१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा विश्वविद्यालयले सुरु गर्यो शिक्षण अस्पताल

बहिरंग सेवा सुरु, तीन महिनाभित्र आकस्मिक सेवा संचालन गर्ने, दुई वर्षभित्र मेडिकल कलेजसँगै एमबिबिएस पढाइ सुरु गर्ने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५२:oo

पोखरा विश्वविद्यालयले आफ्नै शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका वडा नं. ३० स्थित खुदी, ढुंगेपाटनमा रहेको विश्वविद्यालयकोे केन्द्रीय कार्यालय परिसरमा अस्पताल सञ्चालनमा आएको हो । 

पहिलो चरणमा आजदेखि बहिरंग सेवा सुरु भएको छ । अबको तीन महिनाभित्र आकस्मिक सेवा सुरु हुनेछ । विश्वविद्यालय स्थापना भएको १० वर्षदेखि शिक्षण अस्पताल स्थापनाको कुरा सुरु भए पनि त्यसको १५ वर्षपछि मात्र अस्पताल सञ्चालन गर्न विश्वविद्यालय सफल भएको हो । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले अस्पतालको उद्घाटन गरे । लगत्तै उपकुलपति अर्यालले अर्थोपेडिक ओपिडी र रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीले स्त्री तथा प्रसूति सेवा सञ्चालनको लागि बहिरंग सेवा शुभारम्भ गरे । सेवा सुरुसँगै स्त्रीरोग विशेषज्ञ डा. मदन खड्काले पहिलो बिरामीका रूपमा स्थानीय सुशीला रेग्मीको स्वास्थ्य परीक्षण गरे ।

अस्पतालका कार्यकारी निर्देशक सह–प्राध्यापक दीपेन्द्रकुमार यादवले अस्पतालमा हाल एकजना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं एकजना अर्थोपेडिक सर्जनसँगै अन्य दुईजना मेडिकल अफिसरले बिरामीको जाँच गर्नेछन् । उनले प्रतिदिन दुई सयजनासम्मलाई ओपिडीमा सेवा दिने जनशक्ति रहेको जानकारी दिए । अबको तीन महिनामा आकस्मिकमा १० तथा जनरलमा ९० शय्या रहेको अस्पतालका रूपमा विकास गरिने यादवको भनाइ छ । 

विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार अस्पताल निर्माण एउटा बृहत् योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकोले छात्राहरूले प्रयोग गर्दै आएको छात्रावासलाई स्वास्थ्य संस्थाको भवन तथा पूर्वाधारसम्बन्धी मापदण्डअनुरूप परिमार्जन गरी अस्पताल सञ्चालन गरेको हो । 

यसका लागि करिब आठ करोड खर्च भएको ढकालको भनाइ छ ।  अस्पताल भवनमा प्रशासनिक कार्यालय, बहिरंग विभाग (ओपिडी), अन्तरंग विभाग, आकस्मिक तथा शल्यचिकित्सा विभाग, सघन उपचार कक्ष, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभागलगायत आवश्यक प्रतीक्षा कक्ष, सवारीसाधन, पार्किङ, पानी, विद्युत्, इन्टरनेटको व्यवस्थापन, फोहोर व्यवस्थापन आदिको व्यवस्था गरिएको छ । 

आफ्नै अस्पताल नहुँदा विश्वविद्यालयका प्यारामेडिकल विषयहरूको प्रयोगात्मक अभ्यासका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रामघाट, मनिपाल शिक्षण अस्पताल पोखरा फूलबारी, हिमालय आँखा अस्पताल पोखरा घारीपाटन, बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनसँग सहयोग लिँदै आएको थियो । 

दुई वर्षभित्र एमबिबिएस पढाउने तयारी
विश्वविद्यालयका उपकुलपति अर्यालले दुई वर्षभित्र एमबिबिएसको अध्यापन सुरु गर्ने गरी तयार गरिएको जानकारी दिए । शिक्षण अस्पताल विश्वविद्यालयको लागि अपरिहार्य रहेकोले हाल पहिलो चरणमा बहिरंग सेवाको सुरुवात गरिएको उनको भनाइ थियो ।

विश्वविद्यालयले हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वास्थ्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै उनले विश्वविद्यालयको स्तरोन्नतिका लागि विद्यार्थी संख्या बढाउनुपर्ने भएकाले देशका विभिन्न भागमा आंगिक क्याम्पस खोल्ने योजना रहेको बताए ।

पोखरा ३० मा अवस्थित विश्वविद्यालयकोे केन्द्रीय कार्यालय र प्राज्ञिक भवन कम्प्लेक्सको बीचमा रहेको ३५ रोपनी क्षेत्रफलको जग्गामा सुविधा सम्पन्न र उच्चकोटीको अस्पतालसँगै मेडिकल कलेज निर्माण गर्ने योजना विश्वविद्यालयको छ । अस्पतालसँगै मेडिकल कलेजको स्थापनापछि एमबिबिएसलगायतका पढाइ सुरु गर्ने तयारी विश्वविद्यालयको छ । 

रजिस्ट्रार एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष भण्डारीले यस क्षेत्रकै उत्कृष्ट र स्मार्ट अस्पताल बनाउने सपना रहेको जिकिर गरे । उनले देशमा शिक्षा र स्वास्थ्य गुणस्तर नभई देश विकास नहुने उल्लेख गरे ।