१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
अनिल यादव काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o६:२३:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पल शाहलाई साढे दुई वर्षको कैद सजाय 

Read Time : > 3 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:२३:oo

अभियोग जबर्जस्ती करणीको, तर बाल यौन दुरुपयोगमा दोषी ठहर, १० लाख क्षतिपूर्ति दिनुपर्ने

कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्ध परेको नाबालिग जबर्जस्ती करणीको मुद्दालाई जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगमा परिणत गरिदिएको छ । मंगलबार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीको अभियोगमा सफाइ दिँदै बाल यौन दुरुपयोगमा कसुरदार ठहर गरेको हो ।

जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार उनलाई बाल यौन दुरुपयोगको कसुरमा साढे दुई वर्षको कैद सजाय, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति सुनाइएको छ । ‘उनलाई जबर्जस्ती करणीमा सफाइ भयो, तर बाल यौन दुरुपयोगमा अपराध गरेको ठहरियो,’ अदालतका तहसिलदार क्षेत्रीले भने, ‘यसलाई जबर्जस्ती करणी बाल यौन दुरुपयोगमा परिणत भयो भन्न पनि पाइयो । त्यस्तै, फैसलामा नाबालिगका बुबाआमालाई पनि यसरी नाबालिग छोरी अरूलाई छोड्नुहुन्थेन, आफ्नो पूर्ण संरक्षणमा राख्नुपर्छ भनेर सचेत गराइएकोे छ । सुटिङमा अभिभावक पनि साथमा जानुपथ्र्यो भन्ने हो ।’

फैसलाले मिडिया जगत्लाई पनि सचेत गराएको छ । ‘यस्तो संवेदनशील विषयमा फैसला हुनुअगावै कतिपय ठाउँमा फैसला भइसक्यो भनेर फेक न्युज आएको देखियो । त्यसैले मिडियालाई अब उप्रान्त गम्भीर भएर सत्यतथ्य मात्रै समाचार सम्प्रेषण गर्न सचेत गराइएको छ,’ क्षेत्रीले भने । 

जबर्जस्ती करणीमा सफाइ भयो, बालयौन दुरुपयोगमा सजाय भयो : लालबहादुर क्षेत्री, सूचना अधिकारी जिल्ला अदालत नवलपुर
उनलाई जबर्जस्ती करणीमा सफाइ भयो, तर बाल यौन दुरुपयोगमा अपराध गरेको ठहरियो । यसलाई जबर्जस्ती करणी बाल यौन दुरुपयोगमा परिणतमा भयो भन्न पनि पाइयो ।

त्यस्तै, फैसलामा नाबालिगको बुबाआमालाई पनि यसरी नाबालिग छोरी अरूलाई छोड्नुहुन्थेन, आफ्नो पूर्ण संरक्षणमा राख्नुपर्छ भनेर सचेत गराइएकोे छ । सुटिङमा अभिभावक पनि साथमा जानुपथ्र्यो भन्ने हो ।

जबर्जस्ती करणीको अभियोगमा बाल यौन दुरुपयोगको सजाय दिइनुलाई कतिपयले ‘आश्चर्यजनक’ पनि भनेका छन् । तर, अदालतका सूचना अधिकारी क्षेत्री बाल यौन दुरुपयोग पनि जबर्जस्ती करणीअन्तर्गत नै रहने बताउँछन् । ‘पीडकले अभियोग अस्वीकार गरेको, जाहेरवाला पीडितले अदालतमा होस्टायल भएर बयान फेरेको अवस्था भएकाले जबर्जस्ती करणी पुष्टि हुन सकेन,’ उनले भने, ‘तर, पीडक स्वयंले बयानका क्रममा राति नाबालिगको कोठामा गएको, रक्सी खाएको जस्ता क्रियाकलाप स्वीकार गरेका तथ्यलाई केलाउँदा बाल यौन दुरुपयोग गरेको देखिएको फैसलामा उल्लेख छ ।’

फैसलामा अपराधसंहिता २०७४ को दफा २२५ उपदफा २ मा अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार प्रतिवादीले गरेको देखिँदा दफा २२५ उपदफा १ विपरीतको बाल यौन दुरुपयोगको कसुर ठहर गरेको उल्लेख छ । यो दफामा कसैले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बाल यौन दुरुपयोग गरेको मानिनेछ । यो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । तर, न्यायाधीश आचार्यले शाहलाई अढाई वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना मात्रै सजाय दिएका छन् । 

शाहद्वारा १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण
शाहविरुद्ध ११ फागुन ०७८ मा एक १७ वर्षीया नाबालिग गायिकामाथि पटक–पटक जबर्जस्ती करणी गरेको आरोपमा सबैभन्दा सुरुमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसपछि पीडितका बुबाले शाहविरुद्ध नवलपुरमा पनि जाहेरी दिएका थिए । त्यहाँ पनि शाहले करणी गरेको आरोप थियो । जाहेरी परेलगत्तै फरार भएको चार दिनपछि शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए ।

