१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मुना कुँवर बैंकक (थाइल्याण्ड)
२०७९ भदौ १२ आइतबार १२:२५:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालको समृद्धिका लागि एनआरएनएको सहयोग प्रशंसनीय

Read Time : > 2 मिनेट
मुना कुँवर, बैंकक (थाइल्याण्ड)
२०७९ भदौ १२ आइतबार १२:२५:००

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) को महत्वपूर्ण रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनमा बोल्दै श्रममन्त्री कुँवरले सबै एनआरएनए एकजुट भएमा समृद्ध नेपाल बनाउन सकिने बताए।

संघले भूकम्पकाे समयदेखि लिएर कोभिडको समयमा पनि नेपाललाई धेरै सहयोग गरेको स्मरण गर्दै मन्त्री कुँवरले विदेशमा रहेका नेपाली  एकताबद्ध हुनुपर्नेमा जाेड दिए । वैदेशिक रोजगारीका लागि नेपालबाट ५० लाखभन्दा बढी नेपाली कामदार मुलुकबाहिर छन् । उनीहरूले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुगेको उनले बताए ।

गैरआवासीय नेपालीको संविधानमा उल्लेख गरेको आर्थिक, सांस्कृतिक अधिकार कार्यान्वयन गर्न नागरिकता ऐन ल्याइएको बताउँदै उनले भने, ‘नेपाल चिनाउने पुर्खालाई पहिचान दिलाउनुपर्छ, गैरआवासीय नेपालीले उठाएका माग छलफल गरी टुंगोमा पुग्न सकिन्छ ।’

मन्त्री कुँवरले नेपालमा पनि धेरै विदेशी नागरिकले काम गर्दैआएको बताए । इँट्टाभट्टादेखि लिएर गलैँचा र सुनचाँदीका सामग्री निर्माणमा विदेशी नागरिकको प्रयोग भएको उनले बताए । जहाँ भारतीय, पाकिस्तानी, बंगलादेशीलगायतका कामदार भित्रिएका छन् । तर, अब नेपालल शैक्षिक भिसा प्रदान गरी विदेशी विद्यार्थी नेपाल भित्र्याउने उनले जानकारी दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद डा. सूर्य पाठकले गैरआवासीय नेपालीलाई नागरिकताको अधिकार दिनुपर्नेमा जाेड दिए । नेपालको संविधानमा नै गैरआवासीय नेपालीलाई नागरिकताको अधिकार दिने विषयमा व्यवस्थित गरिएको छ । यस विषयमा सबै राजनीतिक दलको समर्थन भए पनि कुन अवस्थामा कतिसम्मको अधिकार दिने भन्ने विषयमा छलफल भएको उनले बताए । 

नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख ओम शर्माले नेपाल श्रीलंका नबन्ने बताएका छन् । समृद्धि गफबाट मात्रै नआउने भन्दै लगानी गर्न जोड दिए । नेपालमा लगानीको प्रचुर सम्भावना रहेको भन्दै शर्माले नेपालको कुनाकाप्चामा बस्ने नेपालीको जीवन परिवर्तन गर्ने गरी लगानीमा विविधिकरण गर्नुपर्ने बताए । 

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र कँडेल शर्माले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरे । नेपालमा उद्योगीहरू व्यापारतर्फ आकर्षित भएकाले आयातको ग्राफ बढ्दै गएको उनको भनाइ छ । उनले भने ‘उद्योगीहरू उत्पादनतर्फ किन आकर्षित छैनन्, त्यसकाे खोजी हुन जरुरी छ ।’ 

वैदेशिक रोजगारीमा रहेको कामदार सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्ने
वैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकलाई नेपाल सरकारले सञ्चालन गरेको साामजिक सुरक्षामा आबद्ध गरिनुपर्ने गैरआवासीय नेपालीहरूले आग्रह गरेका छन् । नेपाली कामदारले आफनो जवानी विदेशमा गुमाउँछन् । तर, बुढेसकालमा भने आर्थिक संकटमा पर्ने भएकाले उनीहरूको वृद्ध अवस्थालाई सुनिश्चित गर्न कोषमा आबद्ध गर्न आग्रह गरेका छन् ।

संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले नेपालमा लगानी भित्र्याउन गैरआवासीय नेपालीलाई नेपाली नागरिकसरह अधिकार दिनुपर्ने बताए । संंघको एसिया प्यासिफिक नवौँ क्षेत्रीय सम्मेलनका क्रममा बोल्दै आचार्यले लगानीको सीमा गैरआवासीयलाई हटाउनुपर्ने बताए । सरकारले पछिल्लो समयमा पाँच करोडबाट दुई करोडमा सीमा झारेको छ । तर, गैरआवासीयलाई जति लगानी गर्न पनि पाइने व्यवस्था गर्नुपर्ने गैरआवासीयहरूले माग गर्दै आएका छन् । 

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्न ढिलाइ गर्न नहुने आचार्यको सुझाव दिए । दुई खर्बभन्दा बढी पैसा बाहिर रहेकाले तत्काल श्रमिकलाई कोषमा आबद्ध रकम भित्र्याउनुपर्ने उनले बताए । 

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले विदेशी भूमिमा बसेर नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । दुई दशकअघि नेपालभन्दा थाइल्यान्ड कमजोर देश रहे पनि अहिले तीव्र गतिमा विकास गरिसकेको भन्दै केसीले नेपालको समृद्धिका लागि सबै एकुजुट हुनुपर्ने बताए । एसियाका आकर्षक गन्तव्य मुलुक खोजेर श्रमिकलाई रोजगारी दिन सकिने उनले बताए । थाइल्यान्ड, म्यानपावर र मलेसियामा नेपाली मूलका पाँच लाखभन्दा बढी नेपाली रहेको भन्दै केसीले उनीहरूको पहिचानका लागि पहल गर्नुपर्ने बताए ।  

संघका पूर्वअध्यक्ष भवन भट्टले नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीको लगानीले मात्र नपुग्ने भन्दै वैदेशिक लगानी ल्याउन सहजीकरण गर्नुपर्ने बताए । नेपालको विकासका लागि नेपाल पोलिसी इन्स्टिच्युटजस्ता अनुसन्धानमूलक संस्थाको काम प्रभावकारी बनाउनुपर्ने उनले जोड दिए । नेपालको समृद्धिमा गैरआवासीय जोडिनुपर्ने र नेपालमा उत्पादित सामानको प्रवर्द्धन गर्न जोड दिनुपर्ने बताए ।