
नेपाल टेलिकमले भदौ ३१ अर्थात् आजदेखि इ–सिम वितरण सुरु गर्दै छ । कम्पनीले सुन्धारा काउन्टरबाट ग्राहकहरूलाई निःशुल्क इ–सिम वितरण गर्न लागेको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
हाल फिजिकल सिम प्रयोग गरिरहेका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी, नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम उपलब्ध गराइने जनाइएको छ । त्यस्तै, नयाँ प्रिपेड सिम लिन चाहनेलाई निकट भविष्यमा दिइने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनुपर्ने जनाइएको छ । यो एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिने टेलिकमले जनाएको छ ।
इ–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता नहुने, मोबाइल सेटबाहेक इ–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । हालका सबै प्रयोगकर्ताले समेत इ–सिम प्रयोग गर्न सक्ने तथा नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले इ–सिम लिन सक्ने कम्पनीले जनाएको छ ।