मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकराज थामी काठमाडाैं
२०७९ असोज ५ बुधबार ०८:५०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लाल मोहम्मद हत्या प्रकरण : नख्खु कारागारभित्रै हत्या गर्ने योजना, सूचना पाएपछि प्रहरीले गोप्य रूपले पुर्‍याएको थियो रसुवा

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ असोज ५ बुधबार ०८:५०:००

गोठाटारमा सोमबार संसाँझै गोली हानी हत्या गरिएका सर्लाही हरिवन नगरपालिका– २ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमाथि जेलमै हुँदा हत्या गर्ने योजना रहेको खुलेको छ । सूचना चुहिएपछि मात्रै उनलाई गोप्य तवरले रसुवास्थित कारागार लगेर राखिएको थियो । विशेष ब्युरोका एक पूर्वअधिकृतका अनुसार केन्द्रीय कारागार सुन्धारामा रहेका युनुस अन्सारीको हत्या प्रयासकै वेला मोहम्मद दर्जीको हत्या गर्ने योजना बनाइएको थियो । युनुसमाथि २६ फागुन ०६७ मा केन्द्रीय कारागारभित्रै छिरेर हत्या प्रयास भएको थियो । हत्या अभियोगमा पक्राउ परेका मोहम्मद त्यसवेला ललितपुरस्थित नख्खु कारागारमा थिए । 

तर, योजनाको सुराक पत्तो पाएपछि उनलाई कारागार व्यवस्थापन विभागले रसुवास्थित कारागारमा गोप्य तवरले सरुवा गरिएको थियो । विशेष ब्युरोले सुराकको ‘भेरिफाई’ अन्सारीको हत्या प्रयासमा पक्राउ परेका भारतीय ‘सार्पसुटर’ जसजित सिंह भनिने मनमित सिंहबाट गरेको थियो । सोही ‘सुरक्षा थ्रेट’का कारण उनलाई रातारात रसुवास्थित कारागार सारिएको विशेष ब्युरोका एक पूर्वअधिकृतले बताए । ‘लाल मोहम्मदलाई नख्खु कारागारमै हत्या गर्ने योजना थियो । त्यसको सुराक प्रहरीले पायो । योजनाको ‘भेरिफाई’ पनि भयो । ‘सुरक्षा थ्रेट’ देखिएपछि उनलाई रातारात रसुवा कारागार सारिएको थियो,’ ती अधिकृतले भने ।

लाल मोहम्मद २० असार ०६४ मा अनामनगरस्थित पुलमा नक्कली भारु नोटका कारोबारी बलराम पटुवारको हत्यामा संलग्न थिए । ‘सार्पसुटर’को भूमिकामा रहेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । सोही अभियोगमा उनलाई पुर्पक्षका लागि नख्खु कारागारमा राखिएको थियो । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध नौ वर्ष कैद सजाय सुनुवाइ गरेको थियो । कैद सजाय भुक्तानपछि उनी २५ जेठ ०७३ मा जेलमुक्त भएका थिए । घटनामा संलग्नमध्ये पप्पु गुप्ता पनि उनीसँगै पक्राउ परेका थिए । घटनाका मुख्य योजनाकार मानिएका बाराका इल्ताफ हुसेन अन्सारी पनि भने फरार थिए । पछि उनले अदालतबाट अभियोगबाट सफाइ पाएका थिए । 

नेपालमा नक्कली भारु नोटको मुख्य कारोबारी हुन् युनुस अन्सारी । सोही अभियोगमा पटक–पटक पक्राउ परेका उनी अहिले पनि कारागारमै छन् । उनको विशेष सहयोगी भएर काम गर्थे, बाराका इल्ताफब हुसेन अन्सारी । उनलाई नक्कली भारुसहित प्रहरीले ०६६ मा ललितपुर र ०६७ मा काठमाडौंबाट पक्राउ गरेको थियो । उनकै योजनाअनुसार लाल मोहम्मदले २० असार ०६४ मा नक्कली भारुका अर्का कारोबारी बलराम पटुवारको हत्या गरेका थिए । प्रहरीका अनुसार नक्कली भारुको कारोबारमा विवाद भएपछि युनुस र इल्ताफकै योजनामा पटुवारको हत्या भएको थियो । तर, ठोस सबुत फेला पर्न नसक्दा युनुस र इल्ताफ जोगिएका थिए । मृतक लाल मोहम्मदलाई भारतीय खुफिया एजेन्सी ‘रअ’ले लाल भाइ, राता भैयालगायतका नामले चिन्थ्यो । उनको बारेमा जानकारी लिनुपर्दा ‘रअ’का अधिकारी नेपाल प्रहरीसँग ‘लाल भाइका हाल क्या है ?’ भनेर सोध्ने गर्थे । 

