१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्यमा जटिलता बढेपछि डा. केसीलाई काठमाडौंतर्फ हिँडाइयो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

चिकित्सा क्षेत्र सुधारको मागसहित १० दिनदेखि धनगढीमा अनशनरत प्राडा. गोविन्द केसी आफ्नो स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि काठमाडौंतर्फ गएका छन्। डा. केसी आफ्नै खर्चमा श्री एयरलाइन्सको नियमित उडानबाट बुधबार बेलुकी काठमाडौं जान सेती प्रादेशिक अस्पतालबाट निस्केका हुन्।

स्वास्थ्यमा जटिलता बढ्न थालेपछि उनी काठमाडौं जान तयार भएका हुन्। ‘श्वासप्रश्वासमा समस्या, अक्सिजनको कमी, मांशपेशी बाउडिनेजस्ता समस्या देखिएका थिए। थप जटिलता आउन सक्ने भएकाले उहाँ काठमाडौं जान लाग्नुभएको हो,’ डा. केसीलाई सहयोग गर्दै आएका डा. अमृत जैसीले भने, ‘अनशन नतोड्ने र उतै अस्पतालमा बसेर अनशन गर्ने भन्नुभएको छ।’
     
यसअघि सरकारले डा. केसीलाई मंगलबार काठमाडौं लैजाने प्रयास गरेको थियो। त्यसका लागि सरकारले नेपाली सेनाको स्काई ट्रक धनगढी पठाएको थियो तर केसीले सरकारी जहाजमा काठमाडौं जान अस्वीकार गरेका थिए। काठमाडौं जाने क्रममा सेती प्रादेशिक अस्पतालमा पुगेका पत्रकारहरूलाई प्रतिक्रिया दिन खोजे पनि उनी बोल्न सकेनन्।
    
चिकित्सा तथा स्वास्थ्य क्षेत्र सुधारसँग सम्बन्धित मागहरू गर्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा अनशन सुरु गरेका थिए। अनशन बसेको तेस्रो दिनमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। अनशनको १०औँ दिन पुग्दा डा. केसीको स्वास्थ्यमा पोषण तत्व र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको अस्पतालले जनाएको छ। शरीरमा रक्तचाप र अक्सिजनको मात्रा कम भएको, मांशपेशी सुक्दै गएको र पेटमा कडा खालको अल्सरको लक्षण देखिएको डा. केसीको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए।

स्वास्थ्य अवस्था निकै नाजुक बनेकाले डा. केसी जुनसुकै वेला पनि बेहोस् हुन सक्ने अवस्था रहेको कमरले बताए। स्वास्थ्य अवस्था जटिल बनेको भन्दै अस्पतालले अनसनको आठौँ दिन उनलाई बहुविशेषज्ञ सुविधा भएको विशिष्टीकृत अस्पताल लैजान आग्रह गरेको थियो। डा. केसीले भने आफ्नो स्वास्थ्य अवस्था जटिल बने आफैँ काठमाडौं जाने उपचारमा संलग्न चिकित्सकलाई बताउने गरेका थिए। 

‘म आफैँ पनि चिकित्सक हो। जोखिमको अवस्था आए तपाईंहरूलाई समस्या हुने गरी म यहाँ बस्दिनँ भन्नुभएको थियो।’ डा. कमरले भने, ‘स्वास्थ्य अवस्था जटिल बनेकोले तत्कालै सुविधा सम्पन्न अस्पताल जान हामीले उहाँलाई अस्तिबाटै मनाउने कोसिस गरेका थियौँ।’