निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
नागरिकताको माग गर्दै युवाहरूले केही दिनदेखि माइतीघरमा धर्ना दिइरहेका छन्
टेकराज थामी काठमाडाैं
२०७९ असोज ६ बिहीबार ०६:२१:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मुलुकभित्रै अनागरिक बनेका ‘नागरिक’को वेदना : नागरिकता नहुँदा मोबाइलको ‘सिम’देखि घरजमसमेत प्रभावित

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ असोज ६ बिहीबार ०६:२१:००

धनुषा गणेशमान–चारनाथ नगरपालिका– ३ का २९ वर्षीय इन्द्रजित साफीले तीन वर्षअघि दुःखले इन्जिनियरिङ पास गरे । त्यसलगत्तै बबरमहलस्थित बिएस बिल्डर कम्पनीमा उनले नाम पनि निकाले । तर, कम्पनीले जब नागरिकता खोज्यो, उनले पेस गर्न सकेनन् । फलतः जागिरबाटै सधैँका लागि बिदा हुनुपर्‍यो । 

नागरिकता नहुँदा सिम कार्ड, लाइसेन्स, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्रजस्ता राज्यबाट प्रदत्त आधारभूत सुविधाबाटै उनी वञ्चित बने । उनको प्रेममा समेत नागरिकता नै समस्या बनेर आइदियो । प्रेममा छँदा प्रेमिकासँग नागरिकताको प्रसंग कहिल्यै नउठाएका उनले विवाहपछि नागरिकताकै कारण झमेला व्यहोर्नुपर्‍यो । विवाहपछि जब श्रीमतीले इन्द्रजितको नागरिकता नभएको बुझिन्, उनी डिभोर्स माग्ने मनस्थितिमा पुगिन् ।

केही दिनभित्रै नागरिकता बनाउने आश्वासनमा साफीले श्रीमतीलाई त मनाए । तर, ससुराली पक्ष उनीहरूको सम्बन्धमा अवरोध बनेर उभिए । हेदाहेर्दै बल्लतल्ल बसेको घरजम समाप्त हुने चरणमा पुगेपछि उनी ससुराली पुगेर पुनः भनेका छन्, ‘ढुक्क हुनुहोस् । केही दिनभित्रै म नागरिकता लिएर तपाईंकहाँ खडा हुनेछु ।’तर, उनले ससुरालीमा दिएको आश्वासन सजिलै पूरा हुने छाँट देखिएको छैन । किनकि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरिदिँदा कानुनतः निष्क्रिय भइसकेको छ । रन्थनिएका उनी बुधबार उनीजस्तै नागरिकताविहीनसँगै माइतीघर मण्डलामा धर्नामा भेटिए । 

विरोध कार्डसहित नारा लगाइरहेका इन्द्रजित भन्दै थिए, ‘हजुरबुबा, बुबा र आमाको जन्मसिद्धका आधारमा नागरिकता छ । हजुरआमासँग वंशजको नागरिकता छ । तर, मसँग न जन्मसिद्धका आधारमा नागरिकता छ, न वंशजको नै । म यो मुलुकको जिम्मेवार नागरिक हुँ । राज्यले मलाई अनागरिक बनाउन पाउँदैन । संविधानले दिएको अधिकार कार्यान्वयन हुनुपर्छ ।’

इन्द्रजितको भन्दा फरक छैन, मोरङ कटारी गाउँपालिका– ४ का २५ वर्षीय नीरजकुमार कामतको पीडा । उनका हजुरबुबा र बुबासँग जन्मसिद्धका आधारमा नागरिकता छ । हजुरआमा र आमासँग वंशजको । तर, उनीसँग दुईमध्ये कुनै पनि नागरिकता छैन । जसकारण उनी राज्यले दिने छात्रवृत्तिबाट त वञ्चित बने नै, न्यूनतम सुविधा मानिने मोबाइलको ‘सिम कार्ड’ लिनबाट समेत वन्चित भए । 

नागरिकता नहुँदा उनले पनि न बैंकमा खाता खोल्न सकेका छन्, न सवारीसाधन चलाउने लाइसेन्स नै लिन पाएका छन् । उच्च शिक्षाका लागि विदेश जान चाहेका उनको पासपोर्ट नागरिकताकै कारण रोकिएको छ । मतदाता परिचत्रपत्र नहुँदा उनले कुनै पनि निर्वाचनमा मत हाल्न पाएका छैनन् । हुँदाहुँदा बल्लतल्ल मिलेको जागिरबाट समेत उनले हात धुनुपरेको छ । 

उनले भने, ‘म अहिले मीनभवन क्याम्पसमा बिबिएस पढ्दै छु । मेरो पढाइ राम्रो छ । तर, आर्थिक अवस्था कमजोर छ । छात्रावृत्तिका लागि अप्लाई गर्न नागरिकता चाहिने रहेछ, मसँग भएन । त्यहाँबाट वन्चित भएँ । मोबाइलको सिम बुबाको नाममा झिकेको छु । बैंकमा खाता छैन । नागरिकता नहुँदा म पाइला–पाइलामा अड्किएको छु ।’

