१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
माल्दिभ्सविरुद्ध बल अगाडि बढाउँदै बंगलादेशकी संजिदा । तस्बिर : ज्ञानेन्द्र कार्की
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २३ बिहीबार ०६:२५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

छैटौँ साफ महिला च्याम्पियनसिप : भारत र बंगलादेश विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २३ बिहीबार ०६:२५:००

छैटौँ महिला साफ च्याम्पियनसिप फुटबल २०२२ अन्तर्गत बुधबार साबिक विजेता भारत र बंगलादेश विजयी भएका छन् । दशरथ रंगशालामा सम्पन्न समूह ‘ए’मा रहेका दुवै टोलीले तीन अंक जोडेका छन् । आठ वर्षपछि पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो । फिफाको प्रतिबन्धबाट फुकुवासँगै पाकिस्तानले पहिलो प्रतियोगिताका रूपमा साफ च्याम्पियनसिप खेलेको हो । पहिलो खेलमा भारतले चिरपरिचित पाकिस्तानलाई ३–० ले पराजित गर्‍यो । पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा एक गोल गर्‍यो । रक्षात्मक रणनीति अपनाएको पाकिस्तानविरुद्ध भारतीय स्ट्राइकरले खुलेर खेल्न सकेनन् । पाकिस्तानले अधिकांश समय भारतलाई रोक्यो । भारतको जितमा ग्रेस डांग्मी र वैकल्पिक खेलाडी सौम्या गुगुलोथले एक–एक गोल गरे । पाकिस्तानकी कप्तान मारिया खानले आत्माघाती 
गोल गरिन् । 

खेलको २१औँ मिनेटमा विंगर रंगनाथान सन्धियाले बायाँ भागबाट गरेको क्रसलाई पाकिस्तान गोलरक्षक साहिद बुखारीले ‘ब्लक’ गरिन् । रिबाउन्ड बल भारतीय कप्तान मारियाको खुट्टामा ‘डिफेक्ट’ हुँदै गोल भयो । खेलको २३औँ मिनेटमा भारतले २–० को अग्रता बनायो । अञ्जु तामाङले १८ यार्डनजिकैबाट दिएको पासलाई ग्रेसले पहिलो बार च्याप्दै सहज गोल गरिन् । भारतले पाकिस्तानको कडा डिफेन्सबीच खेलको अन्तिम इन्जुरी समयमा मात्रै तेस्रो गोल गर्‍यो । डिफेन्डर रञ्जना चानुको पासमा ६५औँ मिनेटमा मैदान प्रवेश गरेकी सौम्याले तेस्रो गोल गरिन् । 

रक्षात्मक रणनीति अपनाएको पाकिस्तानविरुद्ध भारतीय स्ट्राइकरले खुलेर खेल्न सकेनन्, पाकिस्तानले अधिकांश समय भारतलाई रोक्यो

 सविनाको दुई गोलमा  बंगलादेशको सहज जित
बंगलादेशले माल्दिभ्सलाई ३–० अन्तरले नै पराजित गर्‍यो । एकपक्षीय खेलमा बंगलादेशले पहिलो हाफमै तीन गोल गरेको थियो । दोस्रो हाफमा गोलका केही अवसर बनाए पनि बंगलादेशले सदुपयोग गर्न सकेन । बंगलादेशकी कप्तान सविना खातुन ह्याट्रिक गर्नबाट चुकिन् । बंगलादेशको जितमा सविनाले दुई तथा मसुरा परविनले एक गोल गरिन् । खेलको ३२औँ मिनेटमा सविनाले बक्सबाहिरबाट उत्कृष्ट गोल गरिन् । खेलको ४०औँ मिनेटमा परविनाले पेनाल्टी एरियाबाट सहज गोल गर्दा ४०औँ मिनेटमा सविनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । 

मैदानमा फर्कंदा पाकिस्तान खुसी 
आठ वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा फर्किएको पाकिस्तान हारका बाबजुद खुसी देखिन्थ्यो । खेलपछि पाकिस्तानी खेलाडी भावुक बने । पाकिस्तानी टोलीकी कप्तान मारिया र प्रशिक्षक आदिल मिर्जा रिज्कीले एकआपसमा खुसी बाँडे । कप्तान मारियाले भनिन्, ‘हामी आठ वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा फर्किएका छौँ । खेल राम्रो भएको थियो । हामी केही भावुक पनि भयौँ ।’ पाकिस्तानी प्रशिक्षक रिज्कीले भने, ‘आठ वर्षपछि फर्कंदा खुसी छौँ । हामीले अझै धेरै राम्रो गर्न सक्छौँ ।’ 

भारतीय प्रशिक्षक सुरेनकुमार क्षेत्रीले महत्वपूर्ण तीन अंक प्राप्त हुँदा खुसी भएको बताए । उनले आगामी खेलमा थप गोलका लागि मिहिनेत गर्नुपर्ने बताए । ‘महत्वपूर्ण तीन अंकबाट खुसी छु । गोल जतिसुकै होस्, जित भनेको जित नै हुन्छ,’ क्षेत्रीले भने, ‘हामीले गोलका लागि थप मिहिनेत गर्नुपर्छ । यस्तो खेलमा नयाँलाई पनि अवसर दिनुपर्छ ।’