१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:१o:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

छैटौँ महिला साफ च्याम्पियनसिप : भारतसँग बदला लिने लक्ष्य

चारपटक फाइनल पुगेर भारतसँग पराजित नेपालको यसपटक उपाधि जित्ने दाबी

Read Time : > 3 मिनेट
रमेश सुवेदी काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:१o:oo

कुमार थापाको प्रशिक्षणमा नेपालले छैटौँ महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने योजना बनाएको छ । प्रतियोगिता २१ भदौबाट ३ असोजसम्म दशरथ रंगशालामा हुँदै छ । आयोजक नेपालले चोटका कारण केही मुख्य खेलाडी गुमाउनेछ । यसविपरीत नयाँ खेलाडीले पहिलोपटक टोलीमा अवसर पाउने सम्भावना छ । हरेक दुई वर्षमा आयोजना हुने गरी सन् २०१० बाट प्रतियोगिता सुरु भएको थियो । पाँचपटकको संस्करणमा भारतले उपाधि उचालेको थियो । भारतले चारपटकको फाइनलमा नेपाल र एकमा बंगलादेशलाई हराएको थियो । पछिल्लो समय कोरोनाका कारण महिला साफ आयोजना निर्धारित समयमा हुन सकेन ।

 प्रतियोगितामा सधैँ उपाधि दाबेदारको रूपमा रहेको नेपाल भारतसँग घुँडा टेक्ने गरेको छ । कप्तान एन्जिला तुम्बाप्पो सुब्बा र थापाको प्रशिक्षणमा पुनः एकपटक नेपालले घरेलु मैदानमा उपाधि चुम्ने लक्ष्य राखेको छ । नेपाल हालसम्म यस प्रतियोगितामा भारतसँग मात्रै पराजित भएको छ । अन्य टोलीले भने नेपाललाई हराउन सकेका छैनन् । 

 एक गोल व्यहोर्दा उपाधिविमुख
सन् २०१० मा बंगलादेशबाट साफ च्याम्पियनसिप सुरु भएको थियो । काठमाडौं र झापामा प्रशिक्षणपछि जमुना गुरुङको कप्तानीमा नेपाली टोली ढाका पुगेको थियो । समूह चरणमा नेपालको माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानसँग भिडन्त भयो । पहिलो खेलमा अनु लामाको ह्याट्रिकमा नेपालले माल्दिभ्सलाई ७–० ले पराजित गर्‍यो । 

दोस्रो खेलमा अनु र कप्तान जमुना गुरुङले ह्याट्रिक गर्दा नेपालले अफगानिस्तानमाथि १३–० को सानदार जित निकाल्यो । समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानविरुद्ध १२–० को जित निकाल्यो । यस खेलमा अनुले ह्याट्रिक गरिन् । सेमिफाइनलमा नेपालले समूह ‘ए’को उपविजेता बंगलादेशलाई ३–० ले हरायो । समूह चरण र सेमिफाइनलमा कुल ३४ गोल गरेको नेपाल फाइनलमा भारतसँग १–० ले स्तब्ध भयो । प्रतियोगितामा पहिलो गोल बेहोरेको नेपाल उपाधिविहीन भयो । 

 अग्रता जोगाउन नसक्दा पराजित
सन् २०१२ श्रीलंकामा आयोजित साफमा ध्रुव केसीकै प्रशिक्षणमा नेपालले प्रतिस्पर्धा गर्‍यो । यसपटक नेपाली टोलीको कप्तानी जमुनाले गरेकी थिइन् । यस संस्करणमा अधिकांश खेलाडी पहिलो साफकै थिए । आठ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’मा पर्‍यो । यस समूहमा नेपालले पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान नै प्रतिद्वन्द्वी पायो । जमुनाको ह्याट्रिक मद्दतमा पहिलो खेलमा नेपालले पाकिस्तानलाई ८–० ले पराजित गर्‍यो । 

जमुनाले दोस्रो खेलमा पनि ह्याट्रिक गर्दा माल्दिभ्स ५–० ले पराजित भयो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई ७–१ ले हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा पुग्यो । फाइनल प्रवेश खेलमा नेपालले श्रीलंका ३–० ले हरायो । १६ सेप्टेम्बरमा भएको फाइनलमा दीपा अधिकारीले तेस्रो मिनेटमै अग्रता गोल गरिन् । भारतले पुनरागमन गर्दै खेल ३–१ ले जित्यो । 

 सावित्राको डेब्यु
सन् २०१४ मा तेस्रो संस्करण पाकिस्तानमा भयो । कप्तान जमुना विभागीय टोली एपिएफको मिसनमा खट्नुपरेपछि टोलीको कप्तानी जिम्मेवारी चन्द्रा भण्डारीले पाइन् । प्रशिक्षकमा कुमार कटवाल रहे । यसै साफमा सावित्रा भण्डारीको डेब्यु भयो । आठ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’मा रह्यो । नेपालको समूहमा भुटान, पाकिस्तान र श्रीलंका नेपालको प्रतिद्वन्द्वी रहे । नेपालले भुटानलाई ८–० ले पराजित गर्‍यो । 

