
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा एमाले राजावादीसँग मिलेर प्रतिगमनको षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सिंहले एमाले र राजावादी मिलेर गणतन्त्र, धर्मनिरपेक्षताजस्ता उपलब्धि सिध्याउने खेल भइरहेको दाबी गरे।
०१७ र ०५९ सालमा प्रजातन्त्रमाथि भएको प्रतिगमनभन्दा ठूलो प्रतिगमनको खतरा अहिले रहेको सिंहको आरोप छ। ‘प्रतिगमनको मूलधार राजावादी हुन्, तर त्यसको नेतृत्व केपी ओलीले गरिरहेका छन्। एमाले राजासँग जोडिएको छ,’ उनले भने, ‘गणतन्त्र सिध्याउने र हिन्दूराष्ट्र कायम गर्ने प्रयास भइरहेको छ।’ नेपाललाई हिन्दूराष्ट्र कायम गर्न कट्टर हिन्दूवादी भारतीय सरकारको ओलीलाई सहयोग रहेको उनले जिकिर गरे। ओलीले दुई–दुईपटक संसद् विघटन गरेपछि राजावादीले स्वागत गर्नु, चितवनमा रामको मन्दिर बनाउनु, पशुपतिमा पूजा गर्नु र सुनको गजुर निर्माण गर्नुले ओली र राजावादीबीच हिन्दूराष्ट्र कायम गराउन षड्यन्त्र भइरहेको आधार देखिएको महामन्त्री सिंहको विश्लेषण छ।
हिन्दूराष्ट्र कायम भए त्यसको संरक्षकको रूपमा राजा फर्किने उनले दाबी गरे। ओलीले आफू प्रधानमन्त्री भएका वेला सामन्त गोयलसँग गोप्य भेटघाट गरेर हिन्दूराष्ट्रको मुद्दामा सहमति जनाएका उल्लेख गर्दै सिंहले पशुपतिमा जलहरी दिनु, चितवनमा राममन्दिर बनाउनुले पनि त्यसको पुष्टि गर्ने बताए। ‘ओली पहिले नै गणतन्त्रको पक्षमा थिएनन्। पहिले पनि आन्दोलनबाट गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भनेका थिए,’ सिंहले भने, ‘अहिले भइरहेको प्रतिगमनको षड्यन्त्रविरुद्ध गठबन्धन एक ठाउँमा छ।’
आगामी चुनावले गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा हुने वा मुलुक अधिनायकवादतिर जाने भन्ने फैसला गर्ने उनले बताए। गठबन्धनले जिते मुलुकमा प्राप्त उपलब्धिको रक्षा हुने उनको दाबी छ। ‘अहिलेको चुनाव गम्भीर र ऐतिहासिक महत्वको छ। देश प्रतिगमनमा जान्छ वा उपलब्धिको रक्षा हुन्छ भन्ने कुरा चुनावपछि थाहा हुन्छ,’ सिंहले भने, ‘यो चुनावमा जित–हारको मात्र प्रश्न छैन। गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताको रक्षाको प्रश्न छ।’ यसका विरुद्ध आगामी निर्वाचनमा सत्तारुढ दलहरू गठबन्धन गरेर जान लागेको उनले बताए। संघीयता, राष्ट्रियताजस्ता महत्वपूर्ण मुद्दामा सत्तारुढ दलहरूसँग आफ्नो विमति रहे पनि प्रतिगमन हुन नदिन तालमेल गर्नुपरेको उनले बताए।