मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १८ शनिबार १०:००:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

टिआरसी विधेयक संसदीय समितिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १८ शनिबार १०:००:००

प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले दफावार छलफलका लागि प्रतिनिधिसभा नियमावली दफा १०९ बमोजिम कानुन, न्याय तथा मानव अधिकार समितिमा पठाएको हो । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दीले विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकोमा सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रतिपक्षीलगायत सांसदले विधेयकको सैद्धान्तिक छलफलका क्रममा अति महत्वपूर्ण विधेयक रहेकाले, १० वर्षको सशस्त्र द्वन्द्वको प्रभावलाई सम्बोधन गर्नुपर्ने भएको र यसमा तमाम सरोकारवालाहरूको चासो रहेको सन्दर्भलाई हेरेर समितिमा लगेर छलफल गराई सबैले स्वीकार्य हुने र त्यो विषयवस्तुलाई प्रभावकारी ढंगबाट सम्बोधन गर्ने किसिमबाट लैजानुपर्छ भनेर माग गरेकाले विधेयक समितिमा पठाएको मन्त्री बन्दीले बताए । 

कानुन समितिका सभापति कृष्णभक्त पोखरेलले विधेयकमा उल्लेखित मानव अधिकार उल्लंघन, गम्भीर अपराध र विशेष अदालतले गरेका मुद्दामा फैसला नलाग्ने विषयमा केन्द्रित हुने बताए । उनले विधेयकलाई धेरै नअल्झाई संशोधनहरू समेटेर चाँडोभन्दा चाँडो प्रतिनिधिसभामा पठाइने बताए ।

सरकारले ३१ असारमा दर्ता गरेको विधेयकलाई कानुनमन्त्री बन्दीले ७ भदौमा प्रतिनिधिसभामा पेस गरेका थिए । विधेयकमाथि मानव अधिकारको उल्लंघनको परिभाषा, गम्भीर अपराधमा मेलमिलापबाट उन्मुक्ति, विशेषको फैसलामा पुनरावेदन नलाग्ने विषयमा मुख्यगरी १६ वटा संशोधन परेका छन् ।