१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बजारबाट एक महिनामै  ४२ करोडभन्दा बढी पुँजीगत लाभकर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:५१:oo

धितोपत्र बजारबाट सरकारलाई चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ४२ करोड ६ लाख ४३ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । धितोपत्रको दोस्रो कारोबार गरी नाफा कमाएका लगानीकर्ताबाट सरकारले अल्पकालीन र दीर्घकालीन लगानीकर्ताबाट सो रकम संकलन गरेको हो ।

धितोपत्र बोर्डको राफसाफ गर्ने प्रणाली सिडिएससी क्लियरिङ लिमिटेडका अनुसार सरकारले दीर्घकालीन लगानीकर्ताबाट १५ करोड ७० लाख रुपैयाँ र अल्पकालीन लगानीकर्ताबाट २६ करोड ३५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ । सरकारले अघिल्लो आर्थिक वर्षबाट अल्पकालीन र दीर्घकालीन लगानीकर्तामा वर्गीकरण गरेर  पुँजी बजारबाट कर उठाउँदै आएको छ ।

सरकारले धितोपत्रको दोस्रो बजारबाट नाफा कमाएको खण्डमा १० प्रतिशतसम्म पुँजीगत लाभकर संकलन गर्दै आइरहेको छ । संस्थागत लगानीकर्ताबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताबाट कम्तीमा ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर संकलन हुने गरेको छ । एक वर्षभन्दा बढी सेयर राख्ने लगानीकर्तालाई दीर्घकालीन र एक वर्षभन्दा कम समयमै सेयर बिक्री गर्ने लगानीकर्तालाई अल्पकालीन लगानीकर्ताका रूपमा सरकारले कर उठाउने गर्छ । धितोपत्र बजारका लगानीकर्ताले भारित औसत लागतका आधारमा पुँजीगत लाभकर तिर्दै आएका छन् ।

चालू आर्थिक वर्षमा सरकारले अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा १७ करोड ५६ लाख रुपैयाँले बढी पुँजीगत लाभकर तिरेका छन् । पछिल्लो समय बजारमा तीव्र उत्तारचढाव आइरहेको छ । अघिल्लो वर्षको पहिलो महिना साउनमा मात्र सरकारले लगानीकर्ताको नाफाबाट तीन अर्ब २४ करोड रुपैयाँ सरकारलाई पुँजीगत लाभकर प्राप्त भएको थियो भने भदौ महिनामा दुई अर्ब ६१ करोड रुपैयाँ पुँजीगत लाभकर लगानीकर्ताबाट उठाएको थियो । अघिल्लो आर्थिक वर्षमा धितोपत्रको दोस्रो बजारबाट सरकारले करिब १० अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुँजीगत लाभकर लगानीकर्ताबाट उठाएको थियो । 

अघिल्लो आर्थिक वर्षमा सेयर बजार हालसम्मकै उच्चतम बिन्दुमा पुगेको थियो । सेयर बजार २ भदौमा उच्च बिन्दु तीन हजार एक सय ९८ बिन्दुमा पुगेर २२ अर्बभन्दा बढीको धितोपत्र खरिद–बिक्री भएको थियो । लगानीकर्ताले जति धेरै नाफा कमाउँदै गयो, उति नै धेरै सरकारलाई तिर्ने पुँजीगत लाभकर पनि बढ्दै जाने गर्छ । तर, चालू आर्थिक वर्षमा सेयर बजारमा आइरहेको गिरावटले लगानीकर्ता निराश बनेका छन् भने धितोपत्र खरिद–बिक्रीमा कमी आउँदा र बजार ओरालो लाग्दा लगानीकर्ताले सरकारलाई तिर्ने पुँजीगत लाभकरको दर पनि घटेको हो ।  

६ दिनमा लगानीकर्ताले गुमाए ७६ अर्ब
६ दिनमा लगानीकर्ताले ७६ अर्ब रुपैयाँ गुमाएका छन् । गत साता २९ खर्ब तीन अर्ब ४९ करोड ५७ लाख रहेको कुल बजार पुँजीकरण रहेकोमा बिहीबारसम्म आइपुग्दा २७ खर्ब ७९ अर्ब ४८ करोड ६७ लाखमा झरेको छ ।

त्यस्तै, बिहीबार नेप्से परिसूचक २ दशमलव १३ अंकले घटेर १९ सय ३७ बिन्दुमा आइपुगेको छ । ३४ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्बमाथिको धितोपत्र खरिद–बिक्री भएको छ । बजार २१ सम्मको सूचांकबाट ओरालो लागेर पुनः तल झरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको बढी स्वामित्व रहेका कम्पनीहरूको लाभांश प्रस्ताव सार्वजनिक हुन थालेसँगै धितोपत्रको दोस्रो बजार केही गतिमा जाने विश्वास लगानीकर्ताको छ ।

गत चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भइसकेको अवस्थामा अधिकांश कम्पनीको वित्तीय विवरणले लगानीकर्तालाई सन्तोषजनक हिसाबमा लाभांश दिने अपेक्षा रहेको लगानीकर्ता बताउँछन् । अर्कोतर्फ बोर्डले नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर लाइसेन्सलगायतका कार्यहरू अघि बढाएकाले पनि बजार सकारात्मक रूपमा जाने लगानीकर्ताको दाबी छ ।

ad
ad