स्नातक गरेका पर्सा वीरगन्ज महानगरपालिका– १३ राजमाईका २५ वर्षीय आशिष दासले प्रतिष्ठित निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनमा जागिर पाए । तलब आकर्षक थियो । उत्साहित उनी काममा दिनरात घोटिन थाले । महिना बित्यो । तलब लिने समय आयो । भुक्तानीका लागि कन्स्ट्रक्सन प्रशासनले बैंकको खाता नम्बर माग्यो । तर, उनले दिन सकेनन् । किनकि उनको नागरिकता नै बनेको छैन । त्यसो हुँदा उनको नाममा बैंक खाता खुल्ने कुरै भएन । सोही कारण उनले आकर्षक जागिर गुमाउनुप¥यो । 

त्यसअघि उनले बारास्थित ‘बारा प्ल्स’ नामको गैरसरकारी संस्थामा आकर्षक तलबको जागिर पाएका थिए । तर, त्यहाँ पनि तबल बैंक खाताबाटै भुक्तानी गर्ने नियमका कारण उनले खाता नम्बर उपलब्ध गराउन सकेनन् । दुई महिनामै जागरिबाट राजीनामा दिनुपर्‍यो । आकर्षक दुईवटा जागिर गुमाएका उनले वीरगन्जस्थित मनोज ग्यास उद्योगमा मुस्किलले जागिर पाएका छन् । नागरिकताकै कारण उनको यो जागिर पनि कुन दिन गुम्ने हो ठेगान छैन । कलैयास्थित विद्युत् प्राधिकरणमा जागिरे उनकी आमा गीताकुमारीसँग वंशजको नागरिकता छ । बुबा गोविन्द दास बनियाँले जन्मका आधारमा नागरिकता लिएका छन् । आमा र बुबा दुवै लिएर नागरिकता लिनकै लागि उनले नौ वर्ष त प्रशासन धाए । नागरिकताकै लागि उनले गुहार नमागेका अब कुनै दलका नेता बाँकी छैनन्, तरैपनि नागरिकता बन्न सकेन । 

माइतीघर मण्डलास्थित सडकमा भेटिएका उनले भने, ‘नागरिकता नबनेकै कारण मैले अवसरबाट हात धुनुपर्‍यो । नौ वर्ष बित्यो नागरिकता बनाउन हिँडेको । यस क्रममा लाख कोसिस गरेँ । तर, नागरिकता बनेन । कतैबाट केही नचलेपछि अहिले पीडा सुनाउन यहाँ आएको छु । मेरो पीडा नजिकै रहेको सिंहदरबारले अवश्य सुन्नेछ । नागरिकता बन्नेमा म विश्वस्त छु ।’

उदयपुरको गाईघाट नगरपालिका– ११ का २४ वर्षीय पिन्टुकुमार शर्मासँग पनि नागरिकता छैन । बानेश्वर क्याम्पसमा बिबिएस अध्ययन गरिहेका उनी सेनामा जागिर खान चाहन्थे । तर, नागकिरता नहुँदा उनको चाहना पूरा हुन सकेन । त्यसपछि उनी सपिङ मलमा ‘सेल्स ब्वाई’ भए । त्यहाँ पनि नागरिकताको खोजी भयो । नागरिकता उपलब्ध गराउन नसकेपछि उनले सेवाबाट बिदा हुनुपर्‍यो । पाइला–पाइलमा अवरोध सामना गरेका उनले पछिल्ला दिन नागरिकताविना उच्च शिक्षा हासिलको औचित्यसमेत देख्न छाडेका छन् । त्यसो हुँदा उनको अध्ययनमा समेत अहिले ह्रास आएको छ । ‘नागरिकता छैन । त्यो नभई केही गर्न नपाइने रहेछ । मैले त पढाइको औचित्य पनि देख्न छाडेँ । जागिर नै नपाएपछि पढेर के गर्नू ? मजस्तै अरूले पनि त जागिर पाएका छैनन् नि !’ उनले भने । 

नागरिकताविहीनको मुद्दासँग सरोकार राख्ने तराई मधेस नेसनल काउन्सिलका अनुसार नागरिकताविहीन हुनेहरू मुलुकभित्र पाँच लाखभन्दा धेरै छन् । नागरिकता नहुँदा उनीहरूले राज्यबाट प्रवाह हुने न्यूनतम सुविधासमेत उपभोग गर्न सकेका छैनन् । काउन्सिलका कोषाध्यक्ष गौतम शर्माले भने, ‘नागरिकताविहीनहरूको समस्या विकराल छ । विशेषगरी तराईमा यो समस्या अझ जटिल छ । उनीहरूले राज्यबाट प्रवाह हुने न्यूनतम सुविधासमेत लिन सकेका छैनन् । मुलुकभित्रका नागरिकलाई राज्यले यसरी अनागरिक बनाउनु ठीक होइन ।’