मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कारेन आतिया
२०७९ असोज ३ सोमबार १०:२५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बेलायती साम्राज्यको कुरूप अनुहार

Read Time : > 3 मिनेट
कारेन आतिया
२०७९ असोज ३ सोमबार १०:२५:००

बेलायतमा सबैभन्दा लामो अवधि शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको मृत्युले एउटा प्रश्नमा विश्वव्यापी बहस निम्त्याउँदै छ : बेलायतको शक्तिशाली र ऐतिहासिक रूपमा क्रूर साम्राज्यका बफादार सेवकबारे हामी इमानदारीपूर्वक बोल्छौँ त ? मेरो उत्तर हुन्छ– तपाईंले सत्यलाई दृढतापूर्वक, विनाहिचकिचाहट ठूलो स्वरले बोल्नुहुन्छ । पछाडि भएकाले सुन्दैनन् भने ठूलो स्वरमा भन्न तपाईं माइक्रोफोन प्रयोग गर्नुहोस् । 

महारानीको मृत्यपछि अफ्रिकी, एसियाली, मध्यपूर्वीयाली, आइरिस र अरूहरूको जीवन्त अनुभव र बेलायतको ऐतिहासिक छवि (रेकर्ड) विपरीतका प्रोपगान्डा, काल्पनिकी र केही नै नभएकोजस्तो स्वाङ फैलाउने काम भइरहेको छ । ग्लोबल नर्थ (धनी र शक्तिशाली मुलुकहरू)को कल्पनिकीमा द्वितीय विश्वयुद्धपछिको विश्वका लागि महारानी शिष्टता (मर्यादा) र स्थिरताकी प्रतीक हुन् । तर, शताब्दीयौँदेखि बेलायतको आक्रमणमा परेका, उसले उपनिवेश बनाएका मुलुक (विशेषगरी ग्लोबल साउथ)का मानिसहरूका लागि भने ती ९६ वर्षीया हजुरआमा र बाँकी शाही परिवारका बाँकी सदस्यहरूले पेचिला भावनाहरू जगाउँछन् । 

त्यहाँ शाही परिवार र सामान्यतः बेलायतप्रति पनि श्रद्धा गर्नेहरू पनि छन् । विश्वास गर्नुस्, अफ्रिकी डायसपोरामा राजकुमारी डायनालाई माया गर्ने प्रशस्त अश्वेत महिला छन् । म मेरो बुबाको घानाली सहपाठीको आक्रास्थित घरमा जाँदा बकिंघम दरबारको भ्रमणमा खिचेका तस्बिर देखाउँदै उनले गरेको बिलौना कहिल्यै बिर्सिन्न । ‘उनीहरूले हामीमाथि शासन गरे’, उनले भनेकी थिइन्, ‘तसर्थ, हामी बेलायती हौँ ।’

तर, धेरैका लागि बेलायती र त्यसकारण महारानीसमेत यो मुलुकको ऐतिहासिक कुकृत्यका निम्ति दोषी छन् । पेन्सिलभेनिया कार्नेगी मेलोन विश्वविद्यालयकी प्राध्यापक उज्जु अन्या (जो नाइजेरियाली हुन्)ले गत बिहीबार ट्विट गरेपछि उनको कडा आलोचना भयो । उनले ट्विट गरेकी थिइन्, ‘मैले एक चोर, बलात्कारी र नरसंहारक साम्राज्यको मुलीको मृत्यु हुन लागेको सुनेँ । उनको पीडा चरम होस् ।’

मृत्योन्मुख महारानीलक्षित यी शब्द कटुता र घृणाले युक्त छन् । तर, अन्याजस्ता साम्राज्यले थोपरेका पीडा पुस्तौनी भोगेका र अग्रजहरूको हातबाट नरसंहार र विस्थापनबाट पीडित परिवारहरूले यसो भन्दा आश्चर्य मान्नुपर्दैन, निःसन्देह, महारानीको बचाउ गर्नेहरूसँग त्यसको जवाफ छ । उनीहरू महारानीको शासनकालमा उपनिवेशवाद समाप्त भएकाले उनी मुक्तिदाता हुन् र यसरी मुक्त भएका मानिसहरू उनीप्रति आभारी हुनुपर्छ भन्छन् । 

फेरि पनि, ऐतिहासिक रेकर्ड महत्वपूर्ण कुरा हो– जब एलिजाबेथले सन् १९५२ मा सत्तारोहण गरिन्, उनले विश्वशक्तिमा पकड कमजोर भएको बेलायतलाई विरासतमा पाइन् । बेलायतका उपनिवेशहरूमा विद्रोहीहरूले शक्ति सञ्चय गर्दै थिए । अफ्रिका र भारतमा बढ्दो स्वतन्त्रता आन्दोलनसँग जुझिरहेको बेलायतले द्वन्द्वका कारण आर्थिक क्षति पनि व्यहोर्नुपरिरहेको थियो । यी सबै कुराले बेलायतलाई पछि हट्न बाध्य तुल्याएको थियो । 

कुरूप वास्तविकता के भने बेलायतले योजनाबद्ध तरिकाले नै आफ्ना अपराधलाई भर्खरै स्वतन्त्रता प्राप्त गरेका देशबाट लुकाउने प्रयास गरेको थियो । उसले सन् १९६१ मा उपनिवेशकालीन हजारौँ दस्ताबेज नष्ट गर्‍यो, ता कि ‘महारानीको सरकारलाई लज्जित हुन नपरोस् ।’

