मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ भदौ १९ आइतबार ०६:१०:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा मनपरी, राष्ट्रिय सुरक्षामै चुनौती

Read Time : > 5 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ भदौ १९ आइतबार ०६:१०:००

भिआइपी कक्ष को–कोले प्रयोग गर्न पाउनेबारे पर्यटन मन्त्रालयले राजपत्रमा सूचना नै निकालेको छ । तर, पहुँच र शक्तिको आडमा मापदण्डमा नपर्नेले समेत भिआइपी कक्ष प्रयोग गरिरहेका छन् । 

 

भिआइपी कक्षबाट भागेका रिजवान आलमलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मेरियट होटेल पुर्‍याएका थिए । आफ्नै गाडीमा राखेर उनले होटेल पुर्‍याएको प्रहरीको सिसिटिभी फुटेजमा देखिन्छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति मेरियट होटेलको लबीबाट रिजवानलाई पक्राउ गरेको छ । पक्राउ पर्दा उनी अन्सारीसँगै थिए । गौशालास्थित प्रहरी वृत्तको हिरासतमा राखिएका रिजवानलाई आइतबार अध्यागमन कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । 

छानबिन समिति गठन 
अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले भिआइपी कक्ष दुरुपयोग गरी फरार अभियुक्त भगाइएको घटनाबारे छानबिन गर्न टोली गठन गरेको छ । निर्देशक टेकनाथ सिटौलाको नेतृत्वमा शनिबार पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा नागरिक उड्डयनबाट बच्चुराम श्रेष्ठ र विद्या ढुंगाना, नेपाल प्रहरीका डिएसपी सूर्य सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृत छन् । आगामी दिनमा भिआइपी कक्षको दुरुपयोग हुन नदिन सुधारका सुझाव पेस गर्ने गरी समिति गठन भएको निर्देशक सिटौलाले बताए ।

...                                      ...

विदेशबाट आउँदा भिआइपी कक्ष नै प्रयोग गरेर ठगी मुद्दाका फरार अभियुक्त भागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीमा गम्भीर प्रश्न उठेको छ । ‘उनको ठाउँमा कोही आतंकवादमा संलग्न व्यक्तिले त्यसरी भिआइपी कक्ष दुरुपयोग गरेको भए कस्तो जोखिम हुन्थ्यो ?’ सुरक्षा अधिकारीहरूकै प्रश्न छ ।

दुबईबाट शुक्रबार आएका फरार अभियुक्त सुनसरीका रिजवान आलमलाई नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भिआइपी कक्षमा लगेका थिए । रिजवानलाई भिआइपी कक्ष प्रयोग गर्न दिने भनेर कतै निर्णय भएको थिएन । अन्सारीकै योजनाअनुसार मुस्लिम आयोगको निम्तोमा युनाइटेड अरब इमिरेट्सबाट आएका अरब संसद्का उपाध्यक्षलगायतको टोलीसँगै उनलाई मिसाएर भिआइपी कक्षमा लगिएको थियो । 

अध्यागमनले रिजवानको पासपोर्ट जाँच गर्दा कालोसूचीमा रहेको पत्ता लगाएपछि अध्यक्ष अन्सारीले भिआइपी कक्षअगाडिबाट उनलाई गाडीमा राखी मेरियट होटेल पुर्‍याएका थिए । जब कि अराइभलका लागि अध्यागमनले उनलाई अनुमति नै दिएको थिएन । पासपोर्ट अध्यागमनमै छाडेर रिजवानलाई भगाइएको थियो । विमानस्थलबाट भागेको करिब १२ घन्टापछि शुक्रबार राति नै प्रहरीले उनलाई मेरियट होटेलबाट पक्राउ गरेको थियो । 

यो घटनाले अन्तर्राष्ट्रिय विमानस्थलभित्रका दुईवटा गम्भीर त्रुटि औँल्याएको छ । एकातर्फ कुनै निकायको निर्णयविना नै भिआइपी कक्ष प्रयोग गरे, त्यो पनि फरार अभियुक्तले । विमानस्थलको एप्रोन क्षेत्रबाट रिजवान सीधै भिआइपी कक्षमा पुग्दासम्म कुनै जाँच भएन । अर्काे, विनापासपोर्ट उनी भिआइपी कक्षबाट भागे । कालोसूचीमा रहेको खुलेपछि अध्यागमनले उनको पासपोर्ट राखेको थियो । पासपोर्टमा अराइभलको छाप नलगाई रिजवान विमानस्थलबाट सहजै भाग्न सफल भए, त्यो पनि भिआइपीको संरक्षणमा । 

भिआइपी कक्षमा अराभइल छापको जाँच गर्ने सिस्टम नै विमानस्थलमा बन्न सकेको छैन । विमानस्थलका प्रहरी प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले भिआइपी कक्षमा पासपोर्ट जाँच गर्ने अधिकार प्रहरीलाई नभएको बताए । भिआइपी कक्षको सुरक्षाको जिम्मेवारी मात्र आफूहरूको भएको उनको भनाइ छ ।

