१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ २७ सोमबार ०९:१०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाढीपीडितले मन्त्री बडूसँग भने– जिन्दगीभरको कमाइ गयो, हामीलाई पुनर्स्थापना गरिदिनुस्

Read Time : < 1 मिनेट
२०७९ भदौ २७ सोमबार ०९:१०:००

महाकाली नगरपालिका– ४ बंगाबगडका कलावती रुँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूनजिकै पुगिन् । ‘जिन्दगीभरको कमाइ सर्वनाश हुने भयो । छोराछोरी कहाँ लिएर राखुँ ?’ उनले बडूसँग प्रश्न गरिन् । 

उनकै जस्तै समस्या छ, रामसिंह कार्कीको । शनिबार बिहान ४ बजे लास्कु खोलाको बाढी महाकालीमा मिसिएपछि बंगाबगडको सुरुमै रहेको घर क्षणभरमै महाकालीमा विलय भयो । जागिरे जीवन गरेर बनाएको घर महाकालीमा मिसिएपछि उनले दुई दिनदेखि राम्रोसँग बोल्न सकेका छैनन् । यो क्षेत्रका दर्जनभन्दा बढी घर महाकालीमा डुबे । 

बाढी प्रभावित यतिखेर विभिन्न सरकारी भवन तथा आफन्तकोमा आश्रय लिएर बसेका छन् । ‘कति दिनसम्म सरकारी कार्यालय र अरूको घरमा आश्रय लिने हो,’ बाढीपीडित अमरसिंह महराले भने, ‘कहिले फर्कने, कसले घर बनाइदिने भन्ने अन्योल छ ।’ 

०७० को बाढीपछि महाकाली छेक्न पक्की तटबन्ध बन्यो । धेरैले अब तटबन्ध निर्माणपछि खलंगा सुरिक्षत भएको ठाने । चारैतिर घर निर्माण भए । तर, लास्कु खोला र महाकालीको उर्लंदो भेलअगाडि साढे चार मिटर उचाइको तटबन्धले नदीको वेग थेग्न सकेन । तटबन्ध क्रस गर्दै महाकालीको बाढीले सडकभन्दा माथि निर्माण भएका घरहरू सेकेन्डभरमै ध्वस्त बनायो । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका– ४ बंगाबगड क्षेत्रमा बस्ती जोगाउन साथ दिने बताएका छन् । उनले तटबन्ध बनाउन ढुंगा बोकेर स्थानीयलाई साथ दिएका छन् ।

शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला पुगेका मन्त्री बडूले लास्कु खोलामा तटबन्ध बनाउन ढुंगा बोकेर साथ दिएका हुन् ।