मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एन्ड्र्यु मिट्रोविचा
२०७९ भदौ २९ बुधबार १०:४१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

म्याद गुज्रिएको बेलायती राजतन्त्र

देश/विदेश

Read Time : > 2 मिनेट
एन्ड्र्यु मिट्रोविचा
२०७९ भदौ २९ बुधबार १०:४१:००

राजा चार्ल्स तृतीयले राज्यारोहण गर्दैगर्दा राष्ट्रमण्डलका केही राज्यले आततायी औपनिवेशिक इतिहासलाई त्यागेर परिपक्वता एवं सार्वभौमसत्ता रोजिरहेका छन्

महारानी एलिजाबेथ द्वितीयको अन्तिम तस्बिर साहै्र मायालाग्दो छ । बेल्मोरल दरबारको एउटा कोठामा थोरै झुकेकी र सफेद केशका गुच्छा भएकी महारानी खैरो रंगको लट्ठी टेकेर मुस्कुराइरहेकी छिन् र उनी मुस्कुराहटझैँ सुन्दर देखिएकी छिन् । रंग उडेको छाला र पातलो हातले यी वयोवृद्ध महारानीको घाम अस्ताउन लागेको निश्चित हो भन्ने देखाउँथ्यो । तैपनि, उनमा एक किसिमको सन्तोष भने झल्किन्थ्यो । उनले हालसालै नियुक्त भएकी नयाँ प्रधानमन्त्रीलाई ओहोदाको शपथ दिलाउने औपचारिक कार्यक्रमका लागि सामथ्र्य जुटाएर जीवनको अन्तिम क्षणमा आफूले निर्वाह गर्न सक्ने कर्तव्य पूरै लगावसाथ पूरा गरेकी थिइन् । एक ९६ वर्षकी भलादमी वृद्धाको निधन भएको छ ।

महारानीको मृत्युको घोषणायता मिडिया विषादपूर्ण श्रद्धाञ्जलीले भरिएका छन् । शवयात्रा र नयाँ राज्यारोहणका वेला सम्मानको एक किसिमको माहोल अपेक्षित नै हुन्छ । यद्यपि, यो शोककै घडीमा पनि महारानी एलिजाबेथ–द्वितीयले नेतृत्व गरेको साम्राज्यले विभिन्न ठाउँका मानिसलाई अपूरणीय क्षति र पीडा दिएको तथ्यको संज्ञान लिनुपर्छ । संज्ञान नलिनु भनेको अत्यन्त गैरजिम्मेवार हुनु र गम्भीर त्रुटि गर्नु हो । राजमुकुटले मूलतः गैरश्वेत राज्यमाथि ऐतिहासिक रूपमा हिंसा, नश्लभेद, दासत्व एवं हिंस्रक लुट मच्चाएर बेलायती औपनिवेशिक साम्राज्य निर्माण गरेको थियो । राजमुकुटको यो ऐतिहासिक अत्याचारलाई हालैका समयमा भने शाही परिवारका सदस्य स्विकार्न बाध्य भएका छन् ।       

वर्षको सुरुवातमा भएको राष्ट्रमण्डल सरकार प्रमुखको बैठकको उद्घाटन भाषणमा राजकुमार चार्ल्सले ‘ती समयबारे संवाद गर्ने वेला आइसकेको’ बताएका थिए । निःसन्देह ती समयमा गरेका कृत्यका लागि बेलायती राजसंस्थाले पश्चात्ताप गर्नुपर्ने नै छ । अस्वाभाविक नभए पनि दुःखसाथ भन्नुपर्छ, राजकुमारको भाषणमा न्यूनतम साधारण अभिव्यक्ति मात्रै थिए, जुन ‘पुराना समयबारे संवाद’को पहिलो कडी मात्रै हो । परोपकारी राजा वा रानीका नाममा कैयौँ कब्जा गरिएका मुलुकका आदिवासीको नृशंस दमन र संस्कृति नामेटका लागि स्पष्ट एवं पूर्णरूपमा माफीको अपेक्षा गरेका मानिस निराश भएका थिए । राजकुमार चार्ल्सले आफ्ना पुर्खाले गरेका कैयौँ परपीडनका घटनामध्ये दासत्वबारे बोलेका थिए ।   

‘हाम्रो समकालीन सम्बन्धको जरो हाम्रो इतिहासकै सबैभन्दा पीडायुक्त समयमा गढेर बनेको हो भन्ने तथ्यलाई म स्वीकार गर्छु । दासत्वको स्थायी दुष्परिणामबारे निरन्तर रूपमा जानकार हुँदै गर्दा ती कैयौँको पीडाले व्यक्तिगत रूपमा परेको चोटलाई म व्यक्त गर्न सक्दिनँ’ चार्ल्सले स्विकारेका थिए । यो अभिव्यक्ति माफी त थियो, तर तत्कालीन उत्तराधिकारी र हालका राजाका हैसियतले अपूरो माफी थियो । 