विमानस्थलमा भिआइपीको हुल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष क–कसले प्रयोग गर्न पाउने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजपत्रमा सूचना नै निकालेर प्रस्ट पारेको छ । तर, भिआइपीको मापदण्डमा नपर्ने धेरैले पहुँच र शक्तिका आडमा भिआइपी कक्ष प्रयोग गर्दै आएका छन् । 

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले शक्तिको आडमा दबाब दिएर कतिपयले भिआइपी कक्ष प्रयोग गर्दै आएको स्वीकार गरे । खासगरी विभिन्न दलका नेताहरूले भिआइपी कक्ष प्रयोग गर्न दबाब दिने गरेको उनको भनाइ छ । भिआइपीमा आफन्त तथा परिवारले पनि भिआइपी कक्षको दुरुपयोग गर्ने क्रम बढ्दा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा चुनौती बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न नसके कुनै दिन पेसेवर अपराधीले यसको दुरुपयोग गर्ने जोखिम रहेको विमानस्थलस्थित एक प्रहरी अधिकारीले बताए । 

५ साउन ०७१ मा पर्यटन मन्त्रालयले विमानस्थलको भिआइपी कक्ष क–कसले प्रयोग गर्न पाउने भन्ने प्रस्ट पारेको थियो । तर, विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्नेमध्ये आधा मापदण्डबाहिरका व्यक्ति हुने गरेको एक अधिकारीले बताए । 

हवाई सुरक्षाविज्ञ भरत ढकालले अनधिकृत व्यक्ति भिआइपी कक्ष हुँदै भाग्नुमा विमानस्थल कार्यालय र उनलाई रिसिभ गर्ने व्यक्ति प्रमुख जिम्मेवार रहेको बताए । ‘अनधिकृत व्यक्तिले भिआइपी कक्ष प्रयोग गर्नु त गलत भई नै हाल्यो,’ उनले भने, ‘विमानस्थलबाट कोही व्यक्ति अध्यागमन क्लियर नभई बाहिरिनु भनेको झन् गम्भीर विषय हो ।’ सुरक्षा प्रणाली बलियो बनाउन विमानस्थलमा सबै पक्षबीच समन्वय आवश्यक भएको ढकालको भनाइ छ । ‘विमानस्थलको सुरक्षा बलियो हुन एउटा पक्षले मात्र काम गरेर हुँदैन, सबै पक्षबीच राम्रो समन्वय भएन भने समस्या आउन सक्छ,’ उनले भने । 

नेपाल प्रहरीका पूर्वएआइजी बमबहादुर भण्डारीले भिआइपी कक्षबाट फरार व्यक्ति सजिलै उम्किनुले विमानस्थलको सुरक्षा व्यवस्थाको कमजोरी बाहिर ल्याएको र त्यसलाई तत्काल सुधार गर्नुपर्ने बताए । ‘सुरक्षाको दृष्टिकोणले यो ठूलो लापरबाही हो,’ उनले भने, ‘विमानस्थल सुरक्षाको प्रमुख जिम्मेवारी टिआइएको हो, टिआइएको नेतृत्वमा सबै निकाय मिलेर सुरक्षा व्यवस्थामा सुधार गरिएन भने भोलिका दिनमा आपराधिक समूहले दुरुपयोग गर्न सक्छन् ।’ 

तीन वर्षअघि तत्कालीन एसएसपी सन्दीप भण्डारी नेतृत्वको टोलीले गरेको एक अध्ययनमा पनि विमानस्थलको भिआइपी कक्षको जथाभावी प्रयोग भइरहेको भन्दै त्यसलाई सुधार गर्न सुझाव दिइएको थियो । अहिले विदेशबाट आएका फरार व्यक्ति नै भिआइपी कक्षबाटै भागेपछि सुधारको प्रयास थालिएको छ । 

पछिल्लो एक वर्षमा विमानस्थलमा पटक–पटक सुरक्षा लापरबाहीका घटना भएका छन् । अनधिकृत व्यक्ति तारबारबाट छिरेर विमानभित्र पुगेकोदेखि विमानस्थलभित्रकै कर्मचारी सुन तस्करीमा संलग्न भएका घटनासम्म सार्वजनिक भएका थिए । तैपनि सुरक्षा व्यवस्था चुस्त हुन नसक्दा कुनै दिन ठूलो जोखिम निम्तन सक्ने सुरक्षा अधिकारीको चिन्ता छ । 

अन्सारीसँगै भेटिए आलम 
पासपोर्ट विमानस्थलमै छाडेर भिआइपी कक्षबाट भागेका रिजवान आलमलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नै गाडीमा राखेर नक्सालस्थित मेरियट होटेल पुर्‍याएका थिए । प्रहरीको सिसिटिभी फुटेजमा पनि त्यो देखिन्छ । 

अध्यागमनले कालोसूचीमा रहेका व्यक्ति उपस्थित गराइदिन भन्दाभन्दै भगाइएपछि प्रहरीले रिजवानको खोजी गर्‍यो । त्यस क्रममा प्रहरीले अध्यक्ष अन्सारीलाई फोन नै गरेर रिजवानलाई बुझाइदिन आग्रह गरेको थियो, तर अन्सारीले प्रहरीलाई सहयोग गरेनन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार बेलुका मेरियट होटेलको लबीबाट रिजवानलाई पक्राउ गर्‍यो । पक्राउ पर्दा उनी अध्यक्ष अन्सारीसँगै थिए । अहिले गौशालास्थित प्रहरी वृत्तको हिरासतमा राखिएका उनलाई आइतबार अध्यागमन कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।

