
प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अनिश्चित बनेको अवस्थामा बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश सभा सञ्चालनका लागि राजनीतिक कसरत थालेका छन्। असार १८ गतेसम्ममा सत्तासाझेदार दलहरूसँगको लगातार छलफलपछि बुधबार साँझ कार्यव्यवस्था परामर्श समितिले संसद् सञ्चालनको तालिका तय गरेको छ।
मुख्यमन्त्री लामाले सोमबारदेखि नै सत्तागठबन्धनमा रहेका दल र विभागीय मन्त्रीहरूसँग छलफल थालेका थिए। मंगलबार र बुधबार दिनभर सत्तासाझेदार एमाले र आफ्नै पार्टी कांग्रेसका मन्त्रीहरू तथा शीर्ष सांसदहरूसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार एमालेले बजेटमा छुटेका योजनाहरू समेट्न आग्रह गरेको छ। ‘बजेटको सीमा नाघ्ने गरी परिवर्तन नगरी, दोहोरिएका वा असान्दर्भिक योजना हटाएर आवश्यक मागहरू समेट्ने प्रयास भइरहेको छ,’ सचिवालय स्रोतले भन्यो।
मुख्यमन्त्री लामाले बुधबार सभामुख भुवनकुमार पाठकसँग पनि परामर्श गरेका छन्। आजै साँझ बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले असार २४ गतेसम्म प्रदेश सभा सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ। समितिमा राप्रपा र माओवादी केन्द्रका एक–एकजना सांसद सहभागी थिए।
सभामुख पाठकका अनुसार असार १९ गतेबाट निरन्तर संसद् बैठक सञ्चालन गर्दै २४ गतेभित्र बजेटमाथिको छलफल टुंग्याएर पारित गर्ने र संसदमा दर्ता भएको संकल्प प्रस्तावहरूसमेत अघि बढाउने सहमति भएको छ।
बिहीबार १० बजे सर्वदलीय बैठक आह्वान
यसैबिच बजेटमा देखिएको असहमतीलाई टुंग्याउँदै प्रदेश सभा बैठक सञ्चालनका लागि बिहीबार सर्वदलीय बैठक बस्ने भएको छ। सहमतिका लागि पहलस्वरूप बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए। प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथिको छलफल असार १२ गतेदेखि रोकिएको छ।
सत्ता साझेदार दलहरूबीच सहमति नजुट्दा संसद बैठक स्थगित हुँदै आएको हो। उक्त जटिलता हल गर्न मुख्यमन्त्री लामाले मंगलबार र बुधबार एमाले संसदीय दलका नेतासँग छलफल गरेका थिए। बिहीबार बस्ने सर्वदलीय बैठकमा बजेटमाथि उठेका विवाद समाधान गरी संसद सञ्चालनको मार्ग पहिल्याउने तयारी हुने सभामुख पाठकले बताए।
सर्वदलीय बैठकबाट प्राप्त निष्कर्षका आधारमा संसद् पुनः सञ्चालन गर्दै बजेट पारित गर्ने सरकारको तयारी छ। मुख्यमन्त्री लामाको सक्रियताले संसद् सञ्चालन र बजेट पारिततर्फ सकारात्मक संकेत देखिएको छ।