन्छ । मठमन्दिर तथा आफ्नो घरगाउँ सरसफाइ पनि गरिन्छ । दसैँले ठूलाप्रतिको श्रद्धाभाव उजागर र प्रवद्र्धन गर्छ । आशीर्वाद लिने तथा दिने काम हुन्छ । त्यो संसारमा कहीँ छैन । दसैँभित्रको संस्कृतिलाई बढाउने र विकृतिलाई हटाउनेतर्फ सबैको ध्यान जानुपर्छ ।

दसैँले अर्थतन्त्रलाई चलायमान बनाउँछ

 डा. गुणाकर भट्ट
प्रवक्ता, नेपाल राष्ट्र बैंक 

दसैँले अर्थतन्त्रका सबै क्षेत्रलाई चलायमान बनाउँछ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मापनका लागि अर्थतन्त्रका विभिन्न १८ क्षेत्र छुट्याइएका छन् । यी अधिकांश क्षेत्रलाई दसैँ र यससँगै आउने ठूला चाडहरूले चलायमान बनाउँछ । खासगरी थोक र खुद्रा व्यवसाय एवं यातायात क्षेत्रमा बढी चहलपहल हुन्छ । यो क्षेत्रको क्रियाकलाप बढी हुन्छ । दसैँमा सहरबाट गाउँ जाने मानिसले त्यहाँ कृषि खपतदेखि उत्पादनसम्म योगदान गर्छन् । सहरबाट घरगाउँ गएका वेला खेतीपाती लगाउन श्रम योगदान गर्छन् । 

दसैँका वेला सरकारको चालू खर्च बढ्छ । सरकारमा आश्रित मानिसले दसैँभत्ता, पेस्कीलगायत सरकारबाट खर्च पाउँछन्, जुन उपभोगमा बढी खर्च हुन्छ । साउनदेखि कात्तिकसम्मको चार महिनामा सबैभन्दा बढी उपभोग्य हुन्छ । उपभोग्य सामग्रीको आयात पनि यही वेला बढी हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । तथ्यांकहरू हेर्दा, विश्लेषण गर्दा ४० प्रतिशत उपभोग यही चार महिनामा हुने अनुमान गर्न सकिन्छ । दसैँका वेला सहरबाट गाउँ जानेको संख्या धेरै हुन्छ । त्यसैले हवाई तथा सडक यातायात यो वेला ‘बुस्ट’ हुन्छ । यसले यो क्षेत्रको वृद्धि राम्रै गराउँछ । 

यही सिजनमा विदेशी पर्यटक पनि बढी आउँछन् । नेपालमा सबैभन्दा लामो बिदा हुने तथा मौसम पनि राम्रो हुने भएकाले विदेशी पर्यटक आउँछन् । अहिले नेपाली आफैँ पनि आन्तरिक गन्तव्यमा भ्रमण गर्ने चलन पनि बढेको छ । यसर्थ, दसैँका वेला पर्यटन क्षेत्र पनि चलायमान बन्छ । यस वेला ग्रामीण अर्थतन्त्र पनि चलायमान हुन्छ । सडक, बाटो तथा गाउँघरमा रहेका स–साना होटेल एवं पसलहरू धेरै चल्छन् । जमघट हुन्छ । सारमा भन्नुपर्दा, दसैँको वेलामा उपभोगसम्बन्धी गतिविधि धेरै हुन्छन् ।