लाल मोहम्मद ‘स्पोन्सर्ड किलिङ’ ?
९ असोज ०६९ मा घन्टाघरनजिकैको सडकमा दिनदहाडै फैजन अहमदमाथि गोली प्रहार भयो । मोटरसाइकलमा आएका अपरिचितले उनीमाथि गोली प्रहार गरे । यही क्रममा आक्रमणकारीमध्ये एक फैजन नजिक पुगे । सटाएर टाउकोमै गोली प्रहार गरे । उनको टाउको र छातीमा पटक–पटक गोली प्रहार भएको थियो । सञ्चार उद्यमी जमिम साहमाथि पनि २४ माघ ०६६ मा लाजिम्पाटस्थित फ्रान्सेली दूतावास सामुन्नेको सडकमा दिनदहाडै गोली प्रहार भयो । याक एन्ड यती होटेलबाट उनी निवास फर्कंदै थिए । यही क्रममा मोटरसाइकलमा आएका अपरिचितले जमिम सवार गाडी अगाडि रोकेर टाउको र छातीमै गोली बर्साएका थिए । नक्कली भारु कारोबारमा सुन्धारास्थित केन्द्रीय कारागारमा कैदी जीवन बिताइरहेका अर्का सञ्चार उद्यमी युनुस अन्सारीमाथि २६ फागुन ०६७ मा गोली प्रहार भयो । फायर मिस हुँदा गोली उनको टाउको छोएर मात्रै पार भयो । 

१९ असोज ०६६ मा नेपालगन्जका व्यवसायी अब्दुल मजिद मनिहारमाथि गोली प्रहार भयो । उनीमाथि पनि टाउको र छातीमै गोली प्रहार भएको थियो । १५ असार ०५५ मा पूर्वमन्त्री मिर्जा दिलसादवेगको कालोपुलस्थित निवासमा सोही तवरले हत्या भएको थियो ।माथिका पाँचमध्ये चार हत्यामा गोली प्रयोग भएका थिए । जसको प्रहार ‘डेमो’ करिब–करिब एउटै थियो । र, अभियुक्त पनि सबै भारतीय ‘स्पोन्सर्ड’ ‘सार्पसुटर’ थिए । लाल मोहम्मदमाथि गोली प्रहारको ‘डेमो’ फैजन, युनुस, मजिम र मजिदकै जस्तो भएकाले हुँदा यो पनि ‘स्पोन्सर्ड किलिङ’ हुन सक्ने पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन् ।

 युरेनियमको खोजी कि लाल मोहम्मदको ‘रेकी’ ?
लाल मोहम्मदले जेलबाट छुटेपछि गोठाटारस्थित घर भाडामा लिएर गार्मेन्ट फ्याक्ट्री चलाउँदै आएका थिए । चार वर्षदेखि उनी सोही क्षेत्रमा बस्ने गरेका थिए । जुन बौद्ध क्षेत्रको ठीक पारिपट्टि छ । पछिल्लो केही समययता बौद्ध क्षेत्र युरेनियमका चर्चा छ । युरेनियम कारोबारकै अभियोगमा विशेष ब्युरोकै टोलीले गत ४ चैतमा ललितपुरका नवराज महतसहितको टोलीलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने भारतीय नागरिक ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र ४४ वर्षीय राजु ठाकुर पनि थिए । नेपालभित्र उनीहरूले नै युरेनियमजस्तो देखिने वस्तु भारतको गयाबाट भित्र्याएको अनुसन्धानबाट खुलेको थियो । उनीहरूले उक्त वस्तु बौद्ध जोरपाटी–नारायणटारस्थित एएनजे होटेलमा लुकाइराखेका थिए । धातु लुकाउन उनीहरूले होटेलको ४०२ र ४०४ नम्बरको दुईवटा कोठा असोजको दोस्रो सातादेखि नै बुक गरेका थिए । पछि उक्त वस्तु युरेनियम नभएको पुष्टि भएको थियो । त्यसैले पक्राउ परेका सबै हिरासतमुक्त भएका थिए ।