अनधिकृत रूपमा प्रवेश गरेकोमा रिजवानलाई कारबाही गरी अदालतमा बुझाउने प्रहरीको तयारी छ । उनीविरुद्धको एक करोड ६८ लाख ठगीको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । दाउन हुसेनका छोरालाई दुबईमा पाइलट पढाइदिने भन्दै उनले पैसा लिएर ठगी गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध मुद्दा दायर गरेको हो । 

भिआइपी कक्ष दुरुपयोग गरेको र अभियुक्तलाई भगाउन प्रयास गरेकाले मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि समेत मुद्दा चल्न सक्ने एक प्रहरी अधिकारीले बताए । अन्सारीले भने अध्यागमनमा ढिलाइ भएपछि होटेलमा गएर आराम गर्ने गरी रिजवानलाई लिएर गएको बताएका छन् । 

क–कसले प्रयोग गर्न पाउँछन् भिआइपी कक्ष ? 
गैरसैनिक हवाई उड्डयन ऐन, २०१५ अनुसार ५ साउन ०७१ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्ने व्यक्तिको सूची राजपत्रमा प्रकाशन गरेको थियो । तर, त्यो नियम देशभरकै विमानस्थलमा लागू हुने गरेको छैन । नेताहरूले विमानस्थलका कर्मचारीलाई दबाब दिएर भिआइपी कक्ष प्रयोग गर्दै आएका छन् । संघीयता कार्यान्वयनपछि भिआइपीहरू थपिएको तथा मापदण्ड संशोधन नहँुदा पनि विमानस्थलमा अन्योल छ । प्रदेश सरकारका पदाधिकारीबारे मापदण्डमा उल्लेख छैन । 

मापदण्डअनुसार भिआइपीको सूचीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री/सरकार प्रमुख, प्रधानन्यायाधीश, सभामुख, पूर्वराष्ट्रप्रमुख, उपप्रधानमन्त्री, मन्त्री, संसद्का विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख/उपसभामुख, राज्यमन्त्री छन् । त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञा प्रतिष्ठानका कुलपति/उपकुलपति, सर्वाेच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, सहायक मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख तथा सदस्य, महान्यायाधिवक्ता, मुख्यसचिव, प्रधानसेनापति, संसद्का महासचिव, उच्च अदालतका मुख्य न्यायाधीश, योजना आयोगका सदस्य, गभर्नर, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीले पनि भिआइपी कक्ष प्रयोग गर्न पाउँछन् ।

यसबाहेक नेपालस्थित विदेशी राजदूत, नेपाली राजदूत, सार्कका महासचिव, सर्वाेच्च अदालतका रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, पुनरावेदन अदालतका न्यायाधीश, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक, सुरक्षा निकायका विशिष्ट श्रेणीका कर्मचारी र राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिका सदस्यसचिवले भिआइपी कक्ष प्रयोग गर्न पाउने उल्लेख छ । निर्णयमा नभए पनि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुखलाई पनि भिआइपी कक्ष प्रयोग गर्न दिने गरिएको छ । 

यसबाहेक नेपालीको हकमा पर्यटन मन्त्रालय र विदेशीको हकमा परराष्ट्र मन्त्रालयको पत्रका आधारमा भिआइपी कक्ष प्रयोग गर्न दिने नियम छ । तर, पर्यटन मन्त्रालयले कतिपय अवस्थामा सामान्य व्यक्तिलाई पनि भिआइपी कक्ष प्रयोग गर्न दिने भनेर पत्राचार गर्ने गरेको विमानस्थल कार्यालयका एक अधिकारी बताउँछन् । भिआइपी कक्ष प्रयोग गर्नेले सुरक्षा जाँच, बोर्डिङ पास तथा अध्यागमनमा लाइन बस्नुपर्दैन । अझ उनीहरूको लगेजसमेत सर्वसाधारणको जसरी चेकजाँच नहुने भएकाले कतिपयले भिआइपी कक्ष प्रयोग गरी अवैध सामान ओसारपसारसमेत गरेको हुन सक्ने सुरक्षा अधिकारीको भनाइ छ । 

जसलाई विमानस्थलमा खानतलासी हुँदैन 
विमानस्थलमा धेरैले भिआइपी कक्ष प्रयोग गर्न पाउने भए पनि पाँच उच्च पदका व्यक्तिको हकमा भने खानतलासीसमेत नहुने व्यवस्था कानुनले गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र संसद्का सभामुखको हकमा विमानस्थलमा सुरक्षा जाँचको क्रममा खानतलासी हुँदैन । विदेशीको हकमा पनि यिनै उच्च पाँच पदका व्यक्ति नेपाल भ्रमणमा आउँदा खानतलासीबाट उन्मुक्ति दिइने कानुनी व्यवस्था छ ।