तर पनि, एलिजाबेथ नेतृत्वमातहतको बेलायतले आफूले बडो मिहिनेतले आफूसँग उनेका आफ्ना बहुमूल्य उपनिवेशलाई टाढा जान दिएन । सन् १९५२ देखि सन् १९६३ बीचमा ब्रिटिस फौजले केन्यामा माउ माउ विद्रोहको दमन गर्‍यो, जसका कारण एक लाख ६० हजारदेखि तीन लाख २० हजार केन्याली कन्सनट्रेसन क्याम्पमा पुर्‍याइए । बेलायतको भूमि चोरी र यातनाको विरुद्धमा केन्याका आदिवासीले युरोपेली मानव अधिकार अदालतमा मुद्दा दायर गरिरहेका छन् ।राजावादीहरूले तर्क गर्न सक्छन्– संवैधानिक र प्रतीकात्मक राजतन्त्रको रूपमा आफ्नो लामो शासनकालमा भए–गरेका यी कुकर्ममा महारानीको कुनै जिम्मेवारी थिएन । 

तर, प्रतीकले अर्थ राख्छ । एलिजाबेथले स्वेच्छाले ब्रिटिस शक्ति र धनको प्रतिनिधित्व गर्ने भूमिका लिइन् । उनले स्वेच्छाले पूर्वउपनिवेशहरूबाट लुटिएका गरगहनाले आफूलाई सजाइन् । थुप्रै पूर्वउपनिवेश राष्ट्रका मुद्रामा उनको तस्बिर छ । ब्रिटिस कमनवेल्थको नेतृत्व गरेर उनले स्वेच्छाले पूर्वसाम्राज्यका काला मानिसहरूको प्रतीकात्मक ‘श्वेत आमा’को संरक्षक भूमिका ग्रहण गरिन् । जबकि सन् १९६० सम्म पनि ‘अश्वेत आप्रवासी वा विदेशीहरू’लाई शाही कार्यालयमा सेवा गर्न प्रतिबन्ध थियो । 

नाइजेरिया स्वतन्त्र भएको थुप्रै वर्षपछि सन् १९६० मा समेत बेलायत बियाफ्रान  पृथक्तावादी प्रयासलाई दमन गर्न नाइजेरियाली सेनालाई सघाउन पुग्यो । त्यसमा इबो जातिका करिब १० लाख मानिस या मारिए या त भोकभोकै मर्न बाध्य पारिए ।

अझै पनि केही मानिस भन्दै छन्, यो क्षण बेलायतका कुकृत्यबारे मुख खोल्नु हुँदैन । त्यो विगत धेरै बितिसक्यो, अब यसलाई हामीले बिर्सिनुपर्छ । कुरूप वास्तविकता के भने बेलायतले योजनाबद्ध तरिकाले नै आफ्ना अपराधलाई भर्खरै स्वतन्त्रता प्राप्त गरेका देशबाट लुकाउने प्रयास गरेको थियो । उसले सन् १९६१ मा उपनिवेशकालीन हजारौँ दस्ताबेज नष्ट गर्‍यो, ताकि ‘महारानीको सरकारलाई लज्जित हुन नपरोस् ।’ 

अतीत वर्तमान पनि हो भन्ने म आफैँ एउटा जीवन्त प्रमाण हुँ । स्वतन्त्रतापूर्व नाइजेरियामा जन्मेकी मेरी आमा ‘सम्राज्य दिवस’को दिन रंगशालामा मार्चपास गर्दै ‘गड सेभ द क्विन’ गाएको सम्झना गर्नुहुन्छ । सन् १९६० मा नाइजेरिया स्वतन्त्र भएको थुप्रै वर्षपछि समेत बेलायतले बियाफ्रान पृथक्तावादी प्रयासलाई दमन गर्न नाइजेरियाली सेनालाई सघाउन पुग्यो । त्यसमा इबो जातिका करिब १० लाख मानिस मारिए वा भोकभोकै मर्न बाध्य पारिए । मेरा हजुरबुबा, जो बियाफ्रानको मुख्य वित्तीय अधिकारीमध्ये एक थिए, उनी मेरी आमा र दाजुभाइलाई लिएर देश नै छाड्न बाध्य भए । 

बेलायतको औपनिवेशिक इतिहासलाई प्रकाशमा ल्याउन महारानीको मृत्युलाई उपयोग गर्नु हुँदैन । तर, हामी यही स्थितिमा छौँ । एउटी आफ्ना बफादारहरूप्रति समर्पित, वृद्ध हजुरआमाको जनसम्बन्धको छवि अनि शाही परिवारको हलिउडिफिकेसन (नायकीकरण)ले यो साम्राज्यबारेका प्रश्नलाई भुत्ते बनाउन धेरै राम्रो भूमिका निर्वाह गरेको छ । जब सत्यलाई सहतहमा ल्याउने मौका आउँछ, त्यसलाई सदुपयोग गर्नैपर्छ ।  

किनभने यसो गर्ने एउटा अर्को तरिका पनि छ– भविष्यका बारेमा छलफल गर्ने । तर, राजशाहीवादीहरूले त्यसलाई पनि गलत ठहर्‍याउन सक्छन् । महारानी एलिजाबेथ र खुइलिँदै गएको ब्रिटिस साम्राज्यको ह्यागियोग्राफी (सच्चरित्र लेखनी)ले बेलायतको बारेमा मात्र होइन, त्यही इतिहासमा निर्मित हाम्रो मौजुदा विश्व व्यवस्थाका बारेमा समेत सत्यलाई गुमराहमा पार्छ । यस दुःखको घडीमा उनको आत्माको शान्ति र उनको परिवारप्रति समवेदनाका लागि विराम लिए पनि हामी त्यो इतिहासका बारेमा सत्यलाई उजागर गर्न सक्छौँ । फेरि हामी महारानीले बडो निष्ठापूर्वक प्रतिनिधित्व गरेको अत्यन्त जातिवादी औपनिवेशिक साम्राज्यका अवशेषलाई भत्काउने काममा फर्किनुपर्छ ।