Skip This
धारिलो हतियार प्रयोग गरी भुटानी शरणार्थीको हत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ५ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ असोज ५ बुधबार २o:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धारिलो हतियार प्रयोग गरी भुटानी शरणार्थीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ५ बुधबार २o:५८:oo

दमकस्थित भुटानी शरणार्थी शिविर बेल्डाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्या भएको छ। बुधबार साँझ धारिलो हतियार प्रहार गरी उनको हत्या भएको हो। 

झापा र इलामको सीमानास्थित इलामको चुलाचुली–५ मा एक समूहले धारिलो हतियारले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए।

धारिलो हतियारले आक्रमण गर्दा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका गुरुङको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा साँझ मृत्यु भएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए। 

उनलाई रतुवा नदीको झोलुंगे पुलनजिक आक्रमण गरिएको थियो। उनीमाथि केही युवाले सामूहिक आक्रमण गरेको प्रहरीको भनाइ छ। यद्यपि उनलाई आक्रमण गरेपछि उक्त समूह त्यहाँबाट फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

‘आक्रमण भएको समयमा कसैले देखेनछन्,’ एसपी घिमिरेले भने, ‘उनीहरूको खोजी भइरहेको छ।’

घटना स्थलनजिक प्रहरी चौकी छ। त्यहाँ प्रहरी नायब निरीक्षक बस्छन्। इलाम सदरमुकामबाट झन्डै पाँच घण्टाको दुरीमा घटना भएकाले एसपी घिमिरेसहितको टोली झापा हुँदै चुलाचुलीतर्फ आउँदै गरेको उनले बताए। 

त्यहाँ इलाका प्रहरी कार्यालय दमकबाट नजिकै पर्ने भएकाले प्रहरी घटनामा संलग्नको खोजीमा जुटेको उनले बताए । दमकबाट प्रहरी निरीक्षक देवानन्द मिश्रको टोली त्यहाँ गएको छ। गुरुङ पटक-पटक जेल बसेका व्यक्ति हुन्। 

उनी लागुऔषध र गाली बेइजती मुद्दामा जेल परेर भर्खरै छुटेको प्रहरीले जनाएको छ। आपराधिक पृष्ठभूमिका भएका कारण पुरानो रिसइबीले हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। गुरुङलाई बोलाएर योजनाबद्ध ढंगले आक्रमण गरिएको प्रहरीको दाबी छ। 

‘उनी आपराधिक पृष्ठभूमिका व्यक्ति रहेछन्। बेलडाँगी शिविरका भए पनि उनलाई इलामतर्फ बोलाएर आक्रमण गरेको रहेछ,’ एसपी घिमिरेले भने, ‘घटना सुनियोजित देखिन्छ। पाँच घण्टापछि हामी पुग्छौँ। अनुसन्धानबाट घटना किन घट्यो भन्ने खुल्नेछ।’