वैकल्पिक खेलाडीको रूपमा डेब्यु गरेकी सावित्रा भण्डारीले एक गोल गरेकी थिइन् । दोस्रो खेलमा नेपालले पाकिस्तानलाई २–० र तेस्रो खेलमा श्रीलंकालाई ३–० ले पराजित गर्दै समूह विजेताको रूपमा अन्तिम चारमा प्रवेश पायो । सेमिफाइनलमा सजना रानामगरको एक मात्र गोलमा नेपालले बंगलादेशलाई हरायो । फाइनलमा फेरि प्रतिद्वन्द्वी भारत नै रह्यो । दुर्भाग्य ! नेपाल ६–० ले पराजित भयो । 

 पहिलोपटक सेमिफाइनलबाट बाहिर
सन् २०१६ मा भारतमा भएको चौथो साफ नेपालका लागि सम्झनयोग्य रहेन । लगातार तीन संस्करणको फाइनल खेलेको नेपाल यसपटक सेमिफाइनलबाटै बाहिरियो । त्यसवेला नेपाली टोलीका प्रशिक्षक कुमार थापा नै थिए । कप्तानमा अनु लामा थिइन् । गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले डेब्यु गरिन् । पाकिस्तान नआएपछि सात टोलीबीच मात्र खेल भयो । नेपाल भुटान, माल्दिभ्स र श्रीलंका सम्मिलित समूह ‘ए’ मा रह्यो । पहिलो खेलमा सावित्राको ६ तथा दोस्रो खेलमा ५ गोल मद्दतमा नेपालले क्रमशः भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० ले पराजित गर्‍यो । यस्तै, अन्तिम चारमा समूह ‘बी’को उपविजेता भारतसँग खेल्ने पक्का भयो । भारत ३–१ ले विजयी भयो । नेपाल पहिलोपटक सेमिफाइनलबाट पराजित भयो । प्रतियोगितामा १२ गोल गरेकी सावित्रा सर्वाधिक गोलकर्ता चुनिइन् । 

 घरेलु मैदानमा योजना असफल 
सन् २०१९ मा पहिलोपटक साफ नेपालमा आयोजना भयो । विराटनगरमा प्रतियोगिता भएको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्का र कप्तानमा निरू थापाले जिम्मेवारी पाए । यस साफमा रेखा पौडेल, पूजा रानाले डेब्यु गरे । ६ टोली सहभागी रहेको प्रतियोगितामा पाकिस्तान सहभागी भएन । समूह ‘ए’मा नेपालसहित भुटान र बंगलादेश रहे । नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा बंगलादेशलाई समान ३–० अन्तरले पराजित गर्‍यो । सेमिफाइनलमा श्रीलंका ४–० ले पराजित भयो । नेपालले फाइनलमा भारतलाई ३–१ ले नतिजा सुम्पियो । फाइनलमा सावित्रा भण्डारीले एक गोल गरेकी थिइन् । 

कप्तानको जिम्मा एन्जिलालाई
रेणुका नगरकोटे घाइते भएसँगै छैटौँ साफका लागि गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई कप्तानी जिम्मेवारी सुम्पिएको छ । २६ वर्षीया एन्जिलाले पहिलोपटक कप्तानी जिम्मेवारी पाएकी हुन् । सन २०१९ मा हिरो गोल्डकप खेल्दा एन्जिला कार्यवाहक कप्तान थिइन् । नेपालको यू–१४ उमेर समूह खेल्दै एन्जिलाले सन् २०१६ को साफमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । ३१ क्याप जितेकी एन्जिला टोलीकी नियमित सदस्य हुन् । नयाँ पत्रिकासँग बोल्दै एन्जिलाले कप्तानी जिम्मेवारी पाएसँगै थप जिम्मेवारी बढेको र घरेलु मैदानमा उपाधि जिताउन शतप्रतिशत दिने बताइन् । सन् १९८३ पछि नेपाली महिला राष्ट्रिय टोलीको कप्तानी गर्ने एन्जिला नवौँ खेलाडी हुन् । यसअघि रमा सिंह, कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, निरू थापा र रेनुका नगरकोटेले नेपाली टोलीको कप्तानी ‘आर्म ब्यान्ड’ लगाएका थिए । 

सावित्रालाई मौका
सावित्रा भण्डारी महिला राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता हुन् । उनले ३९ खेलमा ३८ गोल गरेकी छिन् । २६ वर्षीया सावित्राले घरेलु मैदानमा नेपाललाई उपाधि जिताउन प्रयास गर्नेछिन् । पोखरामा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)पछि सावित्रा टोलीबाट बाहिर थिइन् । गत वर्षको भदौ र असोजमा नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण तथा एएफसी एसियन कप छनोट खेल्दा सावित्रा बाहिर रहिन् । ०७८ सालको घरेलु लिग खेल्ने क्रममा एसिएल चोट बोकेपछि सावित्रा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कंदै छिन् । लमजुङ जिल्लाकी सावित्राले साफमा १७ गोल गरेकी छिन् । थप पाँच गोल गरे सावित्रा पूर्वकप्तान अनु लामाको कीर्तिमान तोड्दै साफको सर्वाधिक गोलकर्ता चुनिनेछिन् । सावित्राले अनुको नाममा रहेको सबैखाले खेलको सर्वाधिक गोलकर्ताको कीर्तिमान भंग गरेकी थिइन् । 

ad
ad