मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ५ बुधबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले भन्छ– सरकार चुक्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ५ बुधबार १४:०३:००

एमालेले तीव्र रूपमा फैलिरहेको डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको भन्दै नियन्त्रण र उपचारमा गम्भीर बन्न ध्यानाकर्षण गराएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेंगु फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका हुन् ।

‘राजधानी काठमाडौंमा डेंगु आममानिसमा फैलिएको छ । आमजनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ । यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्याे, त्यसमा सरकार चुकेको छ,’ भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सरकारी संयन्त्र असफल भएको छ ।’

डेंगुको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य संस्थामा बिरामीका लागि बेड छैनन् । हजारौँको संख्यामा बिरामीहरू स्वास्थ्य परीक्षणको अभावमा घरमै छटपटाउन बाध्य छन् । स्वास्थ्यकर्मीहरूसमेत संक्रमित भएकाले बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोललगायत अत्यावश्यक औषधिको अभाव भएको छ । फेरि पनि सरकार परिणामहीन भएको छ ।’

एमालेले डेंगु रोगको मूलस्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी–गैरसरकारी निकायबीच समन्वयात्मक परिचालन गर्न, सिटामोललगायतका औषधिको सहज उपलब्धता गराउन सरकारसँग माग गरेको छ । 

साथै, एमालेले पार्टीका तहगत कमिटी तथा जनसंगठन र पार्टी सदस्यहरूलाई डेंगु रोग नियन्त्रणमा योगदान गर्न आह्वान गरेको छ ।