१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २२ बुधबार ११:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपमेयर डंगोलको श्वेतपत्र : सय दिनमा १५ कार्य सम्पन्न, १० योजनाको  सुरुवात

जस–अपजसका सबै जिम्मेवारी सामूहिक रुपमा लिनुपर्नेमा जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २२ बुधबार ११:५८:००

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छिन् । डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ । पुराना दुई सय ४४ वटा विवादमा न्यायिक सुनुवाइ भएकोे र  ५१ वटा विवादको किनारा लगाएको उनले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छिन् ।

सय दिनको काममा उनले सय दिनमा सयभन्दा बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तर्क्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै त्यसले काठमाडौंवासी सँगसँगै रहेर महानगरका समस्याबारे साक्षात्कार हुने अवसर प्राप्त भएको बताइन् । उनले फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको कुरालाई पनि श्वेतपत्रमा उल्लेख गरेकी छिन् ।

‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बन्चरेडाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेसन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको वस्तुस्थिति बुझ्नेलगायतका काम भएका छन्,’ उनले भनिन्, ‘पटक–पटकको प्रयासपछि  सिसडोल र बन्चरेडाँडामा अल्पकालीन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालीन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर थिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरूका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालीन फाेहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरू अघि बढाएका छौँ ।’

डंगोलले मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा आफू विश्वास नगर्ने भन्दै काठमाडौं महानगरपालिकाको विकास र समृद्धि सबैको साझा सपना हुनुपर्नेमा जोड दिइन्।

उनले आफू नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुख पदमा निर्वाचित भए पनि साझा जनप्रतिनिधिको हैसियतमा काम गर्ने प्रण गरेकी छिन्। उनले जस–अपजसका सबै जिम्मेवारी सामूहिक रूपमा लिनुपर्नेमा पनि जोड दिइन्। त्यसैगरी उनले बजेट, नीति तथा कार्यक्रममा पनि काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने उद्देश्यलाई समावेश गरिएको उल्लेख गरेकी छिन् । 

त्यसैगरी मेलमिलापकर्ता छनाेट प्रक्रिया, मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास, शिक्षा क्षेत्रमा गरेका सुधारका प्रयास, इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न गरेका पहल, नेपालभाषाको डिजिटल शब्दकोश निर्माण कार्य, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकताजस्ता कुरालाई पनि सय दिनमा गरेका कामको विवरणमा उल्लेख गरेकी छिन् । राजस्व परामर्श समितिको गठन र कार्यान्वयन, पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार, सहरी व्यवस्थापनमा गरेका प्रयासलाई पनि उनले पत्रमा उल्लेख गरेकी छिन् ।  

उल्लेखित कार्यहरू सय दिनभित्रै सम्पन गरिएका, थालनी भएका संक्षिप्त विषयहरू मात्रै भएको भन्दै  यसबाहेक पनि अनगिन्ती विषयमा उपप्रमुखको हैसियतले सम्पादन गर्न सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन सक्ने बताइन् । आगामी दिनमा सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्ष वा अप्रत्यक्ष समन्वयमा कार्य हुने कुरामा विश्वस्त र प्रतिबद्ध रहने पनि उल्लेख गरिन् ।