त्यसयता युरेनियमका नाममा भारतीय खुफिया एजेन्सीका गुप्तचर मात्र होइन, आइबी (इन्टेलिजेन्स ब्युरो)का सुुरक्षाकर्मीको अवागमनसमेत बौद्ध क्षेत्रमा बढेको थियो । यो तथ्यलाई नेपाल प्रहरीअन्तर्गतको विशेष ब्युरोबाट सार्वजनिक विभिन्न अभिव्यक्तिले पनि पुष्टि गरेका छन् । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल बौद्ध क्षेत्र युरेनियमका प्रसंगबाट चर्चित हुनु, भारतीय नागरिक पक्राउ पर्नु, आसपासका खुफिया एजेन्सीको सर्भिलेन्स बढेको समाचार सार्वजनिक हुनु अनौठो संयोगका रूपमा लिन्छन् । ‘सोमबार लाल मोहम्मदको गोली हानी हत्या भयो । त्यसअघि बौद्ध क्षेत्र युरेनियमको प्रसंगबाट चर्चामा रह्यो । भारतीय नागरिक पक्राउ पनि परे । 

अनुसन्धानमै अलमलिएको प्रहरीको ‘अनुसन्धान’ 
लाल मोहम्मदको हत्या भएको २४ घन्टा बितिसकेको छ । यसक्रममा प्रहरीले आक्रमणकारीले प्रयोग गरेको ‘कोसीपारि’ नामको होटेल र घटनास्थलमा बरामद पेस्तोलबाहेक केही पत्ता लगाउन सकेको छैन । यसअघिका हत्यामा अभियुक्तले टेलिफोनको प्रयोग गर्थे । त्यसो हुँदा प्रहरीले कल डिटेल रिपोर्ट (सिडिआर) उतारेर अभियुक्त पत्तो लगाउँथ्यो । तर, लाल मोहम्मद हत्यामा अभियुक्तबाट टेलिफोन प्रयोग भएको छैन । यद्यपि, प्रहरीले घटनास्थलबाट बरामद सिसिटिभी फुटेज, अभियुक्त भाग्न सक्ने ठाउँको अन्य सिसिटिभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ । तर, यसबाट पनि प्रहरीले कुनै ‘क्लु’ भेटाउन सकेको छैन ।

अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले घटनाको प्राविधिक तवरले अनुसन्धान भइरहेको बताए । ‘घटनालगत्तै प्रहरी अनुसन्धानमा जुटेको छ । घटनास्थलबाट प्राप्त दसीप्रमाण संकलन भएका छन् । सिसिटिभी फुटेज विश्लेषण हुँदै छन् । विशेष गरी प्राविधिक अनुसन्धानलाई प्रहरीले जोड दिएको छ । तर, अभियुक्तसम्म पुग्न भने सकिएको छैन । हाम्रो कोसिस जारी छ,’ उनले भने । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शंकास्पद ५० जनाभन्दा धेरै व्यक्तिसँग सोधपुछ गरिएको छ । जसमध्ये शंकास्पद दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संदिग्ध देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । 

 अनुसन्धान गर्न एसएसपीको  नेतृत्वमा विशेष छानबिन समिति 
गोठाटार गोलीकाण्डको अनुसन्धानका लागि प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको नेतृत्वमा विशेष समिति गठन गरेको छ । समितिमा काठमाडौंका एसपी दिनेश मैनाली, अपराध अनुसन्धान कार्यालयका डिएसपी कृष्ण चन्द र विशेष ब्युरोका अनुसन्धान अधिकारी छन् ।