अहिले राजा चार्ल्स–तृतीय राज्यारोहण गर्दै गर्दा आफ्ना पुर्खाले मच्चाएको दासत्वको विरासतलाई लिएर सोचमग्न भइरहँदा राष्ट्रमण्डलका केही राज्यले आततायी औपनिवेशिक इतिहासलाई त्यागेर परिपक्वता एवं सार्वभौमसत्ता रोजिरहेका छन् । गत डिसेम्बरमा क्यारेबियन टापु राज्य बारबाडोसले आफूलाई मिथकीय ‘मातृभूमि’बाट पूर्ण रूपमा आजाद बनाएको छ । त्यतिवेला लाचार राजकुमार चार्ल्स यो सानो अधीनस्थ राज्य पूर्ण गणतान्त्रिक रूपान्तरणको साक्षी बनेका थिए ।

एक गणतन्त्रवादीका नाताले गणतन्त्रात्मक राज्य हुने निर्णय गरेर बारबाडोसका जनताले उत्तम विचार एवं काल्पनिकीको प्रमाण पेस गरेका छन् । राष्ट्रमण्डल राज्य एवं बेलायतबीचको ‘अटुट सम्बन्ध’को भाष्य भावनामा अत्यधिक डुबेका र इतिहासको स्वैरकल्पनामा डुलिरहेका ती व्यक्तिका बेतुके परिकल्पना हो, जो बेलायती राजतन्त्रको ‘खयाली पुलाउ’मा रमाइरहन्छन् । आशा छ, अन्य राष्ट्रमण्डल राज्यले पनि बारबाडोसबाट प्रेरणा लिनेछन् । बेलायती राजवंशलाई जोखिममा रहेका बालबालिकामाथि बलात्कारजस्ता घृणित यौन अपराधको आरोप लागेका कारण पनि बारबाडोसबाट प्रेरणा लिनुपर्छ । राजकुमार एन्ड्रयु बालिकालाई सम्मोहनमा पारेर यौन प्यास मेटाउने अन्तर्राष्ट्रिय योजनाका एक सदस्य भएको आरोप लागेको छ ।

जहाँ पासोमा पारिएका बालिकालाई एन्ड्र्यु र हालै जेलमा आत्महत्या गरेका एकजना कुख्यात बाल यौन दुराचारीले बलात्कार गर्थे भनिएको छ । अहिले राजकुमार एन्ड्र्यु सार्वजनिक जीवनमा देखा पर्दैनन् । पैसा, पद र प्रतिष्ठाले एन्ड्रयु जोगिएका हुन् । यिनै अवयवका कारण एन्ड्रयुकी मायालाग्दी आमाको विरासत पनि जोगिएको हो । राजकुमार एन्ड्रयुको कृत्यले शाही परिवारको विशेषाधिकार, दण्डहीनताको आभास र हामी विशेष परिवारमा जन्मेकै कारण हामीलाई केही हुँदैन भन्ने घिनलाग्दो वास्तविकतालाई उजागर गरेका छन् । यी वास्तविकतालाई राजपरिवारको जनसम्बन्ध संयन्त्रले लुकाउने हरसम्भव प्रयास गर्ने गर्छ र यही प्रयासअन्तर्गत राजकुमार एन्ड्रयुलाई गुप्तवासमा पु¥याइयो र तथाकथित शाही ‘कर्तव्य’बाट ‘च्युत’ गराइयो । 

यसै सन्दर्भमा राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले ओप्राह विन्फ्रेलाई दिएको अन्तर्वार्तामा राजतन्त्रको म्याद उहिल्यै सकिएको बताएका थिए । सो अन्तर्वार्तामा यो जोडीले राजमहलमा हुने नियोजित धोकाधडीबाट मुक्त भएर लस एन्जेलसमा उन्मुक्त जीवन बिताइरहेको समेत बताएका थिए । जहाँ मेघनले ‘स्वैरकल्पनाको अवास्तविक जीवन’बाट ‘असली’ जीवन जिउन पाएको बताएकी थिइन् भने राजकुमार ह्यारीले आफ्ना बुबा र दाइ दरबारिया ‘व्यवस्था’मा ‘फसेको’समेत स्विकारेका थिए ।

यी जोडीले ‘आधुनिक’ बेलायती राजपरिवारमा पहिलेजत्तिकै नश्लभेद व्याप्त रहेकोसमेत खुलासा गरेका थिए । यद्यपि राजतन्त्रबारे लोकप्रियताको भ्रम जीवित नै छ । यसो हुनुको पछाडि ह्यारी दम्पतीका अनुसार बकिंघम दरबार र मिडियाको गठजोडले काम गरेको छ । ह्यारी दम्पतीको खुलासा राजतन्त्रको अन्त्येष्टि आवश्यक छ भन्ने प्रमाण हो । आउँदा केही दिनमा राजतन्त्र महान् थियो भनेर मिडियाबाट स्तूतिगान प्रसारण गरिनेछ । जहाँसम्म मेरो कुरो छ, म यी सामग्री हेर्ने, पढ्ने वा सुन्नेछैन किनभने मैले गर्नुपर्ने धेरै आवश्यक काम बाँकी नै छन् । 

(मिट्रोविचा अलजजिराका स्तम्भकार हुन्) 
अल जजिराबाट