१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ जेठ ५ शनिबार o६:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आजदेखि महिला साफ: च्याम्पियनसिप नेपालले भुटानको सामना गर्दै

Read Time : > 2 मिनेट
रमेश सुवेदी काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o६:३५:oo

नेपाल र भुटानबीचको खेलसँगै मंगलबारदेखि छैटौँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । सात टोली सहभागी दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको दशरथ रंगशालामा पहिलो खेल साँझ साढे ५ बजे हुनेछ । कुमार थापाको प्रशिक्षणमा रहेको नेपाली महिला टोली सुखद सुरुवात गर्ने योजनामा छ । भुटानले नेपाली दर्शकमाझ बलियो चुनौती दिने लक्ष्य राखेको छ । प्रतियोगिताको पूर्वसन्ध्या सोमबार आयोजित पत्रकार सम्मेलनमा सहभागी टोलीका प्रशिक्षक र कप्तानले लामो समयपछि साफ खेल्न पाउँदा खुसी जनाए । नेपाल र भारतले उपाधि जित्ने दाबी गरेका छन् । बंगलादेशले बलियो समूह चरण पार गर्ने योजना प्रस्तुत गर्‍यो । 

आर्थिक मन्दीबीच पनि साफमा सहभागी हुन पाउँदा श्रीलंका दंग नै छ । भुटानले युवा खेलाडीको साथ विगतको नतिजा सुधार गर्ने प्रतिबद्धता जनाएको छ । आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान सेमिफाइनलसम्म पुग्न कोसिस गर्नेछ । माल्दिस नतिजा सुधार्ने प्रयासमा छ । सन् २०१० यता प्रतियोगिता दुई–दुई वर्षमा आयोजना हुँदै आएको छ ।

भारतले पाँचै उपाधिमाथि कब्जा जमाउँदा नेपाल चारपटक उपविजेता बनेको छ । बंगलादेश एकपटक दोस्रो भएको छ । छैटौँ संस्करणमा भारत, नेपाल र बंगलादेशलाई नै फाइनल प्रतिस्पर्धीका रूपमा हेरिएको छ । नेपाल र भारत आ–आफ्नो समूहमा शीर्ष स्थानमा रही सेमिफाइनलमा स्थान बनाउने योजनामा छन् । फिफा वरीयतामा भारत ५८औँ स्थान, नेपाल १०२औँ स्थानमा रहँदा बंगलादेश १४७औँ स्थानमा छन् । श्रीलंका १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छन् । पाकिस्तानले फिफा वरीयता पाएको छैन । 

 नेपाल विश्वस्त
नेपालकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा र प्रशिक्षक कुमार थापाले उपाधि घरमै राख्ने योजना सुनाए । प्रशिक्षक थापाले लगातार तीन फाइनल (साफ च्याम्पियनसिप, १३औँ दक्षिण एसियाली खेलकुद (साग) र साफ च्याम्पियनसिप)मा भारतसँग बेहोरेको हारको बदला लिने अवसर भएको बताए । प्रशिक्षक थापाले युवा र अनुभवी खेलाडीको सम्मिश्रणमा नेपाली टोली बलियो रहेको जनाए । २६ वर्षीया एन्जिलाले कप्तानका रूपमा उपाधि जित्ने सपना साकार बनाउन मैदानमा शतप्रतिशत मिहिनेत गर्ने बताइन् । एन्जिलाले पहिलोपटक कप्तानी जिम्मेवारी पाएकी हुन् । समूह ‘बी’को अन्तिम खेलमा नेपालले २७ भदौमा श्रीलंकाको सामना गर्नेछ । 

 आठ वर्षपछि पाकिस्तान मैदानमा 
फिफा प्रतिबन्ध फुकुवासँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्ने योजना बनायो । खेलाडी छनोट गरी पाकिस्तान एक हप्ताअघि नै नेपाल आइपुगेको थियो । साफको सुरुका दुई संस्करण खेलेको पाकिस्तान छैटौँ संस्करणमा सहभागी हुन आएको हो । पाकिस्तान टोलीकी कप्तान मारिया खानले अन्तर्राष्ट्रिय फुटबलमा फर्कन पाउँदा खुसी भएको बताइन् । उनले पाकिस्तानको पहिलो लक्ष्य समूह चरण पार गर्ने रहेको जनाइन् । कप्तान खानले ६ हप्ताको तयारी भएको र खेलाडी सकारात्मक रहेको बताइन् । प्रशिक्षक आदिल रिज्कीले दक्षिण एसियाकै बलिया टोलीविरुद्ध राम्रो नतिजा निकाल्ने प्रतिक्रिया दिए । 

के भन्छन् प्रशिक्षक ?
 ितयारीबाट सन्तुष्ट
कुमार थापा, प्रशिक्षक, नेपाल
हामीले प्रतियोगिताको तयारीका लागि ६–७ हप्ता पाएका थियौँ । तयारीबाट म सन्तुष्ट छु । नेपालको टोली राम्रो बनेको छ । हामी तीन फाइनलमा भारतसँग पराजित भएका छौँ । पुराना गल्तीलाई सुधार गर्दै उपाधि जित्ने पहिलो लक्ष्य हो । खेलाडी तिर्खाएका छन् र उपाधिको भोक मेटाउन चाहन्छन् । भुटानविरुद्धको खेलमा शतप्रतिशत नतिजा निकाल्ने प्रयासमा हुन्छौँ । हामी शारीरिक, मानसिक र प्राविधिक रूपमा तयार छौँ । केही खेलाडीको यो अन्तिम प्रतियोगिता हुनेछ । टोलीका २३ खेलाडी नै कप्तान हुन् । एन्जिला अनुभवी खेलाडी हुन् । एन्जिला तेस्रो साफदेखि लगातार टोलीमा छिन् । 

तयारी राम्रो छ
सुरेन क्षेत्री, प्रशिक्षक, भारत 

हाम्रो तयारी राम्रो छ । भारत नराम्रो अवस्थाबाट गुज्रिएर खेल्न आउनु नै महत्वपूर्ण हो । हाम्रो टोलीमा केही महत्वपूर्ण खेलाडी छैनन् । त्यसैले केही चुनौती हुन्छ । च्याम्पियनसिपलाई कायम राख्न गाह्रो छ । हामी यहाँ साफका लागि आएका हौँ । 

सबै खेल महत्वपूर्ण छ
गोलाम रब्बानी, प्रशिक्षक, बंगलादेश 

पहिलो खेल खेल्न हामी तयार छौँ । प्रतियोगिताका लागि हामीले कडा मिहिनेत गरेका छौँ । पहिलो खेल सधैँ महत्वपूर्ण हुन्छ । प्रतियोगिता प्रतिस्पर्धात्मक हुने विश्वास छ । लामो समयदेखि टोली हेरिरहेको हुँदा सुधार भइरहेको छ । उमेर समूहबाटै राम्रो हुँदै गएको छ । हामी हरेक खेल जित्दै जाने रणनीतिमा छौँ । 

ad
ad