१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भरतराज पौड्याल परराष्ट्रसचिव, नेपाल/विनयमोहन क्वात्रा परराष्ट्रसचिव, भारत
२०७९ भदौ २५ शनिबार ०६:११:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुई वर्षपछि नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठक

Read Time : > 1 मिनेट
२०७९ भदौ २५ शनिबार ०६:११:००

दिल्ली जाँदै परराष्ट्रसचिव, सीमाबारे छलफल नहुने

नेपाल र भारतका परराष्ट्रसचिवबीच दुई वर्षपछि औपचारिक वार्ता हुने भएको छ । परराष्ट्रसचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच २८ भदौमा दिल्लीमा औपचारिक वार्ता हुँदै छ । 

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ परराष्ट्रसचिवको भारत भ्रमण र दुई सचिवबीच औपचारिक वार्ताको समयतालिका सार्वजनिक गरेका हुन् । परराष्ट्रसचिव पौड्याल २८ भदौमा दिल्ली जाने र ३० भदौमा स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार भेटवार्तामा पछिल्लोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनबारे छलफल हुनेछ । विगतका सहमतिको पुनरावलोकनसमेत हुने विदेश मन्त्रालयले जनाएको छ । तर, वार्तामा दुई देशबीच सम्बन्धका सबै पक्षबारे छलफल हुनेछ । 

परराष्ट्रसचिव पौड्याल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको भारत डिभिजन हेर्ने सहसचिव सुधीर भट्टराई, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र उपनियोग प्रमुख रामप्रसाद सुवेदी रहनेछन् । परराष्ट्रसचिवस्तरीय वार्तामा राजनीतिक विषय कम र द्विपक्षीय सहकार्यका विषय बढी हुने गरेको छ । व्यापार, पारवहन, कनेक्टिभिटी, ऊर्जा, पूर्वाधार, लगानी, कृषि, संस्कृति, जनस्तरको सम्बन्ध, सुरक्षालगायतका विषयमा छलफल हुनेछ ।

पौड्याल परराष्ट्रसचिव भएपछि पहिलोपटक उनको यो औपचारिक भ्रमण हो । यसअघि उनी प्रधानमन्त्री र परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका रूपमा भारत गएका छन् । भारतीय विदेशसचिव क्वात्राको निमन्त्रणामा जान लागेका उनले भारतको राजनीतिक नेतृत्वसँग भेटवार्ताबारे परराष्ट्रले सार्वजनिक गरेको छैन । दुई देशबीच सहकार्यका सबै विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ । 

दुई वर्षअघि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पूर्वसन्ध्यामा परराष्ट्रसचिवस्तरीय वार्ता २२ मंसिर ०७७ मा काठमाडौंमा भएको थियो । त्यसको करिब एक महिनापछि १ माघ ०७७ मा नयाँदिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक बसेको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले आ–आफ्ना मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । 

दुई वर्षअघि परराष्ट्रसचिवस्तरीय बैठकमा सहभागी हुन भारतबाट विदेशसचिव हर्षबर्धन शृंगला आएका थिए । शृंगलाले अवकाश पाएपछि विदेशसचिव भएका क्वात्रा र नेपाली समकक्षीबीच पहिलोपटक दिल्लीमा औपचारिक वार्ता हुन लागेको हो । दुई वर्षअघिको वार्तामा नेपालका लागि भारतीय राजदूतका रूपमा क्वात्रा सहभागी थिए । यसपटक परराष्ट्रसचिवस्तरीय बैठकपछि संयुक्त आयोगको सातौँ बैठक हुने अझै सुनिश्चित छैन । नेपालमा निर्वाचनपछि मात्रै संयुक्त आयोगको बैठक बस्ने परराष्ट्र अधिकारीहरूको भनाइ छ । 

संयोगवश त्यसवेला नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठकको तीन दिनपछि चिनियाँ रक्षामन्त्री वेई फेङ्गेले १४ मंसिरमा नेपालको भ्रमण गरेका थिए । यसपालि चिनियाँ पिपुल्स कंग्रेसका अध्यक्ष ली झाङ्सु नेपाल भ्रमणमा आएको भोलिपल्ट नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक हुन लागेको हो । अध्यक्ष ली २७ भदौमा काठमाडौं आउने कार्यक्रम छ । त्यही दिन सभामुख अग्निप्रसाद सापकोटासँग हुने द्विपक्षीय वार्तामा परराष्ट्रसचिव पौड्याल पनि हुनेछन् ।

कूटनीतिक स्रोतका अनुसार परराष्ट्रसचिवस्तरीय बैठकमा दुई देशबीच सिमानाका विषय औपचारिकताका लागि उठे पनि विस्तृतमा छलफल हुनेछैन । लिपुलेक, लिम्पियाधुरा सीमाका विषयमा मात्रै केन्द्रित भएर बैठक गर्न भारत तयार नभएका कारण यसपटकको भ्रमणमा सहकार्यका क्षेत्रहरूको पुनरावलोकन हुनेछ ।