त्यसपछि नवलपुर प्रहरीको क्षेत्राधिकारभित्र पर्ने इलाका प्रहरी कार्यलय गैँडाकोटमा सुटिङको बहानामा नाबालिगमाथि शाहले जबर्जस्ती करणीको आरोपमा जाहेरी दर्ता भएको थियो । जाहेरीमा पीडितले आफूमाथि पलले ७ चैत ०७७ मा गैँडाकोट रिसोर्टमा पटक–पटक जबर्जस्ती करणी गरेको आरोप छ । एक दिनका लागि गीत सुटिङ भनेर लगेको, तर पाँच दिनसम्म लम्ब्याएर करणी गरेको आरोप पीडितले लगाएकी थिइन् । ‘एक दिनमा सुटिङ नसकेर भोलिपल्ट सुटिङ गर्ने भनी मेरी छोरीलाई सुटिङका लागि तयार गराइयो । त्यसपछि सुटिङ क्यान्सिल गरी पाँच दिनसम्म राखेर मेरी छोरी सुतेको कोठामा मादक पदार्थ ल्याई छोरीलाई जबर्जस्ती मादक पदार्थ पिलाएर पटकपटक करणी गरियो,’ पीडितका बुबाले दिएको जाहेरीमा उल्लेख थियो । 

जाहेरीमा ३१ चैत ०७७ मा बाग्लुङको गलकोट महोत्सव जाने–आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा शाहले संवेदनशील अंग चलाउने, जिस्काउने, समात्नेजस्ता कार्य गरेकोसमेत आरोप थियो । पल स्वयंले पनि अदालतमा बयान दिने क्रममा गैँडाकोट रिसोर्टमा बस्ने क्रममा आफूले मादक पदार्थ सेवन गरेको र पीडितको कोठामा गएको स्विकारेका थिए ।

‘०७७ चैत ८ गते अन्दाजी रातको साढे १० बजेको समयमा सुटिङ युनिटसहित गैँडाकोट रिसोर्टमा आई बसेको हो । म उक्त रिसोर्टको कोठा नम्बर १०१ मा बसेको थिएँ भने पीडित कोठा नम्बर १०२ मा बसेकी थिइन् । म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले म रातको साढे ११ बजेतिर पीडितको कोठामा जाँदा हिजो उनलाई एक्लै सुत्दा डर लागेको र होटेल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकाले तिमीलाई हिजोको जस्तो डर त लागेको छैन नि ? ल राम्रोसँग सुत भनी म आफ्नो कोठामा गई सुतेको हो,’ उनले बयानका क्रममा भनेका थिए ।

पीडित, पीडितका बुबा सबैले अदालतमा बयान फेरे पनि अदालतले प्रतिवादी यिनै बयानलाई बलियो आधार बनाएर उनीमाथि यौन दुरुपयोगको कसुरदार ठहर गरेको हो । नवलपुरमा परेको मुद्दामा कैद सजायअनुसार शाहले अब दुई वर्ष जेलमा बिताउनुपर्नेछ । कारण, हिरासतमा परेको दिनदेखि नै कैद भुक्तान जोडिने हुँदा उनी थुनामा बसेको ६ महिना पुगिसकेको छ । 

जिल्लाको फैसलाविरुद्ध पल शाह पक्ष उच्च अदालत जाने 
जिल्लाको फैसलाविरुद्ध पल शाहको उच्च अदालत पोखरा जाने भएका छन् । पलका तर्फबाट बहस गरेका अधिवक्ता कमलमोहन वाग्लेले जिल्लाको फैसला अन्यायपूर्ण भएको बताए । ‘यो मुद्दामा पीडितले ममाथि कुनै पनि किसिमको यौन दुरुपयोग भएको होइन, जबर्जस्ती करणी भएको होइन, उनी मेरा दाजु हुन्, दाजुकै रूपमा संरक्षण गरिरहनुभएको छ भनेर भन्दाभन्दै पनि महिलाको चरित्रमा समेत धक्का लिने किसिमले अदालतले बाल यौन दुरुपयोग ठहर गर्‍यो,’ उनले नयाँ पत्रिकासँग भने, ‘अर्को कुरा मिसिल, प्रमाणमा बाल यौन दुरुपयोगको दाबी पनि छैन । तर, अदालत आफैँले दाबी गरिदियो । पलले पनि मैले जबर्जस्ती करणी गरेको छैन, कुनै पनि किसिमको यौनजन्य गतिविधि गरेको छैन, मेरी बहिनी हुन् भनेको अवस्थामा यो फैसला न्यायोचित छैन । त्यसैले यो फैसलाउपर हामी पूर्णपाठ आउनासाथ उच्च अदालत पोखरामा पुनरावेदन गर्न जान्छौँ ।’

२ असोजमा तनहुँ अदालतमा पेसी
पीडितले दुई अदालतमा मुद्दा दर्ता गरेका कारण पल शाहले नवलपुरबाट जबर्जस्ती करणीमा सफाइ पाए पनि यो आरोपबाट पूर्ण रूपमा सफाइ पाएको मानिँदैन । कारण, यो मुद्दामा तनहुँ अदालतबाट फैसला आउन बाँकी नै छ । यसको सुनुवाइका लागि जिल्ला अदालत तनहुँले २ असोजलाई पेसी तोकेको छ । सोही दिन फैसला आउने सम्भावना छ । तनहुँ अदालतमा १४ वैशाख ०७८ मा तनहुँ दुलेगैँडास्थित एक घरमा मदिरा पिएर नाबालिग बसेको कोठामा गएर बिहेको आश्वासन दिँदै ललाइफकाइ जबर्जस्ती करणी परेको अभियोग छ । यद्यपि, त्यहाँ पनि नवलपुरमा झैँ पीडित पक्षले अदालतमा बयान फेरिसकेको अवस्था छ । 

ad
ad