१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १५ बुधबार ०८:५१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसामा मानव तस्करी : एक सातामा दुई सय ६८ जना विमानस्थलबाट फर्काइए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १५ बुधबार ०८:५१:००

मानव तस्करको समूहले भिजिट भिसामा विदेश लैजान लागेको आशंकामा दुई सय ६८ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । प्रहरीले कडाइ गरेसँगै भिजिट भिसाका नाममा खाडी मुलुकमा काम खोज्न जाने क्रम रोकिएको छ । 

भिजिट भिसामा मानव तस्करी बढेको गुनासोपछि प्रहरीले गत ७ भदौदेखि कडाइ थालेको थियो । शंकास्पद कागजपत्र भएकालाई दैनिकजसो प्रहरीले विमानस्थलबाट फर्काउँदै आएको थियो । छानबिनका क्रममा ती कागजपत्र नक्कली भएकोसमेत पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानमा कतिपय महिलालाई दुबई हुँदै सिरिया र इरानमा बिक्रीका लागि लैजान लागिएकोसमेत पुष्टि भएको छ । 

एसपी दानबहादुर मल्ल, प्रवक्ता, मानव बेचबिखन अनुसन्धान ब्युरो

विमानस्थलबाट फर्काएका महिलाहरूले उजुरी दिइरहनुभएको छ । उहाँहरूलाई सिरिया, यमनजस्ता देशमा लगेर बिक्री गर्न लागेको खुलेको छ । हामीले मानव तस्करी गर्ने गिरोहमाथि अनुसन्धान थालेका छौँ ।

एक सातामा फर्काइएकामध्ये एक सय २० जना महिला छन् । उनीहरूलाई हाउसमेडको काम लगाइदिने भन्दै दलाल समूहले कुवेत र दुबई हुँदै अन्य देशमा लगेर बिक्री गर्न लागिएको अनुसन्धानमा खुलेको छ । यसरी फर्काइएकामध्ये चारजनाले मानव तस्करीका नाइकेविरुद्ध उजुरी दिएका छन् । ‘विमानस्थलबाट फर्काएका महिलाहरूले उजुरी दिइरहनुभएको छ,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी दानबहादुर मल्लले भने, ‘उहाँहरूलाई सिरिया, यमनजस्ता देशमा लगेर बिक्री गर्न लागेको खुलेको छ । हामीले मानव तस्करी गर्ने गिरोहमाथि अनुसन्धान थालेका छौँ ।’ विदेशमा रहेका गिरोहमाथि समेत प्रहरीको सिआइबी र मानव बेचबिखन ब्युरोले छानबिन थालेको छ । 

ब्युरोले अन्य पीडितहरूलाई पनि परामर्श दिइरहेको छ । कमजोर आर्थिक अवस्था भएका ग्रामीण क्षेत्रका महिलाहरूलाई दलाल समूहले त्यसरी रोजगारीको प्रलोभनमा खाडी देश लैजान लागेको थियो । त्यसरी गएकामध्ये धेरै समस्यामा परेको र आफूहरूले उद्धारसमेत गर्दै आएको एसपी मल्ल बताउँछन् । 

विमानस्थलस्थित अध्यागमन र एयरलाइन्सको समेत मिलेमतोको आशंकामा भिजिट भिसामा जाने क्रम बढेपछि प्रहरीले यस्तो धन्दा रोक्न अग्रसरता लिएको हो । प्रहरीको कडाइसँगै पछिल्लो दिनमा भिजिट भिसामा जाने क्रम रोकिएको छ । केही दिनयता भिजिट भिसामा खाडी जाने एकदमै कम केस आइरहेको विमानस्थल प्रहरी प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले बताए । ‘भिजिट भिसामा जानेहरू समस्यामा नपरून् भन्ने उद्देश्यले हामीले कडाइ थालेका हौँ,’ उनले भने, ‘काम विशेषले नै जान लागेकालाई दुःख दिएका छैनौँ ।’ 

नौ महिनामा ५१ हजारभन्दा धेरै युएई पुगे, आधा फर्किएनन्
भिजिट भिसामा सबैभन्दा धेरै युएई जाने गरेका छन् । पछिल्लो नौ महिनामा ५१ हजारभन्दा धेरै युएई गएको र त्यसमध्ये आधा नफर्किएकाले उनीहरू त्यहाँबाट जागिर खोज्न विभिन्न देश पुगेको आशंका गरिएको छ । वैदेशिक रोजगारदेखि सुन तस्करीमा जाने व्यक्तिहरूको अध्यागमनमा सेटिङ रहेको विगतमा खुल्दै आएको छ । तर, गृह मन्त्रालयले अध्यागमनका आफ्ना कर्मचारीमाथि भने छानबिन गरेको छैन । 

लिबिया लैजाने अधिकारी तीन वर्षपछि मकाउबाट पक्राउ 
नेपाली युवालाई युरोप लैजाने आश्वासनमा लिबिया लगेर अलपत्र बनाउने घटनाका मुख्य आरोपी तीन वर्षपछि पक्राउ परेका छन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका– १ भर्ते ठेगाना भएका ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई मंगलबार प्रहरीले मकाउबाट पक्राउ गरी नेपाल ल्याएको हो । 

उनले तीन वर्षअघि नेपाली युवालाई लिबिया हुँदै टर्की पठाउन खोजेका थिए । जसक्रममा नेपालीहरू लिबियास्थित विद्रोहीको कब्जामा परेका थिए । जहाँ एक नेपालीले ज्यान गुमाए भने अरू बल्लतल्ल नेपाल फर्किएका थिए ।

सो घटनाको अनुसन्धानको क्रममा योजनाकार अधिकारी मकाउ रहेको खुलेपछि प्रहरीले पक्राउ गर्न इन्टरपोलको सहयोग मागेको थियो । तीन वर्षपछि उनलाई नेपाल ल्याउन प्रहरी सफल भएको छ । सो घटनाका उनका परिवारका अन्य सदस्य पहिले नै पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान गरिएको मानव बेचबिखन ब्युरोका एसपी मल्लले बताए ।  

मासिक एक लाख ५० हजार रुपैयाँ तलब हुने गरी क्यानेडियन कम्पनीमा रोजगारी मिलाइदिने भनी पीडितहरू करिब तीन लाखका दरले पैसा लिएका थिए । सुरुमा भिजिट भिसामा दुबई पुर्‍याई लिबिया हुँदै इटाली लाने भनी थप तीन लाख मागिएको थियो । उनको श्रीमतीको खातामा पैसा हाल्न लगाइएको थियो । तर, उनीहरू इटाली छिर्न सकेनन् ।

लिबियाको शरणार्थी क्याम्पमा राखिएको अवस्थामा लिबियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्टस्थित नेपाली दूतावास र आइओएमको समन्वयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो ।