१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रेखा थापा मोरङ ३ बाट उम्मेदवार सिफारिस, माधव नेपालको क्षेत्रमा पनि नजर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

अभिनेत्री रेखा थापा आउँदो प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य रहेकी उनी गृहजिल्ला मोरङ या काठमाडौंमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने योजनामा छिन्।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ थापाको नाम सिफारिस भइसकेको छ। उनको घर पनि यही क्षेत्रभित्र पर्ने सुन्दरहरैँचामा छ। यहाँबाट थापासँगै अम्बिकाप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ। तर, पहिलो नम्बरमा सिफारिस भएकी रेखा नै उम्मेदवार हुने सम्भावना बलियो रहेको मोरङका केन्द्रीय कमिटी नेता विवेक क्षेत्रीले बताए। ‘रेखाको नाम त्यताबाट सिफारिस भएर केन्द्रीय कमिटीमा आइसकेको छ। उनले चुनाव लड्ने सम्भावना बलियो छ,’ उनले भने।

०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा मोरङ ३ बाट एमाले नेता भानुभक्त ढकालले जितेका थिए। त्यतिवेला ढकालसँग कांग्रेस उम्मेदवार सुनील शर्मा थोरै मतान्तरले पराजित भएका थिए। यसपटक पनि यो क्षेत्रबाट उनीहरू नै चुनाव लड्ने चर्चा छ।

काठमाडौं २ मा पनि नजर
राप्रपा स्रोतका अनुसार मोरङबाट सिफारिस भएकी रेखाको नजर काठमाडौंमा पनि छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निर्वाचन क्षेत्र मानिएको काठमाडौं २ मा पनि उनको खास नजर छ। स्थानीय निर्वाचनमा बालेन साहले जितेपछि यहाँका मतदाताको परिवर्तित मनोविज्ञानका कारण आफूलाई चुनाव जित्न सहज हुने उनको बुझाइ छ। त्यसमाथि स्थानीय निर्वाचनमा काठमाडौं २ भित्रै पर्ने शंकरापुर नगरपालिकाबाट राप्रपाकै उम्मेदवारले मेयर जितेका छन्। एकीकृत समाजवादीका नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने चर्चा चलिरहेका कारण पनि यो क्षेत्र अरूभन्दा सहज रहेको रेखाको विश्लेषण रहेको बुझिएको छ।
 
तर, यहाँ उम्मेदवारका आकांक्षी धेरै भएकाले रेखाले सहजै टिकट पाउने सम्भावना भने छैन। त्यही कारण विकल्पका रुपमा मोरङ ३ बाट उनको नाम सिफारिस भएको हो। यस विषयमा थापासँग सम्पर्क गर्दा उनले आफू चुनाव उठ्ने मनसायमा रहेको मात्रै खुलाइन्। ‘मेरै गृहजिल्लाबाट नाम सिफारिस भएको थाहा पाएकी छु। पार्टीको निर्णयअनुसार अघि बढ्न तयार छु,’ उनले भनिन्।