मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज ४ मंगलबार ०८:५२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आजीवन कारावास भोगिरहेका प्यासी संविधान दिवसमा छुटे

Read Time : > 1 मिनेट
२०७९ असोज ४ मंगलबार ०८:५२:००

एमाले नेता एवं मुस्लिम इत्तेहाद संगठनका तत्कालीन केन्द्रीय अध्यक्ष महमुद आलमको हत्या अभियोगमा जेल सजाय काटिरहेका रामचन्द्र कुशवाहा प्यासी जेलमुक्त भएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद सजाय मिनाहा भएपछि प्यासी जेलमुक्त भएका हुन् । प्यासी वीरगन्जस्थित कारागारमा आजीवन कारावासको कैद सजाय भुक्तान गर्दै आएका थिए । प्यासीलाई सोमबार वीरगन्ज कारागारमा उपस्थित उनका परिवार र समर्थकले स्वागत गरे । 

आलमको हत्या उनकै योजनामा भएको पुष्टि भएपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले प्यासीलाई आजीवन कारावासको सजाय सुनाएको थियो । प्यासीसहित आलम हत्यामा संलग्न मोटरसाइकलचालक मनोज पाण्डेलाई पनि अदालतले आजीवन कारावास फैसला सुनाएको थियो । अन्य मतियार विपिन यादव, अतिक खान र राजु श्रीवास्तवलाई १० वर्षको सजाय तोकेको थियो ।

आलमको १८ असोज ०७० मा हत्या भएको थियो । चुनावी अभियानमा हिँडिरहेका वेला आलमलाई मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते आलमको २४ असोजमा उपचारका क्रममा मृत्यु भएको थियो । ५ मंसिर ०७० का लागि तोकिएको संविधानसभाको दोस्रो निर्वाचनका लागि बारा क्षेत्र नं. ४ बाट उम्मेदवारी दर्ता गराएको २४ घन्टा नबित्दै आलममाथि गोली प्रहार भएको थियो ।

आलमको मृत्युपछि एमालेले उनकी पत्नी नेजमा आलमलाई उठाएको थियो । उनी निर्वाचित भएकी थिइन् । एमालेका तत्कालीन सभासद्समेत रहेका रामचन्द्र प्यासी घटनाको मुख्य योजनाकार थिए । पार्टीले आफूलाई टिकट नदिएर आलमलाई दिएपछि उनले हत्या गरेर टिकट उम्काउने योजना बनाए । तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा घटनामा प्यासीको संलग्नता खुलेपछि ९ कात्तिक ०७० मा सिमराबाट उनलाई पक्राउ गरेको थियो । 

आलम हत्या अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका प्यासीलाई जिल्ला अदालत बाराले १५ वैशाख ०७३ मा १० वर्षको कैद सजाय सुनाएको थियो । उक्त कैद फैसलाविरुद्ध आलमपत्नी नेजमाले ३ कात्तिक ०७३ मा उच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि फैसला गर्दै उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो ।